पशुमा कृत्रिम गर्भाधान
शिक्षाखबर डेस्क
१२ चैत्र २०७४, सोमबार
no immg

डडेल्धुरा : डडेल्धुरामा पहिलोपटक पशुमा कृत्रिम गर्भाधान सुरु भएको छ । डडेल्धुराको भागेश्वर गाउँपालिकाले पहिलोपटक पशुमा कृत्रिम गर्भाधान गराउन सुरु गरेको हो । पशुमा नश्ल सुधार गर्न कृत्रिम गर्भाधान गर्न सुरु गरिएको भागेश्वरका पशु स्वास्थ्य प्राविधिक घनश्याम तिवारीले बताए ।

कृत्रिम गर्भाधानबाट पशुको नश्ल सुधार हुने र कृषकलाई आर्थिक लाभ पनि हुने भएकाले जिल्लामै पहिलो पटक भागेश्वर गाउँपालिकाले नमुनाका लागि उक्त कार्य सुरु गरेको गाउँपालिका अध्यक्ष कौशिला भट्टले बताइन् । कृषकको मागअनुसार गाउँपालिकाको सबै क्षेत्रमा कृत्रिम गर्भधान गर्ने व्यवस्था मिलाइएको अध्यक्ष भट्टको भनाइ छ । पशुमा गरिने कृत्रिम गर्भाधानले पशुको जातीमा पनि सुधार ल्याउन सकिने भएकाले कृत्रिम गर्भाधान सुरु गरिएको पशु चिकित्सकहरू बताउँछन् ।

गाउँमै कृत्रिम गर्भाधानको व्यवस्था भएसँगै स्थानीय कृषक हर्षित छन् । गर्भाधान गराउन पशुलाई अन्य गाउँमा लगी चर्को शुल्क पनि तिर्नुपर्ने बाध्यता भोग्दै आएका कृषक कृत्रिम गर्भधानको व्यवस्था भएपछि खुसी भएको भागेश्वर गाउँपालिका वडा नम्बर ३ कृषक धनबहादुर मल्लले बताए । उनले खुसी हुँदै भने, ‘हामीले गाईभैंसी र बाख्रा पालेका छौं । गर्भाधान गराउन साह्रै मुस्किल हुन्थ्यो । दुई÷तीन दिन लगाएर अर्को गाउँ धाउनु पथ्र्यो ।’ त्यो समस्याबाट छुट्करा मिल्ने भएपछि हजारौं परिवार खुसी भएको मल्लले बताए ।

पशुमा नश्ल सुधार गर्न कृत्रिम गर्भाधान गर्न सुरु गरिएको हो ।

घरमै पुगी पशु स्वास्थ्य प्राविधिकले नै पशुलाई कृत्रिम गर्भाधान गराइदिने भएपछि कृषक पनि झन्झटबाट मुक्त हुने बताएका छन् । भागेश्वर गाउँपालिकाका अधिकांश कृषकले पशुपालन गर्दै आएका छन् । साबिकका तीनवटै गाउँ विकास समिति मिलेर बनेको भागेश्वर गाउँपालिकाका आठ हजार किसान यो सेवाबाट लाभान्वित हुने गाउँपालिका उपाध्यक्ष पदमराज बोहराले जानकारी दिए ।

प्रतिक्रिया