केन्द्रीय अस्पतालमै छैनन् कुरुवाघर
शिक्षाखबर डेस्क
११ चैत्र २०७४, आईतवार
no immg

काठमाडौं – सिन्धुली संखटारकी जिन्सी चौधरी आफ्नी ८५ वर्षीया वृद्धा आमा बिरामी परेपछि सोमबार राति वीर अस्पताल पुगिन् । आमा मुसनियाँ अधिकारीलाई मधुमेह र उच्चरक्तचापले च्यापेपछि एम्बुलेन्सबाट अस्पताल पुर्‍याइएकी चौधरीको हेरचाहका लागि थप चार जना अस्पताल पुगे।

वार्डमा खटिएकी छोरी र नातिनीले एक झप्को सुत्न नपाई रात काटे । बाँकी दुई जनाले अस्पतालको आकस्मिक कक्ष बाहिरको पेटीमा रात काटे ।एक त पेटीको बास अर्को चोर्न आउनेको उस्तै सास्ती । चोरले कहिले सिरानीमा राखेको झोला चलाउने त कहिले चप्पल तान्न आउने । यसो भएपछि कुरुवा वेदराज दनुवार रातभरि निदाउनै सकेनन्।

बिहानपख एक झप्को निदाएको के थिए, त्यही बेला चप्पल चोरी भयो । भोलिपल्ट बिहानै चप्पल किन्न गए । अस्पतालभित्र कुरुवाको सामान राख्ने व्यवस्था नहुँदा उनी जस्तै अन्य दुई कुरुवाले आफ्नो लुगाफाटा साथै बोकेर हिँडे । ‘भित्र राखौं भने गार्डले सबैलाई बस्न दिँदैनन्, बाहिर राख्ने ठाउँ छैन’ वेदराजले भने ।
वार्डमै उपचाररत नवलपरासीकी फूलकुमारी महत र कुरुवा रामकुमारीको छुट्टै भोगाइ छ । दुई सातादेखि अस्पतालमै रहेका उनीहरूले कुरुवाघरको अभावमा नुहाउन, लुगाधुन पाएका छैनन्।

रामकुमारीले बिरामी बहिनीसँगै सुतेर रात काटिन् । ‘दिउँसो कुर्सीमा राति बहिनीकै बेडमा सुत्छु,’ उनले भनिन् । वार्डभित्र बाथरुम नभएकाले दुवैले अस्पताल आएदेखि नुहाउन पाएका छैनन् । ‘लुगा त फेर्‍यौं तर नुहाउने ठाउँ नै छैन,’ रामकुमारीले भनिन् । उनीहरूले केही दिनमा डिस्चार्ज भएपछि घरै पुगेर नुहाउने सोच रहेको बताए । चन्दास्वरुप संकलन गरेको पच्चीस हजार रुपैयाँले उपचार गराउन आएकी रामकुमारीले सुनाइन्, ‘यहाँ कोही आफन्त पनि छैनन्, आफ्नो नहुनेलाई काठमाडौंमा गाह्रो रहेछ।’

कुरुवाघर नहुँदा सास्ती पाउने कुरुवा यी मात्र होइनन् । काठमाडौंका ठूला भनिएका असप्तलामा समेत कुरुवा घरको व्यवस्था नुहँदा सास्ती नपाउने कुरुवा शायदै होलान् । बीर अस्पतालका निर्देशक भूपेन्द्र बस्नेतका अनुसार अस्पतालमा पहिलादेखि नै कुरुवाघरको व्यवस्था छैन ।

पाँच महिनाअघि अस्पतालमा पोस्टअपरेटिभ र आइसियूका बिरामीका लागि १५ जना सुत्न मिल्ने ठाउँ बनाइएको छ । कुरुवाघरकै लागि भनेर छुट्टै भवन भने नभएको बस्नेतले बताए । सबै बिरामीको लागि कुरुवा घर हुनुपर्छ भन्ने मान्यता निर्देशक बस्नेतको छैन । वीर अस्पताल राजधानीको केन्द्रमा भएकाले कुरुवा घरको व्यवस्था गरियो भने त्यो व्यापारको नयाँ स्थान बन्ने सम्भावना रहेको उनले बताए । ‘सबै बिरामीका कुरुवाका लागि कुरुवा घर बनाइयो भने कुरुवा घर ओगोटेर व्यापार गर्छन्,’ बस्नेतले भने।

कुरुवा घरको अभावमा सास्ती पाउनेमा वीर अस्पतालका कुरुवा मात्र छैनन् । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पनि कुरुवा घरको व्यवस्था छैन । शिक्षण अस्पतालका बिरामीका कुरुवाहरू अस्पताल भवनको ‘करिडोर’मै सुुत्छन् । ‘एक जना कुरुवा बिरामीसँग सुत्छन्, अरु त बाहिर प्यासेजमा सुत्छन्,’ अस्पतालका सुरक्षा गार्ड प्रमुख पदम पन्तले भने । कुरवा घरको अभावमा कुरुवाहरूले बिरामीले प्रयोग गर्ने शौचालयमै नुहाइधुवाइ गर्नुपर्ने र बिरामीसँगै सुत्नुपर्ने वाध्यता रहेको पन्तले बताए।

राजधानीको कान्ति बालअस्पतालमा पनि अहिलेसम्म व्यवस्थित कुरुवाघर छैन । कान्तिमा ३५ जना कुरुवा सुत्न मिल्ने ठाउँको व्यवस्था भएको अस्पतालका निर्देशक डा. गणेश राईले बताए । ‘बाथरुम भने वार्डकै प्रयोग गर्नुपर्ने अवस्था छ,’ राईले भने । नवजात शिशुका आमाहरू कुरुवाको रुपमा बस्नुपर्ने हुनाले अस्पतालकै केही कोठा कुरुवा घरको रुपमा प्रयोग भएको उनले बताए । तर ती ठाउँमा कुरुवाका लागि आवश्यक खाना पकाउन मिल्ने, सुत्न मिल्ने ठाउँ भने छैनन्।

प्रसूति गृहमा तीन वर्षअघि कुरुवा घर बने पनि हाल कुरुवाहरू अस्पतालको नयाँ भवनको कुर्सीमा सुत्ने गरेका छन् । कुरुवाघरमा भने भुइँतलामा लण्ड्री र बाँकी कोठाहरु यसै प्रयोगविहीन बनेका छन् । नयाँ भवन बनिसकेपछि कुरुवाघरको प्रयोग हुने प्रसूतिका कर्मचारीहरुले बताए।

काठमाडौं उपत्यकाका धेरै अस्पतालमा कुरुवा घरको व्यवस्था छैन, भएकाहरुमा पनि नाम मात्रका छन् । अस्पतालका प्रशासकहरु आफंैमा कुरुवाघर हुनुपर्नेमा धेरैजसो प्रशासक सहमत देखिन्छन्। परोपकार प्रसूति गृहका निर्देशक डा. जागेश्वर गौतमका अनुसार कुरुवा घरमा सुत्न मिल्ने, आवश्यकताअनुसार खाना पकाउन मिल्ने, सुरक्षा, महिला–पुरुषको लागि छुट्टा–छुट्टै शौचालय, स्नानगृहको व्यवस्था हुनुपर्ने हो ।
नेपालका अस्पतालहरुमा व्यवस्थित कुरुवाघरको व्यवस्था हुन नसकेको डा. राईले स्वीकारे । ‘व्यवस्थित कुरुवाघर हुन सकेको राम्रो, त्यसको लागि पनि बजेट नै चाहिन्छ,’ राईले भने ।

प्रतिक्रिया