मलमा सहकारीको लापरबाही : ७१ मेट्रिक टन गोदाममै थन्कियो
शिक्षाखबर डेस्क
२४ पुष २०८०, मंगलवार
no immg

परासी / नवलपरासीको कृषि सामग्री कम्पनी लिमिटेडमा कोटामा आएको रासायनिक मल केही सहकारीहरूले नलगेपछि गोदाममै थन्किएको छ । किसानले मल नपाएर समस्या भएको बताइरहेका बेला जिल्लामा आएको मल सहकारीहरुले खरिद गरेर नलैजादा कृषि सामग्रीको गोदाममा ७१ मेट्रिक टन मल गोदाममा थन्किएको हो । हिउँदेबाली गहुँ,तोरी,मसुरो तथा उखुका लागि लक्षित गरेर युरीया र डिएपी मल जिल्लामा पठाइएको हो ।

जिल्लाका ९ वटा सहकारीले मल नलगेको कृषि सामग्री कम्पनीका प्रमुख नरहरी पोखरेलले बताए । पटकपटक पत्रचार गर्दा पनि लैजान नमानेकाले सहकारीको कोटामा परेको मल गोदाममा थन्किएको उनले बताए । जिल्लामा रहेका ७ वटै पालिकाहरुले आ–आफ्नो पालिकाभित्र रहेका सहकारीको नाम र परिमाणसहित मल उपलब्ध गराउन पत्रचार गरेका थिए ।

उक्तपत्रानुसार कम्पनीले सहकारीलाई मल वितरण सुरु गरेको थियो । नामावलीअनुसार मध्येका ९ वटा सहकारीले मल नलगेपछि उनीहरुको नाममा रहेको ७१.३ मेट्रिक टन मल गोदाममा थन्किएको पोखरेलले जानकारी दिए । जसमा २३.७५० मेट्रिक टन युरिया र ४७.५५० डिएपी रहेको छ ।

जिल्लामा ७४ वटा सहकारी मार्फत मल वितरण हुँदै आएको छ । मल नलैजाने सहकारीमा रामग्राम नगरपालिकाभित्र रहेको परासी आदर्श बहुउद्देश्यी सहकारी संस्था,त्रिदेव बचत क्रण सहकारी संस्था रहेका छन् । त्यस्तै पाल्हीनन्दन गाउँपालिकाको बचत क्रण सहकारी संस्था र साना किसान कृषि सहकारी संस्था रहेका छन् । त्यस्तै सुनवल नगरपालिकाको स्वाठी कृषि सहकारी सस्था,प्रतापपुरको रामजानकी कृषि सहकारी संस्था,पाल्हीनन्दन गाउँपालिकाको कुश्मा बचत सहकारी संस्था परसिया र सनही कृषि सहकारी संस्थाले मल नलगेको कम्पनीले जनाएको छ ।

कम्पनीले अहिलेसम्म वितरण गरेको मल ४ चरणको हो । जसअनुसार कम्पनीले साउनदेखि हालसम्म १ हजार ६ सय मेट्रिक टन मल वितरण गरेको जनाएको छ । मल नलगेको त्रिदेव बचत क्रण सहकारी संस्थाका व्यवस्थापक पुरुषोत्त तिवारीले संस्थाले साल्ट ट्रेडिङ्ग कम्पनीको पनि मल वितरण गर्ने भएकोले कम्पनीको मल ल्याउन ढिलाइ भएको बताए ।

केही दिनमा मल ल्याएर वितरण गर्ने उनको भनाई छ । त्यस्तै परासी आदर्श बहुउद्देश्यी सहकारी संस्थाका व्यवस्थापक सञ्जय सिंहले डिएपी मलको खासै माग नभएकाले नल्याइएको बताए। ‘युरिया ल्याएर वितरण गर्‍यौं, डिएपीको माग खासै नभएकोले नल्याइएको हो,त्यो पनि २/४ दिनमा ल्याउँछौं,’सिंहले भने ।

जिल्लामा करिब १९ हजार हेक्टरमा हिउँदेबाली हुँदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

प्रतिक्रिया