कृषकलाई वरदान बन्यो प्रविधि
शिक्षाखबर डेस्क
११ चैत्र २०७४, आईतवार
no immg

मानेश्वारा (सिन्धुपाल्चोक) — बाह्रबिसे नगरपालिका मानेश्वारा डाँडाखेतकी सुष्मा राउत हली र खेतालो खोज्नुपर्ने झझन्टबाट मुक्त भएकी छन् । पछिल्लो समय गोरु, खेताला नपाइने समस्याले पिरोलिएकी राउत हाते ट्रयाक्टर पाएपछि हर्षित छिन् ।

‘अब हाते ट्रयाक्टरले आफैजोत्छु, सबै काम यसैले गर्छ,’ राउतले जोत्दै भनिन्, ‘यो मेसिनले जोत्न सिकेपछि आनन्द भएको छ ।’ दिनरात खेतबारीको चटारोमा रहने सुष्मालाई ट्रयाक्टर वरदान सावित भएको छ ।

‘ट्रयाक्टर मर्मतबारे ज्ञान सिक्ने योजना बनाइरहेको छु,’ उनले भनिन् । कुनै बेला महिलाले जोत्न हुँदैन भन्ने कथनलाई ट्रयाक्टरले तोडेको उनको अनुभव छ । सामाजिक अन्धविश्वासलाई प्रविधिले उछिन्दै लगेको उनको अनुभव छ । ‘अब त घरपिच्छै महिलाले ट्रयाक्टरबाट जोत्छन्, चाँडै पनि सकिन्छ,’ उनले भनिन् । कुनै बेला यन्त्रलाई अनौठो मान्ने घुम्थाङ नाककुच्चेकी शान्ति लामाले मकै छोडाउने, ट्रयाक्टर जस्ता प्राय: मेसिन सहजै चलाउन जानिसकेकी छन् । ‘प्रविधिको चमत्कार देखेपछि यसप्रति झुकाव बढदै गयो,’ लामाले भनिन्, ‘खेतबारीको काममा सघाउने प्रविधिबारे जानेपछि पहिलेजस्तो धपेडी गर्नुपर्दैन ।’

सधैं खेतालो लगाएर धान झार्ने गरेकी उनीले यस वर्ष थ्रेसर मेसिनबाट एकैदिनमा झारेर बाली भित्र्याएको सुनाइन् । ‘नजानेसम्म अप्ठयारो हो, जानेपछि समस्या छैन,’ उनले भनिन् । सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्च (सीडीसीईएफ) र मर्सिकोरको सहयोगमा गाउँभर यस्तो प्रविधि भित्रिएको उनले बताइन् । घुम्थाङ नाककुच्चेका मंगलजित थामीले मेसिनबाट सबै कुरा सजिलोसँग हुने भएपछि कृषिमा आफू व्यावसायिक बनेको सुनाए । ‘सधैं कामदारको समस्याले बाली लगाउन नसकिने अवस्था आउँथ्यो,’ थामीले उत्साहित हुँदै भने, ‘अब सबैको काम ट्रयाक्टर र मेसिनले गरिदिन्छ, धेरै सजिलो छ ।’ उनले दर्जन मान्छेले धेरै दिन लाग्ने खेतफाँटमा एकजनाले मेसिन प्रयोग गरेर दुई दिनमा सक्ने जनाए ।

सुष्मा, शान्ति र मंगलजित जस्तै जिल्लाका धेरै कृषकलाई प्रविधिले सजिलो बनाएको छ । विभिन्न सामाजिक संस्था र कृषि विकास कार्यालयको सहयोगमा प्राविधिक सामग्री गाउँमै पुग्न थालेपछि कृषकले प्रविधिसँगै व्यवासायिक खेती बढाइरहेका छन् । मानेश्वारा, घुम्थाङमा १६ वटा मकै छोडाउने, ७ कोदो चुट्ने, एउटा धान झार्ने र ६ वटा हाते ट्रयाक्टर दिइएको सीडीसीईएफका कार्यक्रम संयोजक विनोद थापा बताउँछन् । ‘यस्ता प्रविधिले कृषकलाई प्रोत्साहित गरेर व्यावासयिक बनाएको छ,’ थापा भन्छन्, ‘प्रविधिको प्रयोगपछि कृषकमा नयाँ उत्साह छाएको पाएका छौँ ।’ च्याउखेती, तरकारी खेती तालिम, खानेपानीजस्ता कार्यक्रमले कृषकलाई सहज भएको उनले बताए ।

प्रतिक्रिया