भरतपुर महानगरद्वारा नेपालमै पहिलो पटक रक्तदानसम्बन्धी पाठ्यक्रम लागु: विद्यालय तहबाटै मानवीय संवेदना र स्वैच्छिक रक्तदाता तयार गर्ने लक्ष्य
शिक्षाखबर डेस्क
१७ कार्तिक २०८३, सोमबार
no immg

चितवन । भरतपुर महानगरपालिकाले बालबालिकाहरूमा सानै उमेरदेखि रक्तदानको महत्त्व, मानवीय संवेदना र सामाजिक दायित्वबारे सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित विद्यालय तहको पाठ्यक्रममै रक्तदानसम्बन्धी विषयवस्तु समावेश गरी लागु गरेको छ। नेपालमै पहिलो पटक सुरुवात गरिएको यस ऐतिहासिक अभियानअन्तर्गत हाल भरतपुर महानगर क्षेत्रभित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरूका कक्षा ६ देखि ८ सम्मको स्थानीय पाठ्यक्रममा रक्तदानलाई समावेश गरी पठनपाठन भइरहेको भरतपुर महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख सुवास आचार्यले जानकारी दिनुभयो। विद्यालय तहबाटै विद्यार्थीहरूलाई रक्तदानको प्राविधिक तथा मानवीय महत्त्व र यसको प्रक्रियाबारे बुझाउन सके उनीहरूमा सेवाभाव विकास हुनुका साथै भविष्यका लागि नियमित तथा स्वैच्छिक रक्तदाता तयार हुने महानगरको विश्वास रहेको छ।

रक्तदान जीवन बचाउने अत्यन्तै महत्त्वपूर्ण मानवीय कार्य भए तापनि पछिल्लो समय यसको महत्त्व र आवश्यकता बुझाउन कठिन भइरहेको अवस्थामा बालमस्तिष्कमा मानवताको बीजारोपण गर्न यो अभियान सुरु गरिएको महाशाखा प्रमुख आचार्यको भनाइ छ। हाल कक्षा ६ देखि ८ सम्म लागु गरिएको यो विषयवस्तुलाई आगामी वर्षदेखि कक्षा १० सम्मै विस्तार गर्ने तयारी महानगरले गरिरहेको छ। रक्तदान गर्न निश्चित उमेर र स्वास्थ्यसम्बन्धी मापदण्ड पूरा गर्नुपर्ने भए तापनि सानै उमेरमा यसको महत्त्वबारे शिक्षा दिँदा समाजमा विद्यमान भ्रम र गलतधारणाहरू हट्ने अभियानका अगुवा डा. भोजराज अधिकारीले बताउनुभयो। डा. अधिकारीकै संयोजनमा महानगरपालिकाले ‘हाम्रो गौरव, हाम्रो भरतपुर’ नामक स्थानीय पाठ्यक्रमभित्र यो उपयोगी विषयवस्तु समावेश गरी लागु गरेको हो।

भरतपुरबाट सुरु भएको यो अनुकरणीय अभियानलाई अब राष्ट्रियस्तरमै विस्तार गर्ने तयारी भइरहेको छ। आफू बाँच्न र अरूलाई बचाउन सबैभन्दा पहिला रगत र यसको महत्त्वलाई बुझ्न जरुरी हुने भएकाले यो अभियानलाई देशभरका विद्यालयहरूमा लागु गराउन आवश्यक नीतिगत व्यवस्थाका लागि नेपाल सरकारसँग छलफल र पहल भइरहेको डा. अधिकारीले जानकारी दिनुभयो। स्थानीय तहले आफ्नै स्थानीय पाठ्यक्रममार्फत समाजलाई प्रत्यक्ष योगदान पुर्‍याउने गरी सुरु गरेको यो पहलले स्वस्थ, सचेत र जिम्मेवार नागरिक निर्माणमा दूरगामी प्रभाव पार्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर
भर्खरै