बाँके । बाँकेका स्थानीय तहहरूमा १५ शय्याका आधारभूत अस्पतालका भवनहरू धमाधम निर्माण भइरहे पनि आवश्यक जनशक्ति, उपकरण, औषधी र सञ्चालन खर्चको व्यवस्थापन हुन नसक्दा अस्पताल सञ्चालनमा गम्भीर चुनौती देखिएको छ। सङ्घीय सरकारको नीति तथा कार्यक्रम अनुसार स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले जिल्लाका अधिकांश पालिकामा १५ शय्याका अस्पताल निर्माण अघि बढाइएको थियो। केही पालिकामा भवन निर्माण सम्पन्न भइसकेका छन् भने केहीमा निर्माण अन्तिम चरणमा पुगेका छन्। तर, भवन तयार भएपछि अस्पताल सञ्चालनको दायित्व स्थानीय तहकै काँधमा पर्ने भएकाले आर्थिक स्रोत र जनशक्तिको अभाव मुख्य समस्या बनेको स्थानीय जनप्रतिनिधिहरूको भनाइ छ।
जानकी गाउँपालिकाले १५ शय्याको आधारभूत अस्पताल भवन निर्माण सम्पन्न गरिसकेको छ। यद्यपि अस्पताल सञ्चालनका लागि आवश्यक चिकित्सक, स्वास्थ्यकर्मी, उपकरण र बजेटको व्यवस्था हुन नसकेको गाउँपालिकाका अध्यक्ष छब्बन खाँले बताउनुभयो। सङ्घीय सरकारसँग बजेट माग गरिएको र बजेट नआए गाउँपालिका आफ्नै स्रोतले अस्पताल चलाउन सक्ने स्थितिमा नरहेको उहाँको भनाइ छ। यस्तै भारतीय सीमासँग जोडिएको नरैनापुर गाउँपालिकामा पनि १५ शय्याको अस्पताल भवन तयार भइसकेको छ, तर जनशक्ति र उपकरणको अभावमा सेवा सुरु हुन सकेको छैन। गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहका अनुसार पालिकाको वार्षिक आन्तरिक आम्दानी करिब ४० लाख रुपियाँ मात्र रहेको र अस्पताल सञ्चालनमा वार्षिक दुईदेखि तीन करोड रुपियाँसम्म खर्च हुने भएकाले सङ्घ र प्रदेश सरकारसँग जनशक्ति तथा उपकरण व्यवस्थापनका लागि आग्रह गरिएको छ।
यसैगरी राप्तीसोनारी गाउँपालिकामा पनि नयाँ अस्पताल भवन तयार भइसकेको छ। सञ्चालन खर्च धान्न स्थानीय आन्तरिक स्रोत पर्याप्त नभएपछि सहयोगका लागि दातृ निकायहरूसँग पहल भइरहेको गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले जानकारी दिनुभयो। सुविधासम्पन्न भवनहरू बने पनि सरकारले आवश्यक दरबन्दी र बजेट समयमै उपलब्ध नगराउँदा स्थानीय नागरिकहरू आधारभूत स्वास्थ्य सेवा पाउनबाट वञ्चित भइरहेका छन्।






