धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशभित्र गुणस्तरीय शिक्षा सुधारका लागि अबदेखि समानुपातिक र आवश्यकताका आधारमा बजेट विनियोजन गरिने घोषणा गर्नुभएको छ। कैलालीको धनगढीमा आयोजित प्रदेशस्तरीय विद्यालय दिवा खाजा सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले विद्यालयको भौतिक पूर्वाधार विकाससँगै आधुनिक प्रविधिको प्रयोगमार्फत शिक्षाको गुणस्तर अभिवृद्धिमा जोड दिनुपर्ने बताउनुभयो। सरकारले अभिभावकको सहजता र विद्यार्थीहरूलाई पोषणयुक्त खाजासहित प्रभावकारी शिक्षा प्रदान गर्न अगाडि सारेका योजनाहरूमा सबै सरोकारवालाहरूको सामूहिक जिम्मेवारी र साथ आवश्यक रहेको उहाँको भनाइ थियो।
विद्यालयमा अध्ययनरत बालबालिकाको पोषण र शिक्षालाई सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिँदै मुख्यमन्त्री भट्टले भोको पेटले पहिले खाना खोज्ने भएकाले दिवा खाजा कार्यक्रमलाई थप व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउनुपर्ने स्पष्ट पार्नुभयो। विगतमा शिक्षा क्षेत्रमा बजेटको असमान वितरणका कारण समानुपातिक विकास हुन नसकेको उल्लेख गर्दै उहाँले कतै आवश्यकताभन्दा बढी भौतिक संरचना निर्माण हुने तर कतिपय विद्यालयमा आधारभूत पूर्वाधारको समेत अभाव हुने अवस्थाको अन्त्य गर्न वर्तमान सरकारले औचित्यका आधारमा बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाउनुभयो। साथै प्रदेशमा विकास बजेटको प्रभावकारी कार्यान्वयन र सुशासन कायम गर्न सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण रहने भन्दै उहाँले सरकारका कामकारबाहीमा निरन्तर खबरदारी गर्न सञ्चारकर्मीहरूलाई आग्रहसमेत गर्नुभयो।






