काठमाडौं ११ चैत / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित निरौले प्राविमा कक्षा १ देखि अंग्रेजी माध्यमबाट पठनपाठन हुँदै आएको छ। २०७१ सालमा कक्षा १ देखि सुरु गरिएको अंग्रेजी माध्यम अहिले कक्षा ५ मा पुगेको छ। विद्यालयका ५९ विद्यार्थीले अंग्रेजी माध्यमबाट पढिरहेको प्रधानाध्यापक पवन राईले बताए।
विद्यालयमा विद्यार्थी संख्या घट्न थालेपछि निरौले प्राविले अंग्रेजी माध्यमबाट कक्षा सञ्चालन सुरु गरेको हो। नजिकै खुलेका बोर्डिङ स्कुलले गर्दा सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्न थालेपछि अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेको राईले बताए।
गाउँका सामुदायिक विद्यालयमा दिनानुदिन विद्यार्थी घटेका थिए । बोर्डिङ स्कुलको प्रभाव बढ्दो थियो। अंग्रेजी मोहकै कारण अधिकांश अभिभावकले बालबच्चालाई सामुदायिकबाट निकालेर बोर्डिङ स्कुल पठाइरहेका थिए।
अंग्रेजी मोहले बालबच्चालाई सहर पठाउने क्रम बाक्लिँदै गर्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित ज्योति माविमा १५ वर्षअघिदेखि अंग्रेजी माध्यमबाट पठनपाठन सुरु भयो । जिल्लामा सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गर्ने पहिलो विद्यालयका रुपमा ज्योति माविले पहिचान बनाएको छ।
बालबालिका पढाउन खर्च गर्छु, सहर पठाउँछु भन्ने अभिभावकलाई रोक्न अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रतिमान राईले बताए। उनका अनुसार अभिभावकको अंग्रेजी मोह पूरा गर्न र सहरको शिक्षा गाउँमै दिन विद्यालय सफल भएको छ।
ज्योति माविमा अंग्रेजी माध्यमबाट पढाइ सुरु भएपछि छिमेकी विद्यालयहरु भूमेस्थान प्रावि, जगत प्रावि खार्मीमा पढाइ सुरु भएको हो। सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्न थालेपछि केही वर्षयता सिमपानी मावि, भगवती दिनानाथ मावि र सप्तकन्या माविमा कक्षा ३ सम्म, रत्नराज्यलक्ष्मी मावि, शारदा मावि र विश्वज्योति माविमा ५ कक्षासम्म, मानेगाउँ प्रावि र सरस्वती प्राविको तल्लो तहका कक्षामा अंग्रेजी माध्यम अनिवार्य गरिएको जिल्ला शिक्षा कार्यालय खोटाङले जानकारी दिएको छ।
सरस्वती मावि दिक्तेल, पञ्च मावि दिक्तेल, जनता आभारभूत विद्यालय नेर्पा, पञ्चकन्या मावि, जालपा मावि, बौद्ध आधारभूत विद्यालय र त्रिभुवन आधारभूत विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिएको जिल्ला शिक्षा अधिकारी धनबहादुर श्रेष्ठले बताए।
अंग्रेजी माध्यमलाई उत्तिकै प्राथमिकता दिने अभिभाबक अहिले पनि उत्तिकै छन्। खस्कँदो शैक्षिक गुणस्तर वृद्धिका लागि हरेक सामुदायिक विद्यालयमा अंग्रेजी माध्यम अनिवार्य गर्नुपर्ने बाध्यात्मक अवस्था उत्पन्न भएको छ। सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाउने शिक्षक अभाव छ। कक्षामा प्रवेश गर्नुअघि शिक्षकले आवश्यक तयारी गर्न मिहनेत गर्नुपर्ने विश्वज्योति मावि लामीडाँडाका प्रधानाध्यापक चन्द्रनारायण यादवले बताए।