काठमाडौँ / जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको बलियो सम्भावना रहेको जनाउँदै आम नागरिक तथा सरोकारवाला निकायहरूलाई आवश्यक सतर्कता अपनाउन विशेष आग्रह गरेको छ। विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार हाल देशैभर मनसुनी वायुको प्रभाव पूर्ण रूपमा सक्रिय रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा केही माथि नेपालको तराई आसपास तथा पूर्वतर्फ सरदर स्थानकै आसपासमा अवस्थित रहेकाले आगामी तीन दिनसम्म देशका धेरैजसो स्थानमा उल्लेख्य वर्षा हुने सम्भावना देखिएको हो। आज विशेष गरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका थोरै स्थानहरूमा भारी वर्षा तथा एक–दुई स्थानमा धेरै भारी वर्षा हुने प्रक्षेपण विभागले गरेको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशका पनि एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सम्भावित मुसलधारे वर्षाका कारण पहाडी भेगमा गेग्रान बहाव, बाढी, पहिरो तथा तीव्र भूक्षयको जोखिम निकै बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्र र पहिरोको जोखिम भएका प्रभावित क्षेत्रका बासिन्दाहरूले विशेष सावधानी अपनाउनु पर्नेछ। यस प्राकृतिक प्राकृतिक जोखिमका कारण नागरिकको दैनिक जनजीवन, कृषि कार्य, जनस्वास्थ्य, पर्यटन, पर्वतारोहणका साथै सडक तथा हवाई यातायात सेवामा समेत गम्भीर असर पर्न सक्ने भएकाले यात्रामा निस्कनु अघि वा दैनिक कार्यतालिका बनाउँदा विभागद्वारा जारी गरिने पछिल्ला मौसमसम्बन्धी सूचनाहरू नियमित रूपमा पछ्याउन अनुरोध गरिएको छ। आज दिउँसोको समयमा देशभर सामान्यदेखि पूर्ण रूपमा बदली रहनेछ भने देशका अधिकांश पहाडी तथा तराई भूभागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै हिमाली क्षेत्रमा वर्षासँगै केही उच्च स्थानहरूमा हिमपातसमेत हुन सक्ने मौसमविद् अधिकारीले जानकारी दिनुभएको छ।
आज रातिको समयमा पनि देशभरको मौसमी अवस्थामा खासै सुधार नआउने र अधिकांश स्थानमा बदली रही पहाडी तथा तराई भूभागका धेरैजसो ठाउँहरूमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना यथावत् रहेको छ। विशेष गरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा रातिको समयमा धेरै भारीदेखि अति भारी वर्षासम्म हुन सक्ने खतरा औंल्याइएको छ। रातिको समयमा आउने बाढी र पहिरोले बढी क्षति पुर्याउने भएकाले ती क्षेत्रका नागरिकहरूलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन विभागले विशेष अनुरोध गरेको छ।






