गुणी हात, चामत्कारिक बचाउ: बझाङको भीरबाटोमा गुड्दै गरेको गाडीभित्र अनमी प्रमिलाले कसरी बचाइन आमा र शिशुको ज्यान?
शिक्षाखबर डेस्क
१५ भाद्र २०८३, सोमबार
no immg

बझाङ । बझाङको बुङ्गल नगरपालिका–३ भानपालीकी २६ वर्षीया विनिता बोहराका लागि शनिबार साँझ जीवन र मृत्युको दोसाँध बनेर आयो। प्रसूतिका लागि खिरातडी स्वास्थ्य चौकीतर्फ लैजाँदै गर्दा भीरको उकालोमा प्रसव व्यथा तीव्र बन्यो र शिशुको काँध अड्किएर आमा र पेटभित्रको बच्चा दुवैको सातो जाने स्थिति सिर्जना भयो। स्वास्थ्य संस्था पुग्न समय लाग्ने र गाडीभित्रै आमा छटपटाउन थालेपछि आफन्तहरूले हतार-हतार खिरातडी स्वास्थ्य चौकीमा कार्यरत वरिष्ठ अनमी प्रमिला कुमारी बोहरालाई खबर गरे। सूचना पाउनासाथ आफ्नो सुरक्षाको परवाह नगरी घटनास्थल दौडिनुभएकी अनमी बोहरा दुर्गमको स्वास्थ्य क्षेत्रमा कसरी एउटा स्वास्थ्यकर्मी ‘नायक’ बन्न सक्छ भन्ने प्रतिमूर्ति बन्नुभएको छ।

सीमित स्रोत-साधनका बिच गाडीको साँघुरो सिटलाई नै आपत्कालीन प्रसूति कक्ष बनाउँदै अनमी बोहराले अद्भूत कौशल प्रदर्शन गर्नुभयो। काँध अड्किएको जटिल अवस्थालाई आफ्नो अनुभव र उच्च मनोबलका आधारमा सम्हाल्दै उहाँले ३.३ किलोग्राम तौलकी नवजात छोरीलाई सुरक्षित रूपमा जन्म दिलाउनुभयो। जन्मिने बित्तिकै शिशु केही समय निसासिएर नीलो भएपछि आमा र आफन्तको होस उडेको थियो, तर अनमी बोहराले सेकेन्डभरको पनि ढिलाइ नगरी तत्काल आपत्कालीन पुनरुत्थान प्रक्रिया सुरु गरेर शिशुको सासमा पुनः जीवन फुकिदिनुभयो।

दुर्गम पहाडी भूगोलमा न त विशेषज्ञ चिकित्सक थिए, न त अत्याधुनिक उपकरण नै। यस्तो विकट परिस्थितिमा अनमी प्रमिला बोहराको तत्काल निर्णय क्षमता, साहस र सीप नै दुई वटा अमूल्य जीवन बचाउने मुख्य आधार बन्यो। हाल आमा र नवजात शिशु दुवैको स्वास्थ्य सामान्य रहेको छ। आफ्नो ज्यानको परवाह नगरी भीरबाटोमै पुगेर आमा र बच्चाको ज्यान जोगाउने अनमी बोहराको यो अनुकरणीय समर्पणको यतिबेला बझाङभरि उच्च प्रशंसा भइरहेको छ।

प्रतिक्रिया
सम्बन्धित खबर