कान्तिपुरमा प्रकाशित खबर ।
एमयू नेपालमा हाइड्रोपावर इन्जिनियरिङ पढाइ हुने एकमात्र विश्वविद्यालय हो। त्यसैले देशैभरका विद्यार्थी यहाँ अध्ययन गर्न आउँछन्। पाठ्यक्रम अझै बनिसकेको छैन। पाठ्यक्रम तयार नगरी अन्धाधुन्ध पढाइ भइरहेको अर्का विद्यार्थी सागर लम्सालले बताए। डिन कार्यालयकै कमजोरीका कारण परीक्षा समयमा हुन नसकेको, शिक्षक नियुक्त नगरेको, ल्याब सामग्री व्यवस्थापन हुन नसकेको उनको भनाइ छ। ‘क्याम्पसलाई भूमिकाविहीन बनाइएको छ,’ उनले भने, ‘क्याम्पस प्रमुखको सिफारिसलाई डिन कार्यालयले लत्याउने गरेको छ।’
क्याम्पसको ध्यान उत्कृष्ट नतिजा दिलाउनेभन्दा पैसा कमाउनतिर देखिन्छ। सिभिलमा कोटाभन्दा ४८ विद्यार्थी बढी भर्ना गरिएको छ। सिभिल इन्जिनियरिङ विद्यार्थी न्युटन वलीले विद्यार्थी थपिने, शिक्षक नथपिने समस्या रहेको बताए। ‘घरपायक भनेर यहाँ पढ्न थालियो तर फेल भइयो,’ उनले गुनासो पोखे, ‘क्याम्पसमा गतिलो पढाइ भएन। सिभिलतर्फ थर्मल साइन्सजस्तो कठिन विषयको कोर्स हतारहतार गरी ३९ घण्टामा सकाइयो।’ जायज माग राखेर आन्दोलन गर्दा पार्टीका स्थानीय नेतामार्फत नियन्त्रण गर्ने प्रयास भएको विद्यार्थीको गुनासो छ।
इन्जिनियरिङ संकाय कतिसम्म भद्रगोल अवस्थामा सञ्चालन भइरहेको छ भन्ने दृष्टान्त हाइड्रोपावर इन्जिनियरिङ कोर्सबाटै लिन सकिन्छ। पढाइ सुरु भएको ९ महिना बित्दासमेत पाठ्यक्रम बनाइएको छैन। क्याम्पस प्रमुख विजय पण्डितले भने शिक्षक पदपूर्तिका लागि आवेदन मागिएको बताए। नतिजा कमजोर हुनुमा विद्यार्थीकै कमजोरी रहेको उनको दाबी छ। ‘ल्याब, शिक्षक व्यवस्थापन गर्न सकेका छैनौं तर बाहिरबाट जनशक्ति झिकाएर भए पनि पढाएका छौं,’ पण्डितले भने।