वनविज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव
शिक्षाखबर डेस्क
१७ माघ २०८०, बुधबार
no immg

कञ्चनपुर / शुक्लाफाँटा नगरपालिका– ११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको वनविज्ञान शिक्षा कक्षाका विद्यार्थीका लागि प्रयोगात्मक सामग्री अभाव भएको छ।

विद्यालयसँग आर्थिक अभाव हुँदा प्रयोगात्मक सामग्री जुटाउन नसकिएको हो। विद्यार्थीलाई सैद्धान्तिक ज्ञान दिने कार्य भइरहे पनि प्रयोगात्मक सामग्रीको अभाव रहेको विद्यालयका प्रशिक्षक शिक्षक पुष्कर ऐरले बताए। ‘प्रयोगात्मक सामग्री अभाव हुँदा विद्यार्थीलाई व्यावहारिक शिक्षा दिने कार्यमा अप्ठ्यारो परिरहेको छ,’ उनले भने, ‘निकै लामो समयदेखि माग गर्दै आए पनि व्यवस्था हुन सकेको छैन।’

उनका अनुसार विद्यार्थीलाई प्रयोगात्मक कार्य सिकाउन रेन गेज, साभेल, माइक्रोस्कोप, ओभन, क्लिनोमिटर, चेनस, पोलिहाउस, चेन, ट्री क्यालिपर, डाइमिटर टेप, स्पिडो मिटर, स्पिडे, स्नोभेल, वाइनाकुलरलगायत सामग्री अभाव छ। विद्यालयसँग फाउडा, कोदालो, स्मार्ट बोर्ड, बन्चरोलगायत सामग्री भए पनि ती पनि पर्याप्त मात्रामा नरहेको उनले बताए। सामग्री अभाव भएपछि विद्यार्थीको पठनपाठनको कार्यमा अवरोध आउन थालेको उनको बुझाइ रहेको छ।

नगरपालिका कार्यालयसँग अभाव रहेका सामग्रीको व्यवस्था गरिदिनका लागि माग गरिँदै आए पनि उपलब्ध हुन नसकेको विद्यालयका प्रधानाध्यापक राजेन्द्रबहादुर ऐरले बताए। ‘विद्यालयसँग सीमित साधन–स्रोत छ,’ उनले भने, ‘आन्तरिक आम्दानी छैन, अभाव भएका सामग्रीका लागि नगरपालिकालाई गुहार्दै आएका छौँ। सामग्री उपलब्ध गराउने अश्वासन पाइने गरे पनि हालसम्म उपलब्ध भने भएका छैनन्।’

०७६ देखि तीनवर्षे वनविज्ञान कार्यक्रम सञ्चालन हुँदै आएको छ । कार्यक्रमअन्तर्गत वनविज्ञानमा भर्ना भएर ३१ छात्र र २५ छात्रा अध्ययन गर्दै आएका छन् । विद्यालयमा वनविज्ञान पढ्ने विद्यार्थीका लागि भौतिक पूर्वाधार भने पर्याप्त रहेको छ । छात्र र छात्राका लागि सुविधासम्पन्न छुट्टाछुट्टै छात्रावास रहेका छन् । छात्रवासका प्रत्येक कोठामा बाथरुम तथा ट्वाइलेटको व्यवस्था रहेको छ । छात्रावासमा ११ छात्र र सात छात्रा बसेर अध्ययन गर्दै आएका छन् । विद्यालयको छुट्टै ब्लकका तीन कोठामा पठनपाठनको कार्य हुँदै आएको छ ।

प्रतिक्रिया