कृषि बीमामा किसान आकर्षित हुँदै
शिक्षाखबर डेस्क
१ फाल्गुन २०७४, मंगलवार
no immg

रुपन्देहीका किसान अहिले कृषि बीमामा आकर्षित हुँदै गएका छन्। सरकारले कृषि बीमालाई प्राथमिकतामा राखेपछि किसान आकर्षित भएका हुन् । गहुँ, माछा, आलु, केरा, तरकारी, चैते धानलगायतका खाद्यान्न तथा तरकारीमा किसानले बीमा गर्ने सुविधा पाएको जिल्ला कृषि विकास कार्यालय, रुपन्देहीले जनाएको छ।

किसानले गर्ने विमित रकममध्ये ७५ प्रतिशत राज्यले अनुदान दिने र २५ प्रतिशत किसानले तिर्नुपर्ने व्यवस्थासमेत रहेको छ। आर्थिक वर्ष ०७३र०७४ मा विभिन्न खाद्यान्न बालीमा जिल्लाका २२० जना किसानले तीन करोड पाँच लाख बराबरको कृषि बीमा गरेका छन्।

रुपन्देही खाद्यान्न र तरकारीमा आत्मनिर्भर भएको जिल्लासमेत रहेको जानकारी दिँदै कृषि विकास कार्यालय रुपन्देहीले जिल्लामा एक लाख ८२ हजार मेट्रिक टन खाद्यान्न आवश्यक रहेको र दुई लाख ७६ हजार मेट्रिक टन उत्पादन हुने गरेको जिल्ला कृषि कार्यालय रुपन्देहीका प्रमुख भोजराज सापकोटाले बताए।

जिल्लामा मुख्य गरी धान, गहुँ, मकै, कोदो र फापरलगायतका खाद्यान्न उत्पादन हुने गरेको जिल्ला कृषि विकास कार्यालय रुपन्देहीको रेकर्डमा देखिन्छ। आलु र हरियो तरकारीमा समेत रुपन्देही आत्मनिर्भर रहेको जिल्ला कृषि विकास कार्यालय, रुपन्देहीको तथ्यांक रहेको छ। जिल्लामा एक लाख एक हजार मेट्रिक टन तरकारी आवश्यकता रहेकोमा एक लाख १५ हजार मेट्रिक टन उत्पादन हुने गरेको छ।

गेडागुडी र तेलहनबालीको उत्पादनले भने रुपन्देहीलाई अपुग हुने गरेको जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका कृषि प्रसार अधिकृत आशा भण्डारीले जानकारी दिए। कृषि प्रसार अधिकृत भण्डारीले जिल्लामा कृषि पकेट क्षेत्र ब्लक क्षेत्रको आधारमा कार्यक्रम अगाडि बढाइएको जानाकारी दिँदै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत किसानलाई आर्थिक अनुदानसमेत उपलब्ध गराइएको बताए।

जिल्लामा ५३ वटा कृषि पकेट क्षेत्र र दुईवटा कृषि ब्लक क्षेत्र रहेका छन्। तरकारीमा १४ वटा पकेट क्षेत्र छन्। ती अन्तर्गत केराको पकेट क्षेत्र चार वटा, आलु, सिमी, तोरी, मकै र गहुँको एक एकवटा, धान १० वटा, धानको बीउ तीनवटा, माछा पाँचवटा र च्याउ तीनवटा पकेट क्षेत्रमा उत्पादन हुनेगरेको छ।

जिल्लाका रायपुर, मानपकडी, मानमटरिया, धकधई, असुरैना, अमुवाँ खाद्यान्नको पकेट क्षेत्र हुन् भने सूर्यपुरा, मानपकडी, बसन्तपुरलगायतका क्षेत्र तरकारीका पकेट क्षेत्र र दयानगर, छोड्की रामनगर, अमुवा, मानमटरिया, मानपकडी र धकधई माछाको पकेट क्षेत्र रहेका छन्।

प्रत्येक पकेट क्षेत्रका लागि जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले दुई लाख ८२ हजार रुपैयाँको अनुदान दिने गरेको छ भने जिल्लामा रहेका दुई ब्लक क्षेत्रमध्ये माछा ब्लक क्षेत्रलाई ४३ लाख रुपैयाँ र खाद्यान्न उत्पादन हुने ब्लक क्षेत्रलाई ५३ लाख रुपैयाँ अनुदान सहयोग गरेका जिल्ला कृषि विकास कार्यालयले जनाएको छ। नेपालको कृषि, पर्यटन र उद्योगमा समेत अगाडि बढेको रुपन्देहीले पछिल्लो समयमा माछा उत्पादनलाई छुट्टै पहिचान बनाएको छ।

प्रतिक्रिया