काठमाडौँ । त्रिभुवन विश्वविद्यालय पुनरावेदन आयोगको अध्यक्ष पदमा ऋण असुली न्यायाधिकरणका पूर्वअध्यक्ष डा. गोकुलप्रसाद बुर्लाकोटी नियुक्त हुनुभएको छ। विश्वविद्यालयमा वर्षौँदेखि विचाराधीन प्रशासनिक, कानुनी तथा सेवासम्बन्धी मुद्दाहरूको न्यायिक निरूपणलाई गति दिन विश्वविद्यालय सभाको निर्णय बमोजिम डा. बुर्लाकोटीलाई आयोगको नेतृत्व सुम्पिएको हो। यसैगरी आयोगको सदस्य पदमा प्रा. डा. योगेन्द्रबहादुर गुरुङ र डा. कविताराज पौडेल (खाती) नियुक्त हुनुभएको त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालयले जनाएको छ।
विश्वविद्यालयका सहकुलपति समेत रहनुभएका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा गत असोज २२ गते बसेको त्रिवि सभाको साधारण सभा बैठकले आयोगको अध्यक्ष तथा सदस्यहरू नियुक्त गर्ने औपचारिक निर्णय गरेको थियो। बडादशैँ तथा लगातारका सार्वजनिक बिदाहरूका कारण नवनियुक्त पदाधिकारीहरूलाई सोमबार मात्रै त्रिवि उपकुलपति कार्यालयले औपचारिक नियुक्तिपत्र हस्तान्तरण गरेको हो।
उच्च शिक्षाको अग्रणी निकायमा सुशासन र न्याय सम्पादनलाई व्यवस्थित बनाउन नवनियुक्त पदाधिकारीहरूलाई ‘त्रिभुवन विश्वविद्यालय शिक्षक कर्मचारी सेवासम्बन्धी नियम, २०५०’ को नियम १०८ बमोजिम नियुक्त गरिएको हो। त्रिवि पुनरावेदन आयोगले विश्वविद्यालय मातहतका शिक्षक, कर्मचारी तथा अध्ययनरत विद्यार्थीहरूका विविध कानुनी, प्रशासनिक तथा वृत्तिविकाससँग जोडिएका पुनरावेदन र मुद्दाहरूमाथि निष्पक्ष सुनुवाइ गरी अन्तिम न्यायिक निर्णय दिने गर्दछ।






