राजविराज — प्रदेश नं २ का भूमि व्यवस्थापन, कृषि सहकारी तथा गरिबी निवारण मन्त्री शैलेन्द्रप्रसाद साहले कृषि क्षेत्रलाई औद्योगिकीकरण गर्दै किसानलाई आत्मनिर्भर बनाउनुका साथै प्रदेशलाई समृद्धिको बाटोमा डोर्याउनुपर्ने बताएका छन् ।
किसान परिवारमा जन्मिएर संघर्षपूर्ण राजनीतिमा लागेर प्रदेश नं २ को कृषिमन्त्री बनेका साहले कृषि क्षेत्रको विकास गरेर आर्थिक प्रवद्र्धन गर्ने प्रदेश सरकारको प्राथमिकतामा रहेको बताए । उनले केन्द्रीय सरकारसित समन्वय र सहयोगमा प्रदेशको कृषि क्षेत्रको सम्भावनालाई अनुकुलित रूपमा कार्यान्वयन गर्दै औद्योगिक र व्यापारीकरण गर्ने दिशामा अगाडि बढाउने बताए । मन्त्री भएपछि गृहनगर राजविराजमा आएका साहले शनिबार बिहान कान्तिपुरसित कुरा गर्दै भने, ‘कृषि क्षेत्र २ नम्बर प्रदेशको मात्र नभई नेपालकै विकासको लाइफलाइन हो ।’ उनले कृषिप्रधान देश नेपाल भनिए पनि दैनिक गुजाराका लागि अन्न आयात गर्नुपर्ने स्थितिमा रहनु दुर्भाग्यपूर्ण भएको बताए । निर्यातकर्ताका रूपमा रहेको प्रदेश नम्बर २ का किसान अहिले आफ्नै कृषिमा आत्मनिर्भर बन्न नसकेको बताउँदै मन्त्री साहले कृषि, सिँचाइ, मल, उन्नत बीउ विजन लगायत किसानलाई आवश्यक सामग्री समयमा उपलब्ध हुन नसकेकाले कृषि क्षेत्रबाट आर्थिक प्रवद्र्धन हुन नसकेको मन्त्री साहले बताए ।
प्रदेश नं २ को ८ जिल्लामा ८० प्रतिशतभन्दा बढी खेतीयोग्य जमिन आकासेपानीका भरमा खेतीपाती भइरहेकाले प्रदेश सरकारले किसानलाई कृषि क्षेत्रमा प्रोत्साहित गर्न आधुनिक सिँचाइ प्रविधिको विकास गर्ने कृषिमन्त्री साहको भनाइ छ । यसका लागि आफ्नो प्रदेशमा प्रभावकारी सिँचाइ योजना सञ्चालन गर्ने बताए । ‘तराईमा सञ्चालित अधिकांश ठूला सिँचाइ आयोजना बन्द छन्, या त जीर्ण छन्’, मन्त्री साहले भने, ‘यी आयोजना प्रयोगमा ल्याउन ठूलो रकम खर्च हुने अवस्था छ, तर प्रदेश सरकारसित त्यति बजेट छैन, त्यसैले सिँचाइ सुविधाबिना कृषि क्षेत्रको विकास असम्भव छ ।’
विगतमा सिँचाइ योजनामा धेरै रकम खर्च गरिए पनि लगानी अनुरूप प्रतिफल आउन नसक्दा कृषि क्षेत्र प्रभावित हँुदै आएको मन्त्री साहले बताए । उनले प्रदेश सरकारले केन्द्र सरकारसित समन्वय गरी मझौला सिँचाइ योजना सञ्चालन गरी किसानको समस्या समाधान गरेर हरियाली खेत बनाउने योजना सुनाए । यसका लागि कृषि क्षेत्रमा लगानी वृद्धि गरी औद्योगीकरण, आधुनिकीकरण र व्यावसायीकरण गर्दै देशलाई आर्थिक समृद्धितर्फ लैजाने मन्त्री साहले बताए । कृषिक्षेत्रमा आत्मनिर्भर बन्न सके गरिबीको अन्त्य गर्न सम्भव छ,, मन्त्री साह भन्छन्, ‘राज्यको कमजोर नीतिका कारण कृषि क्षेत्र ओझेलमा परेको हो ।’ राज्यले चामल आयात गर्न दिने तर धान आयात गर्न रोक लगाउने नीतिप्रति असन्तुष्टि जनाउँदै धान आयात गरेर चामल उद्योग फस्टाउने गरी प्रदेश सरकारले आत्मनिर्भर बन्ने नीति ल्याउने बताए । निर्वाहमुखी कृषि प्रणालीको अन्त्य गर्दै आधुनिक कृषि प्रणालीको कार्यान्वयन गर्ने आवश्यक सबै काम गर्ने प्रतिबद्धता समेत जनाए । कृषि क्षेत्र संकटमा परे, अर्थतन्त्र खतरामा पर्छ, उनले भने, ‘म किसान हुँ भन्दा अर्को व्यक्तिले किसान गरिब हुन्छन्, फाटेको लुगा लाउँछन्, भन्ने मान्यता अन्त्य गरी किसान धनी, उद्योगी हुन्छ भन्ने बनाउनुपर्छ ।’
प्रदेश नं २ मा बर्सेनि खेतीयोग्य जग्गा खोला बाढीले कटान गरी मरुभूमि बन्दै गएकोमा चिन्ताव्यक्त गर्दै मन्त्री साहले चुरे विनाश रोक्नुपर्ने बताए ।विदेशमा जस्तै नेपालमा कृषि उद्योग सञ्चालन गरी युवालाई स्वदेशमै रोजगारी सिर्जना गरी आत्मनिर्भर बनाउने अभियानमा सञ्चालन गर्ने समेत बताए । ‘स्वदेशमै रोजगारी सिर्जना भए, खाडी मुलुक जानु पर्दैन, प्रतिभाशाली, सिर्जशनशील युवाको ऊर्जा खेर जाँदैन’, साहले भने, ‘माछापालन, पशुपालन, पक्षीपालन व्यवसायलाई व्यवस्थित गछौं ।’