उच्च प्राविधिक शिक्षा निःशुल्क
शिक्षाखबर डेस्क
२९ असार २०८३, सोमबार
no immg

घोराही / आर्थिक अभावकै कारण उच्च तथा प्राविधिक शिक्षा छाड्नुपर्ने अवस्थालाई अन्त्य गर्ने उद्देश्यले लमही नगरपालिका–७ ले सञ्चालन गरेको निःशुल्क छात्रवृत्ति कार्यक्रम प्रभावकारी बन्दै गएको छ । वडाले अहिले १०३ विद्यार्थीलाई स्नातक र प्राविधिक शिक्षा निःशुल्क अध्ययन गराइरहेको छ ।

उचानिम्बु निवासी सागर चौधरी अहिले लमहीस्थित देउखुरी बहुमुखी क्याम्पसमा बिबिएस प्रथम वर्ष अध्ययनरत हुनुहुन्छ । गाउँमै माध्यमिक शिक्षा पूरा गरेका चौधरीलाई क्याम्पस भर्ना र मासिक शुल्कका कारण उच्च शिक्षा निरन्तरता दिन कठिन थियो तर वडा कार्यालयले भर्ना शुल्कदेखि मासिक शुल्कसम्म बेहोर्न थालेपछि उहाँलाई अध्ययन सहज भएको छ । उहाँले भन्नुभयो, “वडाको छात्रवृत्ति नभएको भए काम गरेर पैसा जुटाउँदै पढ्नुपर्ने अवस्था थियो । अहिले क्याम्पसको शुल्कको चिन्ता छैन ।”

हस्नापुर निवासी प्रमिला केसी पनि यही कार्यक्रमबाट लाभान्वित हुनुहुन्छ । देउखुरी बहुमुखी क्याम्पसमा बिएड दोस्रो वर्ष अध्ययनरत उहाँका अनुसार घरको आर्थिक अवस्था कमजोर भएकाले उच्च शिक्षा निरन्तरता दिन कठिन थियो । वडा कार्यालयले शुल्क व्यवस्थापन गरिदिएपछि ढुक्क भएर पढ्न पाएको उहाँको भनाइ छ । वडाध्यक्ष मोहन गिरीका अनुसार वडाले हाल स्नातक तहमा ७७ र प्राविधिक शिक्षामा २६ गरी १०३ विद्यार्थीलाई छात्रवृत्तिमा अध्ययन गराइरहेको छ । स्नातकतर्फ देउखुरी बहुमुखी क्याम्पसमा शिक्षा सङ्कायका ५० र व्यवस्थापन सङ्कायतर्फ बिबिएसका २७ जना विद्यार्थी अध्ययनरत छन् । प्राविधिक शिक्षातर्फ आदर्श नमुना माध्यमिक विद्यालय, देउपुरमा सब ओभरसियरतर्फ ११, बाल जनता माध्यमिक विद्यालय, वनगाउँमा कृषि विषयमा १० तथा सूर्योदय माध्यमिक विद्यालय नर्तीमा आर्किटेक इन्जिनियरिङ विषयमा पाँच जना विद्यार्थीले निःशुल्क अध्ययन गरिरहेका छन् ।

आर्थिक वर्ष २०८०/८१ देखि सुरु गरिएको छात्रवृत्ति कार्यक्रमको पछिल्ला दिनमा झन् सफल हुँदै गएको उहाँले दाबी गर्नुभयो । देउखुरी बहुमुखी क्याम्पसका प्रमुख शिव वलीका अनुसार क्याम्पसमा लमही नगरपालिका–१, ३, ६, ७ र ८ का गरी २०६ जना विद्यार्थी विभिन्न वडाको छात्रवृत्तिमा अध्ययन गरिरहेका छन् । क्याम्पसमा भर्ना शुल्क छ हजार २५० रुपियाँ र मासिक शुल्क आठ सय रुपियाँ लाग्ने गरेको छ । वडा नं. ७ ले चालु आवमा छात्रवृत्ति कार्यक्रमका लागि २२ लाख रुपियाँ विनियोजन गरेको जनाएको छ ।

प्रतिक्रिया