पहिरोको उच्च जोखिममा ताँजाकोटको मदानादेव माविको छात्रावास: वैकल्पिक व्यवस्था नहुँदा ४६ जना जोखिमपूर्ण भवनमै बस्न बाध्य
शिक्षाखबर डेस्क
१५ भाद्र २०८३, सोमबार
no immg

हुम्ला । हुम्लाको ताँजाकोट गाउँपालिका–५ स्थित मदानादेव माध्यमिक विद्यालयको छात्रावास भवन पहिरोको उच्च जोखिममा परे पनि वैकल्पिक व्यवस्था नहुँदा विद्यार्थीहरू त्रासकै बिच त्यहीँ बस्न बाध्य भएका छन्। केही दिनअघि परेको अविरल वर्षाका कारण गएको पहिरोले दुईतले २० कोठे छात्रावास भवनको जग नजिकैको जमिन, सुरक्षाका लागि लगाइएको ग्याबिन पर्खाल र घेरबारसमेत बगाएपछि जोखिम अत्यधिक बढेको छ। एक वर्षअघि मात्रै निर्माण सम्पन्न भएको उक्त छात्रावास भवन र त्यसको शौचालयसमेत जगैबाट बग्ने खतरा उत्पन्न भए पनि कक्षा ६ देखि १० सम्मका विद्यार्थी, वार्डेन र भान्सेसहित ४६ जना सोही जोखिमयुक्त भवनमै रात बिताउन विवश छन्।

छात्रावासका वार्डेन जीवन ढकालका अनुसार भवनको जगैसम्म पहिरो पुगेकाले पानी पर्न सुरु हुनासाथ कतिबेला के हुन्छ भन्न सकिने अवस्था छैन, तर अन्यत्र बस्ने ठाउँ नहुँदा आफू र विद्यार्थीहरू कोठामै बसिरहेका छन्। सोही छात्रावासमा बस्दै आएकी कक्षा १० की छात्रा मनकला कार्कीले मनमा ठुलो डर र त्रास बोकेर जोखिमयुक्त भवनमा बस्नुपरेको गुनासो गर्नुभयो। बर्खाको मौसम अझै बाँकी रहेकाले तत्काल स्थानान्तरण नगरिए ठुलो मानवीय क्षति हुन सक्ने चिन्ता विद्यार्थीहरूले व्यक्त गरेका छन्। विद्यालय प्रशासनले छात्रावासको गम्भीर अवस्थाबारे वडा अध्यक्ष, प्रहरी, अभिभावक तथा विद्यालय व्यवस्थापन समितिलाई जानकारी गराउँदै विद्यार्थीहरूलाई सुरक्षित स्थानमा बस्ने वैकल्पिक प्रबन्ध मिलाइदिन सार्वजनिक आग्रह गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खबर