लेख

सीताको जन्म कसरी भएको थियो ?

शिक्षाखबर संवाददाता

२१ असार २०७३, मंगलवार

कक्षा १२ मा अध्ययनरत मेरी बहिनीले सीताको बारेमा भनिन् ‘राजा जनककी छोरी सीता हुन् । राजा जनकले सीतालाई जोत्दा जोत्दै हलोको डोबबाट भेटेकी । पछि भगवान रामसँग विवाह भएपछि उनी पनि भगवान नै भइन् ।” त्यसपछि मैले भने नेपालमा एउटा भगवान राष्ट्रिय विभूति हुन सक्छिन् भने पशुपतिको महादेव किन राष्ट्रिय विभूति बन्न नसक्ने ? उनी अलमलमा परिन् ।

यो उनको मात्रै दोष थिएन । नेपालको समग्र राज्य व्यवस्थाले आम मानिसमा पारेको प्रभाव थियो । एक प्रकार भन्दा सांस्कृतिक प्रभुत्व नै थियो । आज पनि विद्यालयहरुमा सानासाना नानीहरुले सीता जनककी छोरी, हलोको डोबमा फेला परेकी भनेर पढिरहकै छन् ।

नेपाल गणतान्त्रिकमूलक हो । देशमा जस्तो भए पनि एक थान संविधान आयो । तर पुराना कतिपय सांस्कृतिक मान्यताहरु, प्राचिनकालिन मूल्य मान्यताहरु जस्ताको तस्तै छन् । जन्मदै ल्याब टप र आईफोनमा रमाउने नयाँ पुस्तालाई अव ती धार्मिक किंमदन्तीहरु हाँस्यास्पद बन्न सक्छन् । शिक्षकले पढाउँदा विद्यार्थीहरुले उल्टै प्रतिप्रश्न गरेर हलोको डोबमा त किरा–फट्याङ्ग्रा मात्रै जन्मिएको देखेका छौं मान्छे कसरी जन्मिन्छन् सर ? भन्दै विद्यार्थी हाँस्नुपर्ने कतिपय विषयलाई गणतन्त्रिक मुलुकमा मिलाउन जरुरी छ ।

नेपालका राष्ट्रिय विभूतिहरु मध्ये सीतालाई राजा जनककी छोरी भनेर भनिन्छ । सीतालाई मिथिलाका राजा जनकको सबैभन्दा जेठी छोरी पनि भन्ने गरिन्छ । उनको विवाह अयोध्याको राजा दशरथको ज्येष्ठ सुपुत्र रामसँग भएको धार्मिक इतिहास छ । रामले स्वयंवरमा राखिएको शिव धनुष भाँचेपछि सीतालाई उनले बेहुली बनाएर लगेको कथा रामायणमा उल्लेख छ ।

सीताको अनेक रुप  

सीतालाई मर्यादापुरूष रामकी पत्नी, धर्मानुरागी, आदर्शराजा दशरथकी बुहारी र राजर्षि जनककी छोरी सीता भनेर भनिएको पाइन्छ । साथै उनलाई नेपाल भूमिकी गरिमामयी पुत्री, आदर्शपत्नी, आदर्शमाता, आदर्श भाउजु, आदर्श बुहारी, आदर्श महारानी र आदर्श नारीका रूपमा चर्चा गर्ने गरिन्छ । अझ कतै कतै त नेपालकी पौराणिक प्रथम नेपाली विभूति हुन् पनि भनिन्छ ।

जन्म नै मिथक

उनको जन्मको विषयलाई विभिन्न मिथकका रुपमा आज पनि चित्रण गरेको पाइन्छ । सीताको जन्म रोचक र रहस्यमयी ढंगले व्याख्या गरिएको पाइन्छ । भनिन्छ, यज्ञभूमि तयार पार्न राजषि जनकले हलो चलाउँदा त्यही भूमिबाट सीता प्रकट भएकी थिईन् । सीताको जन्मका सम्बन्धमा विभिन्न धार्मिक पुराणहरूमा एकरूपता पाइँदैन । वाल्मिकीरामायण, आनन्दरामायण, अद्भूतरामायण, अध्यात्मरामायण र तमिलरामायण र देवी भागवत आदि पुराणमा फरक फरक कथा पाइन्छ ।

धार्मिक ग्रन्थहरुमा फरक फरक कथा

‘लङ्काका राजा रावणले आफ्नो पहिलो सन्तानलाई सन्दुकमा बन्द गरेर धर्तीमा गाडिदिएको थियो र त्यो थलो जनकपुर थियो’ भन्ने देवी भागवतमा उल्लेख छ । मय राक्षसकी छोरी मन्दोदरीसँग बिहे गर्ने बेलामा रावणले पहिलो सन्तानका कारण वंशै समाप्त हुने सुनेकाले जन्मिनासाथ कन्यालाई गाडेको भनिएको छ ।

मातृसत्ता समाज विकासको त्यो चरण थियो, जुन चरणमा आमाहरुको हैकम हुन्थ्यो । बुवाहरु को हो चिनिदैन थिए । मानिसहरु घुमन्ते जीवनमै रहेका कारण आमाहरु बच्चा हुर्काएर बस्थे भने बाबुहरु सिकार खेल्न टाढा टाढा जान्थे ।

त्यस्तै अद्भूत रामायणमा सीताको जन्मको रहस्यबारे यसरी ब्यक्त गरेको छ – रावणको अत्याचार ज्यादै बढेको ऋषि तपस्वीहरुलाई उसले निकै कष्ट दिन्थ्यो । तपस्यारत ऋषि, तपस्वीका शरीरमा बाणले घोच्दै रगत झिकेर घैँटामा भथ्र्याे । गृत्समद ऋषि पनि त्यहीँ तपस्या गरिरहेका थिए । उनी सदा कुशको अग्रभागबाट निस्किएको दूध घैँटामा जम्मा गर्थे । रावणले यस कुराको चाल पाई त्यो घैँटो चोरी दूध जति आफ्नो घैँटामा भरेकका थिए । रावणबाट वाक्क भएर मन्दोदरीले आत्महत्याको उद्देश्यले त्यही रगत मिसिएको दूध खाइदिइन् । मन्दोदरी त मरिनन् तर त्यसबाट उनमा गर्भ रहन गयो । यस गर्भलाई उनले जमीन मुनि गाडिदिएकी थिइन् । त्यही गर्भ राजा जनकले हलो चलाउँदा फेला पारेका हुन् ।

आनन्द रामायणका अनुसार मिथिला भूमिमा एक ब्राहृमणले सन्दुक फेला पारी राजा जनकलाई जिम्मा दिएका थिए । त्यसभित्र कन्या भएकीले राजा जनकबाट उनको पालनपोषण भएको हो ।

सीताको लालनपालन

सीता जन्मिएपछि पालनपोषण गर्ने काम राजा जनक र रानी सुनैनाबाट भयो भन्ने त्रेता युगको कथामा उल्लेख छ । सीता सानैदेखि विलक्षण प्रतिभाकी थिईन् । शूरवीरले उचाल्न नसक्ने शिवधनु पूजाकोठाको सरसफाइका बेला सजिलै वर, पर राख्ने गर्थिन् भन्ने जस्ता किम्बदन्तीहरु जोडिएको पाइन्छ । शूरवीर अथवा बलवान पुरुषले समेत उचाल्न नसक्ने धनु कसरी एउटी बालिकाले उचाली ? यो विश्वसनिय पटक्कै छैन । पछि उनको अयोध्याका राजकुमार रामसँग विवाह भयो । पतिसँगै १४ वर्ष बनबास गइन् । रावणले हरण गरी लग्यो । पछि रामले रावणको बध गरेपछि उनलाई अग्नी परिक्षा लिई पुनः अयोध्या ल्याईयो भन्ने जस्ता कुराहरु रामायणमा पाइन्छ ।

अयोध्या आएपछि रामले गरेको अविश्वासका कारण उनी पुन बनबास जान बाध्य भइन् । बनवासमा वाल्मीकिको आश्रममा पुग्छे । त्यही लभ र कुश दुई पुत्रको जन्म दिन्छे । अन्तमा धर्ती माता सामु उनले आफ्नो सतीत्व र पतिव्रता साँचो भए आश्रय दिन पुकार गर्छिन् । त्यसपछि धर्ती फाट्छ, अनि सीता धर्तीमाताको शरणमा सधैँ सधैँका लागि विलीन हुन्छिन् । नेपालको राष्ट्रिय विभूति भनेर गर्व गर्ने सीताको जीवनकहानी आजसम्म यसै अनुसार पढ्दै आएका छौं ।

वैज्ञानिक खोज

मानव उत्पतिको व्याख्या गर्ने सवालमा हमेसा दुइवटा परस्पर दृष्टिकोण अगाडि आउने गर्छन् । ति हुन् पहिलो, अध्यात्मवादी दृष्टिकोण, दोस्रो, भौतिकवादी दृष्टिकोण । अध्यात्मवादले आत्मालाई प्रधान मानेर संसारको रचना कुनै अलौकिक शक्तिले गरेको हो भन्छ भने भौतिकवादले संसारको उत्पति कुनै अदृष्य शक्तिले गरेको नभई दुई विपरित बस्तुहरुको द्धन्द अथवा विकास र बिनासको अनन्त श्रृङ्खलाबाट पैदा भएको मान्दछ । भौतिकवादले पदार्थलाई प्रधान मान्दै तथ्यको आधारमा संसारको ब्याख्या गर्न भने अध्यात्मवादले अदृष्य कुनै दैवी शक्तिको विश्वास गरि संसारको सृष्टि उसैले गरेको हो भन्ने गर्छ । भौतिकवादी सिद्धान्तमै आधारित रहेर डार्विनले प्रजातिको उत्पति सम्बन्धी उद्विकासवादी सिद्धान्तको प्रतिवादन गरेपछि दुनियाँमा ठूलै हलचल गयो । सीताको जन्म सम्बन्धी माथि उल्लेखित दृष्टान्तहरु मूलत अध्यात्मवादबाट निर्देशित रहेको तथ्य सिद्ध हुन्छ ।

नेपालको राष्ट्रिय विभूति मानिएको सीताकोबारेमा यस्तै भ्रमपूर्ण अर्नगल प्रचारकोपछि नलागी खास सीता कस्की छोरी हुन् भन्ने विषयमा जानकारी राख्न आवश्यक छ । विज्ञान र प्रविधिको अभूतपूर्व विकासको यो शताब्दीमा समेत नेपालको राष्ट्रिय विभूतिको बारेमा अन्दाजमै जनककी छोरी हलोको डोबमा भेटिएको कुरा हाँस्यास्पद हुन सक्छ । यसको बारेमा वैज्ञानिक तथ्य संगत जानकारी राख्नु आवश्यक छ । के सीता जनकले हलो जोत्दा डोबमा भेटिएकै हुन् त ? त्यसो भए आज किन नभेटिएको ? के एउटा मानिस हलोको डोबमा भेटिन सक्छ ? यी यावत प्रश्न आजसम्म अन्योलमा नै रहेको छ ।

पृथ्वी र मानव सभ्यताको उत्पतिको विषयमा मानवशास्त्रीय र समाजशास्त्रीय अध्ययनबिना सीताको जन्मको बारेमा उल्लेख गर्न सकिँदैन । वैज्ञानिकहरुका अनुसार सूर्यको उत्पत्ति ४ अर्ब ६० करोड बर्ष अगाडि भएको र पृथ्वीको उत्पत्ति ४ अर्ब ५६ करोड वर्षअघि भएको बताएका छन् ।

त्यस्तैपछि अमेरिकी युनिभर्सिटी अफ क्यालिफोर्नियाका अनुसन्धानकर्ताहरुले पृथ्वीमा जीवको उत्पत्ति पनि ४ अर्ब १० करोड वर्ष पहिले भएको दाबी गरेका छन् । यसअघि पुराना दस्तावेजहरुले ३० करोड वर्ष पहिले पृथ्वीमा जीवको उत्पति भएको देखाएको थियो । यद्धपि अघिल्लो अनुसन्धानलाई आधार मान्दा ३२ करोड वर्ष अगाडि जलचर माछा संसारमा जन्मिएको र त्यसपछि जलथल दुबै क्षेत्रमा बस्ने कछुवा जस्ता प्राणीहरु देखिए । १९ करोड वर्षअगाडि पन्छीहरु देखिए भने सोह्र करोड वर्ष अगाडि स्तनधारी जन्तु देखिन्दै गए । यिनै प्राणीहरुको उत्पति सँगसँगै मानवको उत्पति भएको मान्न सकिन्छ । डार्विनको विकासवादको सिद्धान्तलाई आधार मान्दा मानिसको उत्पति यी नै पृथ्वीमा अरु प्राणीको जन्म भएसँग विस्तारै मानवको उत्पति भयो । त्यसपछि मानिस नरबादरबाट विकास हुँदै आजको अवस्थासम्म आईपुगेको कुरा डार्विनले बताईसकेका छन् ।

समाज विकासका चरण ः

मानवशास्त्रीहरुले मानवसभ्यताको विभिन्न चरणहरु उल्लेख गरेका छन् । उनीहरुका अनुसार पुरापाषण युग भनेर १० लाख देखि १० हजार ईसा पूर्वको अवधिलाई भनेका छन् । तर कतिपयले भने ३० लाख देखि २० लाख सम्मको अवधि भने भनेका छन् ।  त्यसबेला मानिसहरु घुमन्ते अवस्थामा थिए । त्यसलाई ढुङ्गे युगपनि भन्न सकिन्छ । मानिसहरु गुफा र रुखको फेदमा बस्थे । सिकार लेख्ने कन्दमूल खाने युग थियो ।

त्यस्तै मध्यपाषण युग भनेर १० हजार इसा पूर्व र ८ इसा पूर्वको समयलाई मानेका छन् । प्राचिन ढुङ्गे युगको समाप्ति र नयाँ युगमा प्रवेशको चरणका रुपमा मानवशास्त्रीहरुले चित्रण गरेका छन् । काठ र ढुङ्गाको हतियार बनाउने, हरिण तथा मृगको सिकार गर्ने त्यही बेला थियो । त्यही समयमा पृथ्वीमा ठूला ठूला प्राकृतिक विपत्तीहरु भए । त्यति विपत्तिहरु देखा परे पनि अलौकिक शक्तिमा विश्वास गर्न थालिएको देखिन्छ । सुँगुर, भेडा, बाख्रा, घोडा जस्ता सोझा जातका पशु पाल्ने चलन त्यही बेला भयो । आगो पत्ता त्यही बेला लगाए । पुनर्जन्मप्रति विश्वास पनि त्यही बेलादेखि सुरु भयो ।

त्यसपछिको चरणलाई मानवशास्त्रीहरुले नवपाषण युग भनेर नामाकरण गरेका छन् । इ.सा.पूर्व ८ हजारदेखि ४ हजारसम्मको अवधिलाई मानिन्छ । त्यसयुगमा कृषिको आविस्कार भएको थियो । घुमन्ते युगबाट विस्तारै स्थायी प्रकृतिको बसोबासमा मानिसहरु जान थालेका थिए । पशुपालन, भाडाँ कुडा निमार्ण भयो । हलो, कोदालो, चक्कु, बन्चरो, माछा मार्ने बल्छी जस्ता हतियारहरु बने । यसै युगबाट मानिसहरु नदी किनार, समथर भूभाग, पानी भएको स्थानमा बस्न थाले । त्यही बसाई नै विस्तारै नगरमा परिणत हुँदै गयो र पछि त्यही नगर राज्य व्यवस्थामा परिणत भयो । त्यही समयमा निजिसम्पति माथि विश्वास, नाता सम्बन्ध जस्ता धारणाहरु विश्वास हुन थाल्यो ।

मिथिला राज्यको अस्तित्व

सम्भवतः त्यही कालखण्डमा पृथ्वीका विभिन्न स्थानहरुमा मानव सभ्यताको विकास भयो । नाइल नदिको सभ्यता, दक्षिण एसियाको सिन्धुघाटीको सभ्यता, ग्रीकको सभ्यता, मेसोपोटामियाको सभ्यता र चिनको ह्याङ्हो र याङ्से क्याङ नदीको सभ्यता विकास भयो ।

त्यही सभ्यताहरु मध्ये सिन्धुघाटीमा आर्यहरुले वैदिक सभ्यताको सूत्रपात गरे । त्यही स्थानबाट अन्यत्र फैलिन थाले । समाजविकासको विभिन्न चरण पार गर्दै आउँदा इशापूर्व ५ औं शताब्दीतिर कैयौं स्वतन्त्र राज्यहरु बने । त्यही कालखण्डमा मिथिला राज्य अस्तित्वमा देखा प¥यो ।

रामायणका अनुसार जनकले मिथिलाका एक शासक सुधन्वालाई मारेर आफनो भाईलाई शासक बनाएको कुरा उल्लेख छ । अर्को भनाई अनुसार यमुना नदीको बाढिबाट हस्तिनापुर ध्वस्त भएपछि राजा जनक विदेह आएका थिए । विदेहको इतिहासमा राजा जनकको शासनकाल भने महत्वपूर्ण मानिन्छ । यिनको राजधानी मिथिला थियो, त्यसैले यो क्षेत्र मिथिला प्रदेश नामले चिनिन्छ ।

सत्यता के हो ?

वरिष्ठ माक्र्सवादी सौन्दर्य चिन्तक चैतन्यले राजा जनकको समयमा समाज पितृसत्तात्मक समाजमा उक्लिसकेको र सीता मातृसत्तात्मक समाजको अवशेष रहेको बताएका छन् । उनले पुरुषसत्तावादी नजरबाट सीतालाई जबरजस्ती जनककी छोरी र हलोको डोबमा भेटिएको किंवदन्तीसँग जोडेको बताएका छन् । उनले भनेका छन् “सीता हलोको डोबभित्र भेटिएकी होइनन्, तर यस प्रकारका किंवदन्तीबाट कुन कुरा सङ्केत गर्दछ भने उनका पिता अज्ञेय हुन् । उनी मातृसत्तात्मक समाजकी अवशेष हुन् ।”

विद्धान चैतन्यको माथि उल्लेखित कुराबाट के प्रष्ट हुन्छ भने सीता बाबुआमा दुबै नचिनिएकी आजको भाषामा भन्दा अनाथ छोरी थिइन् । उनी न त हलोको डोबमा भेटिएकी छोरी हुन् न त विभिन्न रामायणमा भनिए जस्तो नै ।

मातृसत्ता समाज विकासको त्यो चरण थियो, जुन चरणमा आमाहरुको हैकम हुन्थ्यो । बुवाहरु को हो चिनिदैन थिए । मानिसहरु घुमन्ते जीवनमै रहेका कारण आमाहरु बच्चा हुर्काएर बस्थे भने बाबुहरु सिकार खेल्न टाढा टाढा जान्थे । आज पनि नेपालका अधिकांश जनजाति समुदायभित्र रहेको मातृसत्तात्मक समाजको अवशेषले त्यही कुरा संकेत गर्दछ ।

जनजाति समुदायमा आर्यसभ्यताबाट विकास भएका समुदायमा जस्तो पुरुष हैकम कम आज पनि देख्न सकिन्छ । त्यही मातृसत्तात्मक समाजको अन्ततिर सीताको जन्म भएको विद्धानहरुको धारणा पाइन्छ । सम्भवतः सीतालाई जन्म दिएपछि उनकी आमाको मृत्यु भएको हुनुपर्छ र उसको बाबु को हो नचिएको हुनुपर्छ ।

त्यसैले आजका नयाँ पुस्तालाई सीताको बारेमा अर्नगल प्रचार गरी सत्यताबाट टाढा राख्नुभन्दा राष्ट्रिय विभूतिको बारेमा समयमै प्रष्ट पार्न जरुरी छ ।

सुम्निामा र पेङदोर्जे पनि राष्ट्रिय विभूति हुनसक्दैन ?

अन्तमा गणतान्त्रिक मूलुकमा राष्ट्रिय विभूतिहरुको बारेमा पर्नपरिभाषित गर्न आवश्यक छ । धार्मिक मिथक र किंमदन्तीसँग जोडिएका पात्रहरुलाई धार्मिक आवरणबाट निकालेर वैज्ञिानिक पुर्नब्याख्या गरिनुपर्छ ।

शंखधर सख्वाले जस्तो रिन मोचन गरेको प्रमाण चाहियो कि त अरनिकोले बनाएको जस्तो भौतिक प्रमाण चाहियो । होइन भने किरात समुदायको पारुहाङ र सुम्निामा, त्यस्तै तामाङ जातिको पेङदोर्जेलाई पनि राष्ट्रिय विभूति घोषित गर्नुपर्ने हुन्छ ।

स्रोतः
चैतन्य : नेपाली समाज र संस्कृतिः विवेक सिर्जनशील प्रकाशन प्रा.लि.(२०६५)
बाबुराम आचार्यः चीन तिब्बत र नेपाल,
डा.केशवकुमार श्रेष्ठः नेशनल बुक सेन्टर, (२०७०)
समाजशास्त्र र मानवशास्त्रका सैद्धान्तिक दृष्टिकोणहरु
विभिन्न वेवसाइटहरु