सुनसरी / सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा दुई समूहबिच भएको violent झडप नियन्त्रणमा लिने क्रममा गोली लागेर एक जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालयले प्रभावित पाँच वटा बजार क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा (कर्फ्यु) जारी गरेको छ। स्थिति नियन्त्रण बाहिर जान नदिन सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम सोमबार बिहान ७ बजेदेखि अर्को सूचना नभएसम्मका लागि तोकिएका क्षेत्रमा चार जनाभन्दा बढी भेला हुन, जुलुस, प्रदर्शन, सभा र धर्ना गर्न पूर्ण प्रतिबन्ध लगाउनुभएको छ। निषेधाज्ञा उल्लङ्घन गर्नेलाई कानुनबमोजिम एक हजार रुपियाँसम्म जरिवाना वा एक महिनासम्म कैद वा दुवै सजाय हुने प्रशासनले चेतावनी दिएको छ।
प्रशासनले हरिनगर बजार, भुटाहा बजार, कप्तानगञ्ज बजार, घुस्की बजार र देवानगञ्ज बजार क्षेत्रलाई अशान्त घोषित गर्दै चारै किल्ला सीमा तोकेर निषेधाज्ञा लागू गरेको हो। आइतबार राति दुई पक्षबिच भएको तनावग्रस्त स्थितिमा देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको गोली लागेर मृत्यु भएको थियो भने झडपका क्रममा ८ जना प्रदर्शनकारी र २४ जनाभन्दा बढी सुरक्षाकर्मी घाइते भएका छन्। सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी शैलेन्द्र थापाका अनुसार घटना नियन्त्रणका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैतर्फबाट गोली चलेको भए पनि मेहताको मृत्यु कसको गोलीबाट भएको हो भन्नेबारे अनुसन्धानपछि मात्र पुष्टि हुनेछ।






