काठमाडौं १ साउन / “पढावेवाला नेपाली टिचर मदरसा मे है ही नहीँ, इसिलिए हम लोग पढाते नहीँ पढालेते है (नेपाली पढाउने शिक्षक मदरसामा छँदै छैनन्, त्यसैले हामी पढाउनका लागि मात्र पढाइदिन्छौँ । ” बाँकेको अल जामेतुल इस्लामिया मदिनतुल बनाद बालका मदरसाका शिक्षक मोहम्मद सकिल खानको स्पष्टीकरणले मदरसामा नेपाली भाषाको अध्ययन र अध्यापनको स्तर प्रस्ट पार्छ ।

थुप्रै धर्मगुरु (मौलाना)हरू नेपाली बोल्न सक्दैनन् तर कनिकुथी नेपाली भाषा बुझ्छन् ।  उनीहरू मदरसामा नेपाली विषयको पाठ्यपुस्तकलाई हिन्दी, उर्दू वा अवधी भाषामा रूपान्तरण गरी विद्यार्थीलाई अध्यापन गराउँछन् ।  हिरमिनियाको दारुल उलुम इस्लामिया कादरिया नुरी मदरसाका मौलाना अस्फाक अली शेखले भारतको मुम्बईबाट धार्मिक शिक्षा आर्जन गर्नुभएको छ ।  उहाँले फाजिल अर्थात् एमए सरहको शिक्षा आर्जन गरे पनि शिक्षाशास्त्र विषय अध्ययन नगरी मदरसामा नेपाली विषयको अध्यापन गर्दै आउनुभएको छ ।

“नेपालीमा बोल्दा गारो हुन्छ”, हिन्दी भाषामा जवाफ दिँदै उहाँले भन्नुभयो, “गाउँका बच्चा पनि नेपाली बुझ्दैनन् ।  उनीहरूलाई अवधी भाषामा नै बुझ्न सजिलो हुन्छ ।  त्यसैले अवधीमा रूपान्तरण गरी नेपाली विषय पढाउँदै आएको छु । ” नेपाली विषयलाई अवधी भाषामा अध्यापन गरिए पनि परीक्षा नेपाली माध्यममै लिइन्छ भने विद्यार्थीले उत्तर नेपालीमै दिनुपर्ने हुन्छ ।  उहाँले विद्यार्थीको सिकाइ औसत रहेको बताउनुभयो ।

इस्लामिया मदरसा सङ्घका केन्द्रीय उपाध्यक्षसमेत रहनुभएका अल जामेतुल इस्लामिया मदिनतुल बनादका मौलाना मोहम्मद सकिलले आफू नेपाली भाषा बोल्न नसक्ने भए पनि त्यसलाई बुझेर विद्यार्थीलाई अवधी वा उर्दूमा रूपान्तरण गरी पढाउन सक्ने बताउनुभयो ।

सरकारले मदरसालाई वार्षिक एक लाख ८८ हजार रुपियाँ अनुदान दिन्छ ।  त्यति रकमले सरकारी पाठ्यक्रमका पाँच पाठ्यपुस्तक पढाउन शिक्षकको व्यवस्थापन गर्न धौधौ हुने गरेको बताउँदै उहाँले थप्नुभयो, “त्यसैले तीन हजार रुपियाँ दिने गरी शिक्षक खोज्नुपर्छ ।  त्यति रकममा हत्तपत्ती शिक्षक पाइँदैनन् ।  अनि नेपालीमा व्याख्या गर्न नसके पनि मौलाना आफैले जसोतसो नेपाली विषय अध्यापन गर्नुपर्ने हुन्छ । ”
पिपरहवास्थित जामिया चिस्तियाका मौलाना मोहम्मद सब्बिर रायले पहिले नेपाली विषय अध्यापन नहुने भएकाले सजिलो भएको तर केही वर्षदेखि नेपाली विषयको अनिवार्य अध्यापन गरिँदा समस्या परेको बताउँदै नेपाली विषयको शिक्षक व्यवस्थापनका लागि जिल्ला शिक्षा कार्यालयमा आग्रह गरे पनि आफ्नो माग पूरा नभएको बताउनुभयो ।

गनापुरको दारुल उलुम गुलसने इस्तियाकियाका मौलाना मोहम्मद अली नाउले अवधी भाषामै नेपाली विषयलाई रूपान्तरण गर्दै आएको बताउँदै भन्नुभयो, “बाँकेको मदरसामा नेपाली विषयको औसत सिकाइ उपलब्धि ६८ प्रतिशत छ । ” भाषा कमजोर हुँदा विद्यार्थीको सिकाइ उपलब्धि स्तर निकै खस्किएको अध्ययनहरूले देखाएपछि गत वर्षबाट शैक्षिक जनशक्ति विकास केन्द्रले राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम लागू गरेको छ ।  कक्षा १ देखि ३ सम्ममा नेपाली विषयको अभ्यास पुस्तिका थप गरिएको छ ।  परीक्षणका रूपमा कञ्चनपुर, बाँके, कास्की, मनाङ, भक्तपुर र सप्तरीमा लागू गरिएको छ ।

बाँकेका उपजिल्ला शिक्षा अधिकारी गोर्खबहादुर थापाले केही मदरसाले नेपाली विषयका शिक्षकको व्यवस्थापन गरेको बताउँदै भन्नुभयो, “नेपाली भाषा नै नबुझ्ने समाज पनि छ ।  अभ्यास पुस्तिकाले उनीहरूको नेपाली भाषामा सुधार आउने अपेक्षा गरिएको छ । ” उहाँले मदरसा कहाँ आवश्यक छ कहाँ छैन भन्ने अध्ययन भई सोहीअनुरूप थपघट गरी शिक्षक व्यवस्थापन गर्नुपर्ने महसुस आफूहरूले पनि गरेको बताउनुभयो ।

गोरखापत्रमा प्रकाशित खबर ।