एकपक्षीय पत्रकारिता र मिडिया ट्रायल रोक्न ECAN को प्रेस काउन्सिललाई अपिल: विद्यार्थीको हित संरक्षण र सञ्चार मर्यादा जोगाउन माग
शिक्षाखबर डेस्क
१६ कार्तिक २०८३, आईतवार
no immg

काठमाडौँ । नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले वैदेशिक अध्ययनका लागि जापान पुगेर फर्किने अवस्थामा पुगेका एक नेपाली विद्यार्थी र शैक्षिक परामर्श संस्थाबिचको विवादलाई लिएर सञ्चार माध्यमहरूबाट भइरहेको एकपक्षीय समाचार सम्प्रेषण तथा ‘मिडिया ट्रायल’ प्रति गम्भीर आपत्ति जनाउँदै प्रेस काउन्सिल नेपालसमक्ष निष्पक्ष अध्ययन र अनुगमनका लागि औपचारिक अपिल गरेको छ। ECAN का महासचिव भवनाथ हुमागाईँद्वारा जारी विज्ञप्तिमा कुनै एक विद्यार्थी र परामर्श संस्थाबिचको विवादलाई केवल उनीहरूबिचको व्यक्तिगत विषयमा सीमित नराखी अन्तर्राष्ट्रिय शिक्षा परामर्श क्षेत्रको विश्वसनीयता, विद्यार्थी संरक्षण, सञ्चार माध्यमको व्यावसायिक उत्तरदायित्व र संस्थागत न्यायको समग्र अभ्यासका रूपमा लिनुपर्ने स्पष्ट पारिएको छ।

परामर्श संस्थाबाट गलत सूचना, अनुचित आर्थिक व्यवहार वा सेवामा लापरवाही भोग्नुपरेको दाबी गर्ने विद्यार्थीको गुनासोलाई गम्भीरताका साथ लिएर निष्पक्ष छानबिन गरिनुपर्ने र दोषी देखिएका पक्षले कानुन अनुसार जबाफदेहिता वहन गर्नुपर्नेमा संघले आफ्नो दृढ प्रतिबद्धता जनाएको छ। तर, कुनै आरोप लाग्दैमा अनुसन्धान र प्रमाणको प्रतीक्षा नै नगरी सञ्चार माध्यमले नै दोषी निर्धारण गर्ने, परामर्श संस्थाको कार्यालयभित्र प्रवेश गरी कर्मचारीहरूलाई दबाबमा पार्ने, सहमतिबिना श्रव्यदृश्य रेकर्ड गर्ने र एकपक्षीय रूपमा संस्थागत प्रतिष्ठामा आघात पुर्‍याउने कार्यशैली पत्रकारिताको व्यावसायिक मानक हुन नसक्ने विज्ञप्तिमा औँल्याइएको छ। सञ्चार माध्यमलाई खोज र अनुसन्धान गर्ने पूर्ण अधिकार भए तापनि त्यो अधिकार कानुनी सीमा, तथ्य, प्रमाण र मानवीय मर्यादाको दायराभित्र हुनुपर्ने ECAN को ठम्याइ छ।

यसै विषयलाई लिएर ECAN ले प्रेस काउन्सिल नेपालसमक्ष छ बुँदे संस्थागत अपिल प्रस्तुत गर्दै जापानबाट फर्किएका विद्यार्थीसँग सम्बन्धित प्रसारित समाचार र दृश्य सामग्रीको पत्रकार आचारसंहिता अनुसार स्वतन्त्र समीक्षा गर्न माग गरेको छ। साथै, समाचारमा प्रस्तुत आरोपको स्रोत, प्रमाण, सम्बन्धित पक्षको प्रतिक्रियाको उपस्थिति, समाचार सङ्कलनका क्रममा कार्यालयको मर्यादा र कर्मचारीको व्यक्तिगत गोपनीयताको सम्मान भए-नभएको अनुसन्धान गर्न आग्रह गरिएको छ। समाचारमा विद्यार्थीको पहिचान र संवेदनशीलताको संरक्षण गरिनुपर्ने, तथ्यहीन वा अपुष्ट दाबी पाइएमा भुलसुधार वा खण्डन प्रकाशनको पहल गरिनुपर्ने र आचारसंहिता उल्लङ्घन पुष्टि भएमा नियमानुसार कारबाही हुनुपर्ने माग समेत संघले राखेको छ। कुनै पूर्वाग्रह वा मिडिया ट्रायल नगरी निष्पक्ष छानबिन, विद्यार्थीको न्याय र परामर्श व्यवसायको मर्यादा रक्षाका लागि राज्यका नियामक निकायहरूलाई कानुनी भूमिका प्रभावकारी बनाउन ECAN ले आह्वान गरेको छ।
2

प्रतिक्रिया
सम्बन्धित खबर