व्यवस्थित पशु बजार बन्दै
शिक्षाखबर डेस्क
२० चैत्र २०७४, मंगलवार
no immg

दमक — झापाको दमक नगरपालिका ७ मा प्रदेशकै ठूलो आधुनिक पशु–पन्छी बजार बन्ने भएको छ । यसको निर्माण धमाधम भइरहेको छ ।

झापाको दमक नगरपालिका ७ मा निर्माणाधीन आधुनिक पशुपन्छी बजार । यो बजार निर्माण सम्पन्न भए पशुपन्छीका लागि प्रदेश १ कै ठूलो र आधुनिक हुनेछ ।

विश्व बैंकको सहयोगमा व्यावसायिक कृषि तथा व्यापार आयोजनाले बजार निर्माण गरिरहेको हो ।

आगामी जेठ मसान्तभित्र सम्पन्न हुने आयोजनाका उपसचिव रामबाबु पुरीले जनाए । १३ करोड २९ लाख १८ हजार २ सय ४२ रुपैयाँको लागतमा बजार निर्माण हुन लागेको पुरीले बताए । बजार ५ बिघा ४ कठ्ठा २ धुर जमिनमा हुने छ ।

बजारभित्र व्यवस्थित रूपमा पशु–पन्छी किनबेच गर्ने स्थल, गाई, भैंसी र बाख्रा राख्नै व्यवस्थित भवन, प्रशासनिक भवन, चमेनागृह, टाढाटाढाबाट खरिद बिक्री गर्न आउने व्यापारीका लागि बस्न मिल्ने भवन हुनेछ । यस्तै, ठूलाठूला गाडी पार्किङ गर्न मिल्ने स्थल, सार्वजनिक शौचालय, चारैतिर कम्पान्ड वाल, बजारभित्र फराकिला सडक निर्माण कार्य चलिरहेको छ ।

दमकको पशु बजार नेपालकै पुरानो बजारमध्येमा पर्छ । यो बजारबाट नगरपालिकालाई वार्षिक रूपमा ठूलो आन्तरिक आम्दानी हुने गरेको ७ नम्बरका वडाध्यक्ष भीम पौडेलले बताए । उनका अनुसार चालु वर्षका लागि उक्त पशु बजार एक करोड दुई लाख १० हजार १० रुपैयाँमा ठेक्का लागेको छ ।

‘आधुनिक बजार निर्माण सम्पन्न भए, यसले नगरपालिकाको आन्तरिक आम्दानीमा अझ बढी सहयोग पुर्‍याउँछ,’ वडाध्यक्ष पौडेलले भने, ‘वैज्ञानिक हिसाबले यो पशु–पन्छी बजार प्रदेश १ कै केन्द्रीय बजारको रूपमा पनि विकास गराउन सकिन्छ ।’ उक्त बजारमा झापा, पश्चिम–दक्षिण इलाम र पूर्वी मोरङको प्रमुख पशु बजार हो । यस अलावा पूर्वका विभिन्न पशु बजारबाट पनि पशु–पन्छी यहाँ ल्याएर किनबेच हुने गरेको वडाध्यक्ष पौडेलले बताए ।

आधुनिक पशुबजार निर्माण सम्पन्न भए, दमकको बजार तथा सुन्दरता थप बढेर जाने नगरपालिकाका इन्जिनियर तीर्थनारायण श्रेष्ठले बताए । उनले पूर्वपश्चिम राजमार्गसँगै पशु बजार भएकोले दमकका लागि यस बजारले ठूलो महत्त्व राख्ने बताए ।

‘भौतिक पूर्वाधारको हिसाबले सुविधासम्पन्न भइसकेपछि यो बजारलाई प्रदेशस्तरीय बनाउन कुनै कठिनाइ हुँदैन,’ नगरपालिकाका योजना शाखा प्रमुखसमेत रहेका श्रेष्ठले भने, ‘प्रदेशको केन्द्रको हिसाबले पनि यो बजार उपयुक्त छ । पुरानो बजार भएकाले कारोबारको हिसाबले पनि उत्कृष्ट हुनेछ ।’

बजार निर्माण कार्य ५ महिनाअघि नै सक्नुपर्ने थियो । तर, ठेकेदार कम्पनी लामा–रमण निर्माण कम्पनी काठमाडौंले निर्माण कार्यमा ढिलाइ गरेको छ । निर्माण कम्पनीले १३ महिनामा निर्माण सम्पन्न गर्ने गरी सन् २०१६ अगस्ट २६ मा ठेक्का सम्झौता गरेको थियो । तर, निर्माण कम्पनीले १३ महिनामा काम सम्पन्न गर्न सकेन ।

नसकिएपछि शनिबार चैत मसान्तसम्मका लागि म्याद थप गरिएको थियो । तर, शनिबारसम्म ६० प्रतिशत मात्रै काम सम्पन्न भएको छ । उपसचिव पुरीका अनुसार आइतबार अन्तिमपटक दुई महिनाको लागि म्याद थप गरिएको छ । ‘अबको दुई महिनाभित्र काम सम्पन्न गर्नुको विकल्प छैन ।

प्रतिक्रिया