कपिलवस्तुको शिवराज अस्पतालमा टेलिमेडिसिन सेवा सुरु
शिक्षाखबर डेस्क
१६ कार्तिक २०८३, आईतवार
no immg

कपिलवस्तु । विशेषज्ञ चिकित्सकसँग परामर्श लिन टाढाका ठुला अस्पतालहरूसम्म धाउनुपर्ने सास्ती र बाध्यतालाई अन्त्य गर्ने उद्देश्यसहित कपिलवस्तुको कृष्णनगरस्थित शिवराज अस्पतालमा पहिलो पटक टेलिमेडिसिन सेवा सुरु गरिएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको प्राविधिक तथा विशेषज्ञ सहकार्यमा सञ्चालनमा ल्याइएको यस सेवाले स्थानीय बिरामीहरूलाई आफ्नै अस्पतालमा बसेर सहज रूपमा उपचार प्राप्त गर्न ठुलो राहत पुर्‍याउने अपेक्षा गरिएको छ। टेलिमेडिसिन सेवाको सुरुवातसँगै अब बिरामीहरूले अस्पतालको बहिरङ्ग (ओपीडी) कक्ष वा घरमै बसेर प्रत्यक्ष भिडियो कलमार्फत विभिन्न विधाका कन्सल्टेन्ट विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिन, आवश्यक स्वास्थ्य जाँच गराउन तथा उपचार र औषधिसम्बन्धी सिफारिस प्राप्त गर्न सक्नेछन्।

सेवाको पहिलो दिन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कन्सल्टेन्ट फिजिसियन डा. सञ्जय पौडेलले भिडियो प्रविधिमार्फत बिरामीलाई पहिलो प्रत्यक्ष विशेषज्ञ परामर्श प्रदान गर्नुभएको छ। शिवराज अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अभिषेक मिश्राका अनुसार अस्पतालको विशेष अनुरोधमा प्रतिष्ठानसँग समन्वय गरी यो आधुनिक प्रविधिमा आधारित सेवा सञ्चालनमा ल्याइएको हो। यस प्रक्रियाअन्तर्गत शिवराज अस्पतालमा कार्यरत चिकित्सकहरूले बिरामीको स्वास्थ्य अवस्था, लक्षण र परीक्षण प्रतिवेदनहरूबारे प्रतिष्ठानका विशेषज्ञ चिकित्सकहरूलाई प्रविधिमार्फत जानकारी गराउनेछन् भने सोही आधारमा विशेषज्ञहरूले मूल्याङ्कन गरी थप जाँच, प्रेषण तथा औषधिको सिफारिस गर्ने व्यवस्था मिलाइएको छ। कृष्णनगर नगरपालिकाका प्रमुख रजत प्रताप शाहले अस्पतालसम्म आउन असमर्थ बिरामीहरूका लागि यो सेवा झनै वरदान साबित हुने बताउनुभयो।

टेलिमेडिसिन सेवाको प्रभावकारी सञ्चालनका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. सुरेश रसाइली, सहायक निर्देशक डा. निरोज खनाल, कन्सल्टेन्ट फिजिसियन डा. पौडेल, टेलिमेडिसिन फोकल पर्सन डा. द्रोणाचार्य घिमिरे, प्रशासकीय अधिकृत शालिकराम कालाथोकी तथा प्रतिष्ठानको सूचना प्रविधि टोलीले सहकार्य गरेका छन्। शिवराज अस्पतालका तर्फबाट मेसु डा. मिश्रा र प्रशासन प्रमुख तथा मेडिकल अफिसर डा. दुर्गेशलाल चौधरीले संयोजन गर्नुभएको छ। विशेषज्ञ चिकित्सकहरूको प्रत्यक्ष उपस्थिति तत्काल सम्भव नहुने क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग गरी स्थानीयस्तरमै विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने शिवराज अस्पतालको यो कदमलाई स्थानीय तहमा निकै सकारात्मक रूपमा हेरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर