सप्तरी र कैलालीमा जापानिज इन्सेफ्लाइटिसबाट चार जनाको मृत्यु: तराईमा सङ्क्रमण बढेपछि जनचेतना र सतर्कता तीव्र
शिक्षाखबर डेस्क
५ भाद्र २०८३, शुक्रबार
no immg

काठमाडौँ । तराईका जिल्लाहरूमा कीटजन्य कडा सङ्क्रमण ‘जापानिज इन्सेफ्लाइटिस’ (जेइ) को जोखिम बढ्दै जाँदा सप्तरी र कैलालीमा गरी चार जनाको मृत्यु भएको छ। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ का ७४ वर्षीय सत्यनारायण यादव र राजगढ गाउँपालिका–३ का १४ वर्षीय शिवकुमार रामको उपचारका क्रममा गत साउन २१ गते मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत शतिश यादवले जानकारी दिनुभयो। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र गोल्डेन हस्पिटल विराटनगरमा उपचारका क्रममा उहाँहरूको मृत्यु भएको हो। सप्तरीमा थप तीन जनामा सङ्क्रमण पुष्टि भए पनि उनीहरू उपचारपछि निको भएर घर फर्किसकेका छन्।

यसैगरी कैलालीको घोडाघोडी नगरपालिकामा पनि जापनिज इन्सेफ्लाइटिसका कारण दुई जना महिलाको मृत्यु भएको छ। घोडाघोडी नगरपालिकाका सिनियर अहेब मानबहादुर बोहराका अनुसार वडा नं. ४ र ९ निवासी ३४ र ७० वर्षीया दुई महिलाको उपचारका क्रममा ज्यान गएको हो। घोडाघोडीमा पछिल्लो तीन वर्षयता लगातार यो सङ्क्रमण देखिँदै आएको छ। क्युलेक्स जातको पोथी लामखुट्टेले सङ्क्रमित सुँगुर वा बङ्गुरलाई टोकेपछि मानिसलाई टोक्दा यो भाइरस सर्ने भएकाले घरवरिपरि सरसफाइ राख्न र लामखुट्टेको टोकाइबाट बच्न स्वास्थ्यकर्मीहरूले आग्रह गरेका छन्।

सङ्क्रमणबाट मानवीय क्षति भएपछि घोडाघोडी नगरपालिकाको स्वास्थ्य शाखाले आकस्मिक बैठक डाकेर नगरका १३ वटै स्वास्थ्य संस्था र ८४ वटा आमा समूहलाई परिचालन गरी समुदायस्तरमा सचेतना फैलाउने निर्णय गरेको छ। अत्यधिक ज्वरो आउने र बेहोस हुने जस्ता लक्षण देखिएमा बिरामीलाई तत्काल नजिकैको स्वास्थ्य संस्थामा पुर्‍याउन, साँझपख घरबाहिर ननिस्कन, लामो बाहुला भएका लुगा लगाउन र अनिवार्य रूपमा झुलको प्रयोग गर्न स्वास्थ्य अधिकृतहरूले अनुरोध गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित खबर