गाभिए विद्यालय
शिक्षाखबर डेस्क
१३ चैत्र २०७४, मंगलवार
no immg

काठमाडौं १३ चैत / मुलुककै उत्कृष्ट सामुदायिक विद्यालयमा दरिन्थ्यो, कालिका मावि । विद्यार्थीको थेगिनसक्नु भीड हुन्थ्यो । भर्नाका लागि प्रवेश परीक्षा उत्तीर्ण त्यही नजिकको मानविज्ञान माविमा भने जहिल्यै विद्यार्थी अभाव हुन्थ्यो । यस्तो असमानता देखिएपछि एक किलोमिटर दूरीका यी दुई विद्यालयलाई ‘मर्ज’ गरिएको छ ।

मर्ज भएपछि कालिका–मानविज्ञान मावि नामकरण गरिएको छ । आगामी शैक्षिक सत्रदेखि यो निर्णयको व्यावहारिक रूपमै कार्यान्वयन हुनेछ । एउटै वडाका विद्यालयमध्ये कुनैमा भर्ना गरेर पढाउन नसकिने र कुनैमा विद्यार्थी अभाव भएपछि गाभिएको साबिक कालिका माविका प्रधानाध्यापक घनश्याम पाठकले बताए । ‘कालिका जस्तै अब मानविज्ञान माविलाई पनि उत्कृष्ट बनाउन चाहन्छौं,’ उनले भने ।

सामुदायिकमा शैक्षिक गुणस्तर वृद्धि गर्दै लैजानुपर्छ भन्ने मान्यता भएकाले ‘मर्ज’ सम्भव भएको पाठकले बताए । ‘कालिकामा विद्यार्थी धेरै भएर भर्ना हुन आउने विद्यार्थीलाई फर्काउनुपर्ने बाध्यता थियो,’ उनले भने, ‘मानविज्ञानमा विद्यार्थी भर्ना हुन नआउने अवस्था रहेकाले पनि मर्ज गरिएको हो ।’

शिक्षा निर्देशिकामा विद्यार्थी संख्या कम भएर बन्द हुने अवस्थामा पुगेका दुई विद्यालय नजिक भएमा आपसमा गाभिने उल्लेख छ । तर यी दुवै विद्यालयका शिक्षक–कर्मचारी भने स्वत:स्फूर्त एक हुन तयार भएका हुन् । गाभिनका लागि दुवै विद्यालयका व्यवस्थापन समितिले बुटवल उपमहानगरपालिकामा निवेदन दिएका थिए । उपमहानगरपालिकाको चैत ६ गतेको बैठकले शैक्षिक सत्र ०७५ देखि दुवै विद्यालय गाभेर कक्षा सञ्चालन गर्न निर्णय गरेको हो ।

कालिका शैक्षिक गुणस्तरमा उत्कृष्ट छ । भौतिक पूर्वाधारमा मानविज्ञान राम्रो छ । साबिक मानविज्ञान माविका व्यवस्थापन समिति अध्यक्ष सीता काउचाले विद्यालयमा बालबालिका घटदै गएपछि एकता प्रक्रिया टुंगाएको बताइन् । ‘धेरै पहिलेदेखि मर्जका लागि छलफल चलेको थियो,’ उनले भनिन् ‘दुई सेक्टर भएर अघि बढ्ने निर्णय भएपछि मर्ज गर्‍यौं ।’

कालिकामा ४ हजार ३ सय ६४ विद्यार्थी छन् । मानविज्ञानमा डेढ सय विद्यार्थी अध्ययनरत छन् । नियमित आउने एक सयमात्रै छन् । गाभिएपछि दुवै विद्यालयको सबै सम्पत्ति तथा शिक्षक–कर्मचारी कालिका–मानविज्ञान माविकै भएका छन् । दुई विद्यालय मर्ज भए पनि नेतृत्व कालिकाले पाउनेछ । कालिका माविका प्राचार्य घनश्याम पाठकले दुवै सेक्टरमा एउटै नियम र पोसाक बनाउने बताए ।

‘शिक्षकको तलब र सुविधा पनि एकैनास हुनेछ,’ उनले भने, ‘कालिकामा अहिले १ सय ८३ र मानविज्ञानमा २८ जना शिक्षक–कर्मचारी कार्यरत छन् ।’ सेक्टर २ मा यस वर्ष थप ५ सय विद्यार्थी भर्ना गरिनेछ । भौतिक व्यवस्थापनपछि अर्को सालबाट भने विद्यार्थी संख्या थपिने पाठकले बताए ।

प्रतिक्रिया