काठमाडौं ३० असार / कक्षा १ मा पढ्ने सोनाम तामाङ दिनहुँ हिँडेर विद्यालय पुग्छन् । ६ वर्षीय सोनामलाई गोकर्णेश्वर महादेव मन्दिरबाट स्कुल पुग्न डेढ घण्टा लाग्छ । फर्किन त्यति नै समय लाग्छ । दिनमा तीन घण्टा हिँडेर सुन्ताखानको भीमदेव आधारभूत स्कुल पुग्छन् उनी । उनका दुई दिदी पनि हिँडेरै स्कुल जान्छन् । ८ वर्षीया दिदी पूजा कक्षा ३ मा पढछिन्, १२ वर्षीया जेठी दिदी सुन्तली ४ मा पढछिन् ।
नुवाकोट हो उनीहरूको पुख्र्यौली घर । उनका बुबा प्रेम तामाङ बालुवा बोक्ने काम गर्छन् । आमा शान्तिले पनि बुबाको कामलाई सघाउँछिन् । उनीहरू यति टाढा स्कुल आउनुको कारण, स्कुलमा पाइने पोसाक, खाजालगायतका सुविधा हो । स्कुलमा सुविधा छ तर जान टाढा छ । ‘आरुबारीदेखि पनि विद्यार्थी आउँछन्,’ स्कुलकी प्रधानाध्यापक सीतामाया योन्जनले भनिन्, ‘तर यातायातको सुविधा नहुँदा हिँडेरै आउनुपर्ने बाध्यता छ ।’
बाटोको ट्रयाक खुलेको वर्षाैं बितेको छ । तैपनि अझै पिच भएको छैन । बाटो पिच नहुँदा विद्यार्थी हिँडेरै स्कुल आउँछन् । गत वर्ष बाटो पिच गर्न सम्झौता भयो । साढे ३ किमि बाटो यही वर्ष सम्पन्न गरिसक्नुपर्ने सम्झौता छ । तर बाटो जम्मा १८ सय मिटर मात्रै बनेको छ । ‘बस्तीको पल्लो छेउ भएकाले पनि यहाँ कसैको आँखा पुगेन,’ गोकर्णेश्वर २ का वडाध्यक्ष उद्धव भण्डारी भन्छन्, ‘२०३७ सालमा ट्रयाक खुलेको बाटो बल्ल यो वर्ष पिच हुँदै छ । त्यो पनि ठेकेदारले काम छिटो नगरेकाले कहिले सम्पन्न हुने हो, ठेगान छैन ।’ यो बस्ती काठमाडौं उपत्यकाको अन्तिम बस्ती हो । यहाँबाट उत्तरतिर शिवपुरी राष्ट्रिय निकुञ्ज सुरु हुन्छ ।’
बाटो बनिदिएको भए विद्यार्थीले यस्तो सास्ती खेप्नुपर्ने थिएन । बर्खामा हिलोले हिँडिनसक्नु छ । हिँडडुल गर्न वैकल्पिक बाटो प्रयोग गर्नुपरेको भण्डारी बताउँछन् । बाटो बनिदिए रुटको गाडी चल्थे । ‘रुटको गाडी नियमित चल्यो भने विद्यार्थीलाई सुविधा हुन्थ्यो,’ उनी भन्छन्, ‘साना नानीबाबुहरूले दिनमा तीन घण्टा हिँड्नुपर्छ । स्कुल आउजाउ गर्दा थाक्छन् । अनि तिनीहरूको पढाइ कसरी राम्रो हुनु ?’
स्कुल जानेलाई मात्रै होइन, माथिल्लो कक्षामा पढ्ने विद्यार्थीलाई पनि समस्या भएको छ यो बाटोले गर्दा । सुस्मिता गिरी क्याम्पस जान हरेक दिन डेढ घण्टा हिँडछिन् । सुन्ताखानबाट हिँडेर गोकर्णसम्म आउँछिन् । त्यहाँबाट बस चढेर सुकेधारा जानुपर्छ । बीबीएस तेस्रो वर्ष पढ्ने उनी क्याम्पस जाने तयारी गर्न बिहान साढे ३ बजे नै उठ्नुपर्ने बताउँछिन् । ‘कलेज जाँदा गाडी चल्दैन,’ उनी भन्छिन्, ‘बाटो राम्रो भएका बेला बिहान गाडी आउँथ्यो । बाटो बिग्रेकाले साह्रै दु:ख पाइएको छ ।’ उनी जस्ता थुप्रै छन् यहाँबाट हिँडेरै कलेज आउजाउ गर्ने । विद्यालयमा पढ्ने सबैजसो मजदुर वा श्रमिक परिवारका हुन् । अरू सामुदायिकमा विद्यार्थी घटिरहेका बेला यहाँचाहिँ विद्यार्थी बढेका छन् । ‘अनेक गरेर बढाएका छौं,’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीकृष्ण ज्योति भन्छन्, ‘कुनै बेला कपी दिने अभियान चलाउँछौं । कहिले पोसाकको अभियान चलाउँछौं । कुनै बेला खाजाको अभियान चलाइएको छ । यति कुनामा यत्रो विद्यार्थी भेला गर्न सानो मेहनत लाग्दैन ।’
विद्यालयमा १ सय १५ विद्यार्थी भर्ना भएका छन् । श्रमिक परिवार डेरा सर्ने भइराखेकाले विद्यार्थीको संख्यामा पनि घटबढ भइरहने प्रधानाध्यापक तामाङले बताइन् । भर्ना भएका सबै विद्यार्थी विद्यालयमा छैनन् । ‘स्कुल आउने विद्यार्थी संख्या ८० हाराहारीमा झरिसक्यो,’ उनी भन्छिन्, ‘विद्यार्थी भर्ना हुन्छन् तर टिकाउनै मुस्किल छ । यसपटक पनि ११ जना घर गएका छन् ।
तिनीहरू कहिले आउलान् भनेर पर्खेर बसेका छौं ।’ विद्यालयमा कमजोर आर्थिक हैसियत भएका बालबालिका पढ्छन् । २४ जना गोकर्णको अनाथालयबाट पढ्न आउँछन् । त्यसबाहेक अरू विद्यार्थी श्रमिक परिवारका छन् । कोही खेतीकिसानी गर्न अरूको खेतबारी जाने अभिभावक छन् । कोही बालुवाको काम गर्छन् ।
कान्तिपुरमा प्रकाशित खबर ।
प्रकाशित मिति २०७४ आषाढ़ ३० ,शुक्रबार
फिचर:-गुगल