नेपालको भवन बास्तुकलाको ईतिहासमा सबभन्दा महत्वपूर्ण स्थान ओगट्ने भवनको रुपमा कैलाशकूट भवनलाई लिने गरिन्छ । यद्धपि उक्त भवन आज हाम्रो सामु नभएता पनि यसको भब्यताको बारेमा इतिहासमा मुग्धकण्ठले प्रशंसा गरिएको छ । नेपाली सभ्यता र संस्कृतिमा रुचि राख्ने प्रत्येक ब्यक्तिको नित्ति कैलाशकूट भवन सधै नै एउटा कौतुहलताको बिषय बनेर रहेको छ । हामी संग न यसको सिङगो स्वरुप नै छ न त कुनै अवशेषहरु नै छन जसले स्पष्ट प्रमाण दिन सकुन, तर लिच्छवि कालका अभिलेखहरु र चीनिया यात्रीको यात्रा वृतान्तहरुमा यो भवन बारेमा धेरै कुराहरु लेखिएका छन । अत यो भवनको जुन सुन्दरता, भब्यता र उपयोगिता थियो त्यसको सम्बन्धमा तिनै चीनिया यात्रीको विवरण र अभिलेखहरुमा उल्लेखित सन्र्दभहरुबाट अध्ययन गर्नु पर्ने हुन जान्छ ।
सर्वप्रथम कैलाशकूट भवनको उल्लेख सम्राट, राष्ट्रिय बिभूति अंशुवर्माको बि.स.६६२ (मानदेव सम्बत २९) बुङगमतीमा पाइएको शिलालेखमा भएको थियो । उक्त अभिलेखमा “ स्वस्ती कैलाशकूट भवनाद ” भन्ने प्रशंग परेको छ । यसरी वि.स.६६२ मा यो भवनबाट अभिलेख प्रशारित गरिएबाट यो भवन (दरवार) बि.स.६५५ तिर नै निर्माण भैसकेको अनुमान गर्न सकिन्छ । बुङगमतीमा मानदेव सम्बत २९ मा प्रसारित शिलालेख पछिका सबै राजकीय आदेशहरु यही भवनबाट प्रशारित भएका छन । अंशुवर्माले कैलाशकूट भवन किन बनाउनु प–र्यो भन्ने सर्दभ खोज्ने हो भने उनको राजनीतिक उन्नतिलाई पनि यहां स्मरण गर्नु उचित देखिन्छ । गुप्तहरुको बढदो दवदबाबाट दिक्क भएका राजा शिवदेवले अंशुवर्मालाई आफ्नो हातमा लिई विस्तारै गुप्तहरुलाई पतन गराउदै लगे जसको फलस्वरुप अंशुवर्मा दिनानुदिन शक्तिमा आउन थाले । सुरुमा श्री सामन्त उपाधि पाएका अंशुवर्माले पछि श्री महासामन्त उपाधि प्राप्त गरे । बनेपाको अभिलेखमा अंशुवर्माको अनुमति लिई शिवदेवले आज्ञा प्रशारित गरेको प्रसंगबाट अंशुवर्माको बेग्लै अस्तित्व बनिसकेको बुझन सकिन्छ । उनले आफ्नो शक्तिमा जतिसुकै वृद्धि भएता पनि लिच्छवि राजाहरुको राजप्रसाद मानगृहमा बस्ने कुचेष्टा कहिल्यै गरेनन । बरु आफ्नो राज्य शासनको वृद्धिलाई अझ शसक्त बनाउन एउटा बेग्लै राज दरवारको खांचो परेकोले उनले आफ्नो शक्ति वृद्धि भएको बेला देखि नै कैलाशकूट भवनको निर्माण शुरु गरेका थिए । आफू शिव भक्त भएकाले आफु बस्ने दरवारको नाम पनि शिवको बासस्थान कैलाशसंग सादृस्य गराएर कैलाशकूट राखेका थिए भन्ने कुरामा धेरै बिध्वानहरुको एकमत पाईन्छ ।
कैलाशकूट भवनको जुन ख्याति, भब्यता तथा सौन्दयात्मक पक्ष छ त्यसको आधारमा नै त्यति बेलाको आर्थिक, सामाजिक, धार्मिक अवस्थाको बारेमा जानकारी प्राप्त गर्न सकिन्छ । आर्थिक रुपले सम्पन्न भएको कारणले नै अंशुवर्माको समयावधिलाई नै नेपालको इतिहासमा लिच्छिविकालको स्वर्ण युग भनेर बर्णन गरिएको छ ।
अंशुवर्माले आफ्नो उत्तराधिकारी शिवदेवका छोरा उदयदेवलाई घोषणा गरेका थिए । अंशुवर्मा पछि राजा भएका उदयदेव समयमा गुप्तहरुसंग द्वोध शासन हुदा राजा मानगृहमा र उपराजहरु कैलाशकुट भवनमा बसी शासन गर्दथे तर द्वोध शासनको अन्त्य गरि एकलौटी शासन चलाउने उदयदेवका छोरा नरेन्द्र देवले आफ्नो पूर्खा बसी आएको मानगृह छोडेर कैलाशकुट भवनको सिंहाशनमा विराजमान भए ((उनकै पाला देखि सिंहाशन शब्दको चलन शुरु भएको हो तथा सिंहाशनमा बस्ने नेपालको पहिलो राजा पनि उनि नै हुन् )) बाट यो भवनको विशिष्टता अझ प्रकट हुन्छ । यसबाट कैलाशकूट भवनको भब्यता सहजै अनुमान लगाउन सकिन्छ ।
यो उत्कृष्ठ भवन कहा थियो ? कस्तो थियो ? यसको विशिष्टता कस्तो थियो ? भन्ने कौतुहलता मेट्न लिच्छवि कालीन शिलालेखहरु र चीनिया यात्रीको यात्रा बणैनहरु नै मुख्य आधार हो ।
* स्वयम अंशुवर्माले आफुले बनाएको दरवारको सौन्दर्य प्रकट गर्दै “साचै पृथ्वीको टिका जस्तो छ , रमिता हेर्न उत्सुक भएका रौसेजनहरु आखै नझिम्काई यो भवनलाई हेर्छन ” भनेर बयान गरेका छन । ((( शिलालेखका संस्कृत भाषा यहा उल्लेख गरिएको छैन )))
* अंशुवर्मा पछि यस भवनको सिंहाशनमा बसी शासन गर्ने राजा नरेन्द्रदेवले यस भवनको बारेमा गरेका बर्णन यस प्रकार रहेको छ । “ चन्द्रमाको किरणले उज्यालो झलमल्ल भएका हिमालका चुचुरो जस्तै देखिने यो भवनको बयान संसार मै चलेको छ ”
* अर्को शिलालेखमा उनि यसरी बयान गर्छन “ हिमालका उच्च चुचुरा जस्ता हेर्दामा पनि आखालाइ आनन्द दिने संसारमा प्रशिद्घ सुन्दर यो भवन छ ” आदि बर्णनबाट कैलाशकूट भवनको केहि झलक मिल्दछ ।
* यो भवन ज्यादै अग्लो ,बिशाल ७ तले , चुनले पोतिएको ,नेपाल खाल्डोबाट टड्कारै देखिने यो दरवारको सौन्दर्यले नेपालीलाई मात्र आकर्षण गर्दैनथ्यो कि बिदेशीहरु पनि यसलाई हेरेर दंग पर्दथे । चिनिया यात्रीहरुले वांग हुयेंन छे पनि यस भवनको कलाकृति , रत्नले जडीजडाउ भएको कालिगडी , सिप सौन्दर्य देखेर दंग परेर यसको मुग्ध कण्ठले प्रसंसा गरेका छन् । नरेन्द्र देवको पालामा चीनिया यात्री भारत भ्रमणको क्रममा नेपालको बाटो भै आएका थिए उनले राजा र दरवारको ब्याख्या गरेका छन । जसअनुसार नेपालमा १ यस्तो दरवार थियो जुन २०० चक्र र ८० पो लम्बाई चौडाईमा खडा थियो । यसको माथिल्लो तल्लमा १० हजार मानिस अटाउने ठाउ थियो । यो भवनको तिनै वटा भाग सात सात तले थिए । यसको बैठकमा अनेकन आश्चार्यलाग्दा मूतिर्हरु सजाईएका थिए । भवनको प्रत्येक अंशमा किमती रत्न र मोति जडान गरिएको थियो । मध्य भागमा तामाको झिगंटी हालेको सात तले बूर्जा थियो । यसका बार्दली, खम्बा, दलिन एवं त्यंहाका प्रत्येक बस्तुमा उच्चकोटीका बहुमूल्य रत्नहरु जडिएका थिए । छानाको चारै सुरमा राखिएका सुनौलो गोहीको (मकराकृति) टुटी भएका तामाका धारा थिए जसको मुखबाट पानीको झर्दा पहाडी झरना झै लाग्दथ्यो । झ्याल ढोेका थामहरुमा मूल्यवान मुगा मोति रत्न जडिएका थिए , बैठकमा राम्रा राम्रा मूर्ति र तसवीरले सजिएका थिए । कैलाशकूट भवनको जुन ख्याति, भब्यताको सम्बन्धमा स्वदेशमा मात्र होईन विदेशमा समेत चर्चाको विषय बनेको थियो । यस कुराको पुष्टी चीनिया यात्रीको वृतान्तले दिन्छ । यस किसिमको सुन्दर कलापूर्ण महलको दाजो कुनै चीनिया कृति संग गर्न सकिदैन भनी उनले आफ्नो यात्रा बर्णनमा गरेका छन् । वाड्ड हुयेन चे (छे) ले यद्घपि उक्त दरवार नरेन्द्रदेवको भनेता पनि नरेन्द्रदेवको भद्राधिवास भवन नवनिसकेको समयमा वा¨ हुयेन चे ले उल्लेख गरेको दरवार अरु कुनै नभई कैलाशकूट भवन नै थियो भन्नुमा दुईमत नहोला ।
नेपालको नै उत्कृष्ठ उक्त भवन आखिर काहा थियो ? भन्ने बारेमा विभिन्न मतहरु पाईए पनि भाषा वंशावली यो दरवार द्यौैपाटन तिर रहेको उल्लेख छ तर धेरै इतिहासकारहरु यो भवन रहेको हाडीगाऊमा रहेकोमा एकमत छन् ।
यस्तो भब्य , आकर्षक र सुन्दर भवनको कुनै अस्तित्व फेला नपरे पनि कुनै अवशेषहरु समेत नभेट्टाईएता पनि अभिलेखिय तथा चीनिया यात्रीको बर्र्णनको आधारमा यो दरवारको बास्तुकला कस्तो थियो भन्ने कल्पना सजिलै गर्न सकिन्छ । यिनै बर्णनको आधारमा ललित कला क्याम्पसका तत्कालीन उप प्राध्यापक श्री मनुज बाबु मिश्र सरले आफ्नो ”विश्व कलाको इतिहास“ पुस्तकको पृष्ठ १९७ मा कैलाहकूट भवनको काल्पनिक आकृति (स्केच) कोर्नु भएको छ ।