काठमाडौं ७ साउन / उर्मिला महतो कक्षा १० मा अध्ययन गर्छिन् । उनी पर्सा जिल्लाको ठोरी–२ सुवर्णपुरमा रहेको नेपाल राष्ट्रिय विद्यालयमा अध्ययन गर्छिन् । उनको बस्ती चितवनको माडी–९ बाँदरझुलामा पर्छ । बसाइ चितवनमा तर पढ्नका लागि पर्सा जिल्ला जानुपर्छ । उनलाई जिल्ला फरक परेर केही असर परेको छैन । सबै भन्दा ठूलो डर विद्यालय जाँदा र आउँदा बीचमा पर्ने जंगलको छ ।
महतो जस्तै बाँदरझुलाका करिब ८० जना विद्यार्थी दैनिक घना जंगल छिचोलेर विद्यालय जान बाध्य छन् । कक्षा–८ पास गरेपछि उनीहरुलाई पढ्नकै लागि बस्ती छाड्नु पर्छ । ‘जंगलको बाटो हिडेर विद्यालय जान थालेको दुई वर्ष भयो’, उनले भनिन्, ‘डराइ डराइ विद्यालय जानु पर्छ ।’ बाँदरझुलाबाट विद्यालय पुग्न पाँच किलोमिटरको दूरी पार गर्नुपर्छ । पाँच किलोमिटर मध्ये तीन किलोमिटरमा घना जंगल छ । सो जंगलमा हात्ती, गैँडा र बाघको डर छ ।
‘जनावरको डर मानेर के गर्नु ?’ महतोले भनिन्, ‘डराएर घर बसेर भएन, पढनु पर्यो ।’ ‘कहिलेकाहीँ त जनावरसँग जम्काभेट हुन्छ’ उनले भनिन्, ‘दगुरेर ज्यान जोगाउनु पर्छ ।’ उनले धेरै पटक हात्ती र गैंडासँग जम्काभेट भएपछि भागेर ज्यान जोगाएको बताइन् । बाँदरझुला बस्तीमा कक्षा ८ सम्म पढाइ हुने चार विद्यालय छन् । ९ कक्षाबाट माथि पढाइ हुने विद्यालय बस्तीमा नभएका कारण जोखिम मोलेर बालबालिकाहरु विद्यालय जान बध्य रहेको निमावि बाँदरझुलाका शिक्षक परशुराम सुवेदीले बताए ।
सो बस्तीमा निमावि बाँदरझुला, श्रीदमार राप्रावि, राप्रावि भालुखोला र राप्रावि कुशुमखोला गरी चार वटा विद्यालय छन् । बस्तीमा ८ कक्षासम्म मात्र पढाइ हुने विद्यालय भएकाले कक्षा ८ पास गरेपछि विद्यार्थीहरुलाई समस्या हुने गरेको छ । ‘कक्षा ९, १० र त्यसपछि को उच्चशिक्षा पढ्न विद्यार्थीहरुलाई जंगल पार गरेर अर्को जिल्ला पुग्नु पर्छ’, शिक्षक सुवेदीले भने, ‘पढ्नकै लागि बस्तीका विद्यार्थीहरुलाई डराइ डराइ विद्यालय जानुपर्ने बाध्यता रहेको छ ।’ तीन किलोमिटर जंगल छ । जंगलभित्र रहेका खोलाकै कारणले बर्षायाममा अर्को समस्या हुने गरेको विद्यार्थीहरुले बताएका छन् । खोलो बढ्यो भने विद्यार्थीहरु विद्यालय जान पाउदैनन् । विद्यालय जाँदा बाटोमा जनावर देखेर विद्यार्थीहरु घर फर्किने गरेका छन् । ‘सबै भन्दा ठूलो डर जनावरको छ’ कक्षा ९ मा अध्ययन गर्ने रामकृष्ण विकले भने, ‘विद्यालय जाँदा र फर्किदा हात्ती तथा गैंडा जंगली जनावरले आक्रमण गर्छ कि ? भनेर डराइ डराइ हिडनु पर्छ ।’
धेरै पटक बाटोमा हात्ती देखेपछि घर फर्किएको उनले बताए । जंगलमा रहेका खहरे खोलाले पनि बाँदरझुलाका विद्यार्थीहरुलाई विद्यालय जानआउन समस्या पारेको छ । ‘बर्षायाममा खोला बढ्यो भने परीक्षा दिन पाइँदैन’ उनले भने, ‘पछि निवेदन दिएर परीक्षा दिने गरेका छौं ।’ कक्षा ८ पास भएपछि पढ्ने विद्यालय बस्तीमा नभएपछि जोखिम मोलेर विद्यालय जानु परेको विद्यार्थीहरुले गुनासो गरेका छन् । ‘अहिलेसम्म त जनावरले कसैलाई केही गरेको छैन’ अर्का विद्यार्थी तेजकुमार महतोले भने, ‘तर कतिखेर हात्ती र गैंडाले मार्छ भन्ने चिन्ता हुन्छ ।’ चितवन राष्ट्रिय निकुञ्जमा पर्ने भएकाले सो बस्तीमा सरकारले दीर्घकालीन योजना निर्माण गर्न दिएको छैन । बस्ती छ तर आवश्यक पूर्वाधार छैनन् । पूर्वाधार नभएकै कारण उच्च शिक्षा हासिल गर्न यहाँका बालबालिकाले अनेक खालका समस्या झेल्दै आएका छन् ।
सरकारले बाँदरझुला बस्ती स्थानान्तरण गर्ने निर्णयसमेत गरिसकेको छ । स्थानान्तरण गर्ने ठाउँ र बस्तीका बासिन्दाले पाउने जग्गा के कति हुने ? भन्ने एकिन नभएका कारण स्थानान्तरणको काम सुरू हुन सकेको छैन । बाँदरझुलाका स्थानीयले स्थानान्तरण गर्दा उपयुक्त ठाउँ र सम्मानजनक जग्गाको क्षेत्रफलको माग गरिरहेका छन् । माडी नगरपालिकाका मेयर ठाकुर ढकालले बाँदरझुला बस्तीका बास्तविक सुकुमबासीको पहिचान गरी उनीहरुलाई सोही ठाउँमा व्यवस्थापन गर्ने योजना रहेको बताए । बास्तविक सुकुम्बासीको समस्या पहिचान गरी सोही ठाउँमा व्यवस्थापन गरी विद्यार्थीहरुले शिक्षा आर्जनमा झेल्दै आएको समस्या सामधान गर्ने उनले बताए ।
नयाँ पत्रिकामा प्रकाशित खबर ।