छ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ उपकुलपति नियुक्त
शिक्षाखबर डेस्क
२५ असार २०८३, बिहीबार
no immg

काठमाडौं / स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत सञ्चालित छ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ उपकुलपति नियुक्त भएका छन्। प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति बालेन्द्र शाहले उपकुलपति छनोट तथा सिफारिस समितिको सिफारिसका आधारमा बिहीबार नियुक्ति गरेका छन्।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा डा. विवेक आचार्य, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. नविसमान सिंह प्रधान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. स्मृति कार्की, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. नारायणसिंह गुरुङ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. सूर्यमान म्याहाङम्बो तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. अजयकुमार मिश्र उपकुलपतिमा नियुक्त भएका छन्।

सरकारले यसपटक उपकुलपति नियुक्तिका लागि ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि, २०८३’ लागू गर्दै खुला, प्रतिस्पर्धात्मक र पारदर्शी प्रक्रिया अवलम्बन गरेको जनाएको छ।

गत जेठ ४ गते आह्वान गरिएको आवेदनमा देशभरबाट ११३ जनाको आवेदन परेको थियो। आवेदन दिएका उम्मेदवारहरूको शैक्षिक योग्यता, अनुभव, कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताका आधारमा छनोट समितिले प्रत्येक प्रतिष्ठानका लागि सात जनाका दरले ४२ जनाको प्रारम्भिक सूची तयार पारेको थियो।

उक्त सूचीबाट उत्कृष्ट ठहरिएका उम्मेदवारलाई सम्बन्धित प्रतिष्ठानको नेतृत्वको जिम्मेवारी दिइएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार नयाँ उपकुलपतिहरूको नेतृत्वमा स्वास्थ्य शिक्षा, अनुसन्धान तथा विशेषज्ञ स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया