काठमाडौं ४ फागुन / मकवानपुर जिल्लाका १० वटै स्थानीय तह आफैंले आधारभूत तह (कक्षा ८) सम्मको परीक्षा सञ्चालन गर्न लागे पनि कार्यविधि भने निर्माण गरेका छैनन् । गढी गाउँपालिका कार्यविधि निर्माण गरे पनि राजपत्रमा प्रकाशित भएको छैन भने अन्य छलफलकै चरणमा छन् । चैत ८ गतेबाट सबै स्थानीय तहअन्तगर्तका विद्यालयमा आधारभूत तहको परीक्षा सञ्चालन हुँदै छ ।
हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिकाका साथै भीमफेदी, बागमती, बकैया, मनहरि, राक्सिराङ, कैलाश र इन्द्र सरोवर गाउँपालिकाले कार्यविधि निर्माण गरेका छैनन् । ‘कानुन (कार्यविधि) नै नबनाईकन चलाउँदा समस्या त हुन्छ तर सञ्चालन नै गर्न नसकिने अवस्था छैन,’ जिल्ला शिक्षा अधिकारी बद्रीनाथ शर्माले भने, ‘कानुनले आधारभूत तहको परीक्षा स्थानीय तहले सञ्चालन गर्ने भनेको छ ।’ शर्माका अनुसार, प्रत्येक स्थानीय तहमा सामाजिक विकास समितिको अध्यक्षको संयोजकत्वमा समिति बनाएर परीक्षा सञ्चालन गर्न लागिएको छ । समितिमा कम्तीमा १ महिलासहित ३ शिक्षक र शिक्षा हेर्ने अधिकारी वा स्रोतव्यक्ति सदस्यसचिव छन् । ‘स्थानीय तहले नै सञ्चालन गर्ने भनेपछि प्राविधिक सहयोग गर्न लागेका हौँ,’ जिशिअ शर्माले भने । प्रश्नपत्र निर्माण, छपाइ, परीक्षा सञ्चालन, उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशनलगायत सम्पूर्ण काम स्थानीय तहले नै गर्ने उनले जानकारी दिए ।
जिशिअ शर्माले स्थानीय तहबाट शिक्षाका काम हुँदा प्रभावकारी काम भएको स्विकारे । ‘स्थानीय तहको समस्या र सम्भावना स्थानीय जनप्रतिनिधिलाई नै थाहा हुने भएकाले आवश्यकताका आधारमा काम भएको छ,’ उनले भने, ‘समन्वय गरेर काम भएकाले त्यस्तो कुनै समस्या आएको छैन ।’ यद्यपि उनले शिक्षाका प्राविधिक जनशक्तिको अभावमा केही समस्या भएको स्विकारे । नेपाल शिक्षक महासंघका जिल्ला अध्यक्ष जीवन ढकालले स्थानीय तहबाट सेवा हुँदा सबैमा सहज र एकरूपता हुने विश्वास व्यक्त गरे ।
कर्मचारी जानै मान्दैनन्
सरकारले स्थानीय तहबाटै शिक्षासम्बन्धी सम्पूर्ण सेवा दिने भने पनि जिल्लाका ७ स्थानीय तहमा अझै कर्मचारी पुगेका छैनन् । हेटांैडा उपमहानगरपालिका, थाहा नगरपालिका र गढी गाउँपालिकामा अधिकृत तहका कर्मचारी खटिए पनि अन्य गाउँपालिकामा शिक्षाका कर्मचारी पुगेका छैनन् । जिशिअ शर्माले काम प्रभावित भए पनि ठप्प नभएको बताए । ‘स्थानीय तहमा कर्मचारी जान नमानेको सत्य हो, सेवा समूहको विवादका कारण पनि समस्या भएको छ,’ उनले भने, ‘सेवा ठप्प भएको छैन, कर्मचारी नपुगेको ठाउँमा स्रोतव्यक्तिले सेवा दिइरहनुभएको छ ।’ जिल्लाका १८ मध्ये १६ केन्द्रमा मात्रै स्रोतव्यक्ति कार्यरत छन् । जिल्ला शिक्षा कार्यलयमा पनि शिक्षा अधिकारीका अलावा २ सहायक जिशिअ, २ शाखा अधिकृत, प्रास १, लेखापाल २, नासु २ र सवारीचालक कार्यरत छन् । शिक्षामा उपसचिवस्तरका कर्मचारी मन्त्रालय र शाखा अधिकृत तहका विभागले सरुवा गर्ने गर्छ । ‘अपायक पर्ने स्थानमा को कर्मचारी जान मान्ला र ?’ जिशिअ शर्माले भने, ‘मन्त्रालय र विभागले मागेको आधारमा मात्रै कर्मचारी पठाएको कारण पनि स्थानीय तहमा शिक्षाका कर्मचारी अभाव भएको हो ।’
जिल्ला शिक्षा कार्यालय नै समस्यामा
जिल्ला शिक्षा कार्यालयले नै भवनको समस्या खेपिरहेको छ । कार्यालयको भवनमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय राखिएपछि जिल्ला शिक्षा कार्यालय हेटौंडास्थित अगुवा स्रोत केन्द्र भवनमा खुम्चिएको हो । जिशिअ बद्रीनाथ शर्माले केही असहज भए पनि सेवा प्रभावित नभएको बताए । ‘मन्त्रालय बस्ने भनेपछि हामी विस्थापित भयौँ,’ उनले भने, ‘केही असहज त भएको छ तर सेवा प्रभावित भएको छैन ।’
साघुँरो स्थानबाट सेवा दिनुपर्दा स्टोर लगायतका कामका लागि केही असहज भएको उनले स्विकारे ।