कक्षा आरम्भको ९० दिनमा परीक्षा, ९० दिनमै नतिजा
शिक्षाखबर डेस्क
३१ असार २०८१, आईतवार
no immg

काठमाडौँ — त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद्ले शैक्षिकसत्र २०८१ का लागि क्यालेन्डर स्वीकृत गरेको छ । रेक्टर खड्ग केसीका अनुसारत्रिविले ९० दिनमा पढाइ सकेर परीक्षा गरिसक्ने र परीक्षा सकेको ९० दिनभित्रै नतिजा प्रकाशन गर्नेछ।

सेमेस्टर र वार्षिक प्रणालीअन्तर्गत सञ्चालित शैक्षिक कार्यक्रमको क्यालेन्डर कार्यान्वयनका लागि अध्ययन संस्थान, संकाय, आंगिक क्याम्पस, केन्द्रीय विभागहरूमा पठाइएको रेक्टर कार्यालयले जनाएको छ । क्यालेन्डर कार्यान्वयनको अवस्थाबारे अध्ययनसमेत गरिने केसीले बताए । त्रिविमा समयमा भर्ना, पठनपाठन, परीक्षा सञ्चालन र नतिजा प्रकाशन नहुने गुनासो छ । नतिजा प्रकाशन गर्न १८ महिनासम्म ढिलाइ हुँदै आएको थियो ।

क्यालेन्डरअनुसार आगामी शैक्षिकसत्र साउन दोस्रो सातादेखि सुरु हुनेछ । कक्षा १२ को नतिजा सार्वजनिक भएपछि मात्र विश्वविद्यालयमा स्नातक तहमा भर्ना प्रक्रिया सुरु हुन्छ । राष्ट्रिय परीक्षा बोर्डले साउनमा नतिजा प्रकाशनको तयारी भइरहेको जनाएको छ । त्रिविले भदौसम्म आवेदन फाराम वितरण गर्ने र प्रवेश परीक्षा सञ्चालन गर्ने कार्यतालिका तय गरेको छ । असोज र कात्तिकमा विद्यार्थी भर्ना गरेर मंसिर पहिलो सातादेखि कक्षा सञ्चालन गर्ने क्यालेन्डरमा उल्लेख छ ।

वार्षिक प्रणालीमा आगामी जेठ अन्तिम साता परीक्षा सञ्चालन गर्ने र असोज दोस्रो साता नतिजा सार्वजनिक गर्ने उल्लेख छ । सेमेस्टर प्रणालीमा परीक्षा र नतिजा तोकिएकै समयमा हुँदै आए पनि त्रिविमा वार्षिक प्रणालीमा भने ढिलासुस्ती हुँदै आएको छ । क्यालेन्डरमा २०८५ सम्म स्नातक तहको पढाइ पूरा गर्न लाग्ने समयसम्मकै भर्ना, पठनपाठन, परीक्षा सञ्चालन र नतिजा प्रकाशनसम्बन्धी समयसीमा तोकिएको छ । स्नातकोत्तर तहको मंसिरमा भर्ना आवेदन, पुसमा प्रवेश परीक्षा र भर्ना हुने तय गरिएको छ ।

‘सबै प्राक्टिकल परीक्षा पनि अन्तिम परीक्षा सकिएको दुई साताभित्र पूरा गर्नुपर्छ। त्रिविका क्षेत्रीय परीक्षा कार्यलयहरूले आ–आफ्ना क्षेत्रका प्राक्टिकल परीक्षाको व्यवस्थापन गर्ने जिम्मेवारी तोकिएको छ,’ उनले भने, ‘प्रत्येक वर्ष पुस पहिलो सातालाई खेलकुद सप्ताहका रूपमा मनाइने क्यालेन्डरले व्यवस्था गरेको छ।’ उनले थपे, ‘यसैगरी स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव २०८१ फागुन १५ मा हुन्छ भने अर्को चुनाव २०८३ फागुुन १४ गते हुने मिति तय गरिएको छ।’

विश्वविद्यालय अनुदान आयोगले गत असारमा सबै विश्वविद्यालयलाई एकीकृत शैक्षिक क्यालेन्डर तयारी गरी कार्यान्वयनका लागि पठाएको थियो । भर्ना, पठनपाठन, परीक्षा र नतिजा प्रकाशनको कार्यतालिका विश्वविद्यालयपिच्छे फरकफरक भएर उच्च शिक्षामा भद्रगोल देखिएपछि आयोगले क्यालेन्डर प्रस्ताव गरेको थियो । विश्वविद्यालयले आफ्नो अनुकूल हुने गरी क्यालेन्डर लागू गर्न सक्ने आयोगले जनाएको थियो ।

सरकारको आगामी वर्षको बजेटमा समेत आयोगबाट कडाइका साथ अनुगमन गरी विश्वविद्यालयमा वार्षिक शैक्षिक क्यालेन्डर लागू गरिने उल्लेख छ । मुलुकभर १२ वटा संघीय विश्वविद्यालय, तिनले सम्बन्धन दिएका क्याम्पससहित प्रादेशिक विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठान गरी करिब १५ सय उच्च शिक्षा प्रदायक शिक्षण संस्था सञ्चालनमा छन्, जहाँ ५ लाखभन्दा बढी विद्यार्थी अध्ययन गर्छन् ।

प्रतिक्रिया