बेमौसमी तरकारी खेतीमा आकर्षित
शिक्षाखबर डेस्क
२४ चैत्र २०७४, शनिबार
no immg

धादिङ – धादिङको थाक्रे गाउँपालिका ६, रानीबारीका एकबहादुर कार्कीले बारीभरी तरकारी लगाएका छन्। उनी तरकारीको रेखदेखमा नै व्यस्त देखिन्छन्। प्लास्टिक हाउस (टनेल) भित्र बेमौसमी गोलभेडा खेती लगाउन उनी बिहानैदेखि तल्लीन हुन्छन्।

उनले दुई दशकदेखि व्यावसायिक रुपमा तरकारी खेती गर्दै आइरहेका छन्। पछिल्लो समय उनी बेमौसमी तरकारी खेतीतर्फ आकर्षित छन्। तरकारीको भाउ पाउने भएपछि बेमौसमी तरकारीतर्फ आकर्षित भएको कार्कीले बताए। ‘प्लास्टिक हाउसभित्र बेमौसममा लगाएको तरकारीको भाउ पनि छ, कार्कीले भने, बजारको पनि समस्या छैन, घरधन्दा यसरी नै धानेको छु’। उनले टनेलमा फर्सी, गोलभेडा लगायतका तरकारी लगाएका छन्।

कार्कीले पहिले आफ्नै शैलीमा सिजन अनुसारको तरकारी लगाउने गरेका थिए। तरकारी फल्ने समयमा भाउ नपाउनाले बोटमै कुहिएर जाने गथ्र्याे। आम्दानी पनि त्यति नहुने र पानीको समस्या भएपछि दुई वर्ष जति तरकारी खेती नै नगरेको उनले बताए। अहिले उपयुक्त सिंचाईको सुविधा भएसँगै बेमौसमी तरकारी खेती गर्न थालेका हुन्।

२०७२ साल वैशाखमा गएको विनाशकारी भूकम्पले पानीको मुहान सुकाएपछि आफूले खाने तरकारी समेत लगाउन पाएका थिएनन्। अहिले गाउँलेहरूले नै मिलेर गाउँमा पानी ल्याएका छन्। आकाशे पानी पनि संकलन गरेर राख्ने गरेका छन्। तरकारी खेतीबाट वर्षमा ४ लाखसम्म आम्दानी लिने गरेको किसानहरू बताउँछन्। जीवनस्तरमा पनि धेरै परिवर्तन आएको उनको भनाई छ।

२७ घरधुरी रहेको रानीबारीका प्राय किसानको दैनिकी तरकारी खेतीमा नै बित्ने गर्छ। यहाँका प्रायसबै किसानले बेमौसमी तरकारी खेती गर्ने गरेका छन्। किसानहरुलाई नै सहज होस भनेर गाउँमा नमुना कृषक समूह पनि गठन गरिएको छ। समूहमा बसेर बीउबिजन, रोगकिरा तथा विषादीका बारेमा छलफल गर्ने गरेका छन्। समूहमा गठित कृषि समूहमा आबद्ध किसान धेरैजसो बेमौसमी तरकारी खेतीमा लागेको समूहमा आबद्ध किसान सीता सुवेदीले बताइन्। ‘समूहमा बेमौसमी तरकारी खेतीका बारेमा छलफल गर्ने गर्छाै’, सुवेदीले भने, एउटा किसानलाई परेको समस्या अरुले सजिलै थाहा पाउँछन् ।’ समूहगत छलफल, योजना निर्माण र कार्यन्वयनका बारेमा पनि छलफल गर्ने गरेका छन्। तरकारी खेतीबाट आएको आम्दानी बचत गर्ने पनि गरेको उनले बताइन्।

सीताको बारीभरी गोलभेडाको टनेलहरू छन्। पहिले खुल्ला रुपमा तरकारी खेती गर्दा रोग, किराले उत्पादन कम हुन्थ्यो। अहिले प्लास्टिकको घरभित्र तरकारी खेती गर्दा त्यो समस्या हटेको उनको भनाई छ। ‘परम्परागत खेतीबाट सन्तोषजनक आम्दानी हुन नसकेपछि चिन्तित थियौँ’ सुवेदीले भनिन्, ‘अहिले उब्जनी र आम्दानी दुबै राम्रो छ।’ उत्पादन भएको तरकारी महादेव बेसीमा रहेको संकलन केन्द्रमा लैजाने गर्दछ। संकलन केन्द्र मार्फत अन्य ठाउँहरूमा तरकारी पठाइने गर्दछ। यहाँ उत्पादन गरिएको तरकारी काठमाडौंको कालीमाटी, चितवन, पोखरा, धादिङबेसी पठाइने गरिन्छ। हिउँदमा शीतलहर तथा तुसारोबाट तरकारीलाई जोगाउन टनेलले मद्दत गर्नेगर्छ। त्यस्तै वर्षाको समयमा रोग किराबाट बताउन टनेलले सहयोग गर्ने गरेको किसानहरूको भनाई छ।

यहाँका किसान पछिल्लो समय बेमौसमी तरकारी खेतीतर्फ आकर्षित भएका छन्। आर्थिक अवस्था कमजोर भएकाहरू पनि तरकारी खेती गरेर आत्मनिर्भर हुँदै आइरहेका छन्। बाँसका टहरामा प्लास्टिक लगाएर टर्नेल बनाई बाह्रै महिना तरकारी खेती गर्न सकिने किसानको भनाई छ। यस ठाउँमा पोखरी पनि निर्माण गरिएको छ। तरकारी उत्पादनमा सहजताका लागि जिल्ला कृषि विकास कार्यालय धादिङले पनि अुनदानमा बीउ प्रदान गर्दै आइरहेका छन्। बेलाबेलामा अनुुगमन गर्ने गरेको जिल्ला कृषि विकास कार्यालय धादिङका बरिष्ठ कृषि विकास अधिकृत केशव देवकोटाले बताए। समग्र तरकारी उत्पादन घटे पनि बेमौसमी तरकारीको उत्पादनमा सुधार भएको कार्यालयले जानकारी दिएको छ। अब स्थानीय तहबाट नै सेवा प्रदान गरिने देवकोटाले बताए।

तरकारीको पकेट क्षेत्र मानिने धादिङ जिल्लामा पछिल्लो समय पानी तथा बीउबिजनको समस्याले तरकारी उत्पादनमा ह्रास आइरहेका छ। किसानहरू तरकारी खेती भन्दा पनि अन्य पेसा व्यवसायमा लाग्न थालेका छन्। यस क्षेत्रमा रिम्स नेपालले प्लास्टिकको टनेल, पानी राख्ने ट्याङकी, पाइप, औजार लगायतका कृषि औजारहरू प्रदान गरेको कार्यकारी निर्देशक बिष्णु त्रिपाठीले जानकारी दिए। तरकारी उत्पादन हुने क्षेत्र थाक्रे, नौविसे, केवलपुर, तसर्पू लगायतका क्षेत्रमा समूह निर्माण गर्ने, तरकारी संकलन निर्माण, कृषि औजार प्रदान गर्दै आइरहेका छन्।

प्रतिक्रिया