तनहुँका फाँटहरूमा धानबालीमा गवारो र ‘सेत्ते’ किराको प्रकोप: नियन्त्रणका लागि खेतमै पुगे प्राविधिक
शिक्षाखबर डेस्क
९ भाद्र २०८३, मंगलवार
no immg

तनहुँ । तनहुँका मुख्य कृषि फाँटहरूमा लगाइएको धानबालीमा किराको प्रकोप फैलिएपछि स्थानीय किसानहरू चिन्तामा परेका छन्। जिल्लाको व्यास नगरपालिका, म्याग्दे गाउँपालिका, भिमाद नगरपालिका तथा शुक्लागण्डकी नगरपालिकाका विभिन्न क्षेत्रमा लगाइएको धानबालीमा एकाएक गवारो किराले बोट काट्ने र स्थानीय भाषामा ‘सेत्ते’ भनिने काँडेदार खपटे किराले पात चुसेर क्षति पुर्‍याउन थालेका हुन्। यसका साथै धानमा पोटास मल तथा जिंक (सूक्ष्म खाद्यतत्त्व) को कमी हुनुका साथै केही क्षेत्रमा मरुवा रोगका लक्षणहरूसमेत देखा परेको कृषि विकास कार्यालय तनहुँले जनाएको छ।

धानबालीमा प्रकोप फैलिएपछि कृषि विकास कार्यालय तनहुँले तत्काल प्राविधिक कार्यदल गठन गरी किसानकै खेतमा परिचालन गरेको छ। ‘समस्याग्रस्त क्षेत्रमा प्राविधिक कार्यदल अनुगमन तथा पृष्ठपोषण कार्यक्रम’अन्तर्गत प्राविधिकहरू प्रत्यक्ष खेतमै पुगेर रोग तथा किराको प्रकृति पहिचान गरी नियन्त्रणको प्रयासमा जुटेका हुन्। कृषि विकास कार्यालय तनहुँका प्रमुख परशुराम अधिकारीका अनुसार किसानहरूले भोगेको यो समस्यालाई तत्काल समाधान गरी बाली जोगाउन प्राविधिक टोलीलाई खेत-खेतमै खटाइएको हो।

स्थलगत अनुगमनका क्रममा सूचना अधिकारी तथा बाली संरक्षण अधिकृत किरण परियारसहितको टोलीले किसानहरूलाई किरा नियन्त्रणका लागि विषादीको सही मात्रा, प्रयोग विधि, सन्तुलित मलखाद र सूक्ष्म तत्त्वको आपूर्तिबारे व्यावहारिक परामर्श दिएको छ। कार्यालयले धानबालीमा थप समस्या देखिएमा वा प्राविधिक सहयोग आवश्यक परेमा नजिकैको स्थानीय तहका कृषि शाखा वा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गर्न किसानहरूलाई अनुरोध गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खबर
भर्खरै