बैतडीमा स्वास्थ्य परीक्षण गरिएकामध्ये एक हजार ४१० जनामा उच्च रक्तचाप
शिक्षाखबर डेस्क
३० असार २०८३, मंगलवार
no immg

बैतडी / बैतडीमा सञ्चालन गरिएको स्वास्थ्य परीक्षण अभियानमा सहभागीमध्ये सबैभन्दा धेरैमा उच्च रक्तचाप (हाइपरटेन्सन) समस्या देखिएको छ ।

चालु आर्थिक वर्षमा १३ हजार ५३१ जनाको स्वास्थ्य परीक्षण गर्दा एक हजार ४१० जनामा उच्च रक्तचाप पुष्टि भएपछि उपचार सुरु गरिएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

स्वास्थ्य कार्यालयले सञ्चारकर्मीसँग आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सार्वजनिक गरिएको विवरण अनुसार परीक्षण गरिएकामध्ये आठ हजार १८४ जना महिला र पाँच हजार ३४७ जना पुरुष रहेका छन् ।

परीक्षणका क्रममा ८२९ जनामा मोटोपन (ओबेसिटी), ५२७ जनामा मधुमेह (डायबिटिज) तथा ९७ जनामा मिर्गौला रोगसमेत पहिचान भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिनुभयो ।

गम्भिर प्रकृतिका स्वास्थ्य समस्या देखिएका ५०९ जनालाई थप उपचारका लागि रिफर गरिएको छ भने विभिन्न रोग पहिचान भएका एक हजार २३० जनाले उपचार सेवा प्राप्त गरेका उहाँले बताउनुभयो ।

अन्तर्क्रिया कार्यक्रममा बाल पोषणको अवस्थाबारे पनि जानकारी दिइएको थियो ।गत आर्थिक वर्षमा ६ महिनादेखि ५ वर्ष उमेर समूहका १० हजार १०३ बालबालिकाको कुपोषण परीक्षण गर्दा ११३ जनामा कडा र ५१६ जनामा मध्यम खालको कुपोषण भेटिएको स्वास्थ्य कार्यालयका प्रमुख तीर्थराज भट्टले जानकारी दिनुभयो ।

कुपोषित बालबालिकालाई आवश्यक पोषण तथा उपचार सेवाको पहुँचमा ल्याउने काम भइरहेको उहाँको भनाइ छ ।जिल्लामा स्थानीय तह, स्वास्थ्य संस्था तथा सरोकारवालासँग समन्वय गरी स्वास्थ्य सेवा प्रभावकारी बनाउने प्रयास भइरहेको उल्लेख गर्दै प्रमुख भट्टले स्वास्थ्यका सूचकमा सुधारसँगै नागरिकले सहज, गुणस्तरीय र प्रभावकारी सेवा पाउने सुनिश्चितता कार्यालयको प्राथमिकतामा रहेको बताउनुभयो ।

सञ्चार माध्यमसँगको सहकार्यले स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्न र सही सूचना समुदायसम्म पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वाससमेत उहाँले व्यक्त गर्नुभयो ।

प्रतिक्रिया