प्रतिष्ठा कमाएका नेपालका सामुदायिक विद्यालयहरू
शिक्षाखबर डेस्क
१७ बैशाख २०७५, सोमबार
no immg

काठमाडाैं । १७ बैशाख – 

सामूदायिक विद्यालय भन्ने वित्तिकै सबैले मुख बिगार्छन् । सामूदायिक विद्यालयमा भौतिक सुविधा, अतिरिक्त सुविधा, शिक्षक, व्यवस्थापन लगायतका सुविधाहरु खराब हुन्छ अथवा निम्न स्तरको हुन्छ भन्ने सबैलाई छ । निम्न आर्थिकस्तर भएका र पढाइमा कमजोर विद्यार्थीले मात्र सामूदायिक विद्यालयमा पढ्छन् भन्ने सोच जनमानसमा छ । देशभरमा करिब ३० हजार सामूदायिक विद्यालय छन् । ती सबै विद्यालयमध्ये कुनै विद्यालय उत्कृष्ट छन् । निजी विद्यालयलाई टक्कर दिने अथवा त्योभन्दा पनि राम्रो सामूदायिक विद्यालयहरु पनि छन् । यहाँ तिनै उत्कृष्टमध्ये १० विद्यालयहरुका बारेका प्रस्तुत गर्दैछौं ।
१) सत्यवति माध्यमिक 
विद्यालय, तनहुँ
तनहुँस्थित सत्यवति मावि जिल्लाकै उत्कृष्ट विद्यालयमध्ये पर्छ । पश्चिमाञ्चल विकास क्षेत्रकै उत्कृष्टमध्ये एक सामूदायिक विद्यालयमा सिकाइको उपलब्धी बढी भएको प्रधानाध्यापक इन्द्रप्रसाद पौडेल बताउँछन् । उनका अनुसार विद्यालयको भौतिक संरचना लगायत शिक्षक जनशक्ति पनि उत्कृष्ट छ । उनले भने, “अभिभावकले विद्यालयबाट आशा गरेको सहयोग प्रदान गर्नुका साथै विद्यार्थीलाई आवश्यक हरेक सेवा सूविधा प्रदान गरेका छौं ।”
गतवर्ष एसईई दिएका कुल विद्यार्थीमध्ये ४६ जनाले ३.६ भन्दा माथी जीपीए ल्याउन सफल भएका थिए । यो वर्ष ३ सय ४९ जना विद्यार्थी एसईई परीक्षामा सहभागी भएका छन् । आधुनिक प्रयोगशाला भएको यस विद्यालयमा ३ वटा कम्प्यूटर ल्याव र २ वटा लाइब्रेरी छ । विद्यालयले २०५७÷६६÷६७ र ७० सालमा पश्चिमाञ्चल विकास क्षेत्रकै उत्कृष्ट सामूदायिक विद्यालयको पुरस्कार प्राप्त गरेको थियो । त्यसैगरी विद्यालयले राष्ट्रपति रनिङ शिल्ड पनि हासिल गरिसकेको छ ।
विद्यालयमा रेडक्रस, स्काउटका कार्यक्रमहरु पनि सञ्चालन हुन्छन् । अतिरिक्त क्रियाकलापहरु पनि हुनेगरेको छ । पछिल्लो वर्ष विद्यालय जुनियर रेडक्रसको राष्ट्रिय गोष्ठि यसै विद्यालयमा भएको थियो भने यो वर्ष राष्ट्रिय स्तर प्रतियोगितामा दोस्रो भएको छ । विद्यालयमा कक्षा ९ देखि १२ सम्म कम्प्यूटर विज्ञान पढाइन्छ । उक्त विद्यालयका शिक्षक र कर्मचारीका छोराछोरीहरु पनि सोही विद्यालयमा नै अध्ययन गर्छन् । विद्यालयका ८९ जना शिक्षक कर्मचारीका १ सय ८५ जना विद्यार्थी सोहि विद्यालयमा अध्ययन गर्ने प्रधानाध्यापक पौडेलले बताए । विद्यालयमा प्रोजेक्टरको माध्यमबाट पनि पढाइन्छ भने फिल्ड वर्क र प्रोजेक्ट वर्कमा पनि सहभागीता राम्रो छ ।

२) नारायणी नमूना माध्यमिक विद्यालय, चितवन
नेपालकै पहिलो नमूना विद्यालय (२०६९) नारायणी माविलाई अझै पनि केही बुढापाकाले ‘नाइट स्कुल’ भनेर चिन्दछन् । २०३० जेठ ६ गते स्थापना भएको उक्त विद्यालयमा पहिला रात्रि कक्षामात्र सञ्चालन हुन्थे भने आज प्रदेश नं ३ कै उत्कृष्ट विद्यालयको रुपमा स्थापित भएको छ । यस विद्यालयमा अंग्रेजी माध्यमबाट पनि पढाइ हुन्छ । प्रवेश परीक्षा लिएर विद्यार्थी छनौट गर्ने यस सामूदायिक विद्यालयमा भर्ना नपाएमा मात्र विद्यार्थी निजी विद्यालयको विकल्प रोज्ने गरेको प्रधानाध्यापक पूर्ण दवाडिले बताए ।
उनले भने, “विद्यालयमा अन्य विद्यालयभन्दा एक पिरियड बढी हुने गरेको छ । यसमा हामी उनीहरुलाई किताबभन्दा बाहिरका आवश्यक कुराहरु सिकाउने गरेका छौं ।” अभिभावकसँग राम्रो नाता भएको र राजनीतिक किचलो नभएको प्रधानाध्यापक दवाडिले दावी गरे । सबै शिक्षकहरुले विद्यालय कसरी राम्रो बनाउने भन्ने कुरालाई प्राथमिकता दिएको छ । आकर्षक नर्सरी भएको विद्यालयमा मन्टेशरी विधिबाट पढाइ हुन्छ । विद्यालयमा फुलबारी, खेल मैदान, कम्प्यूटर ल्याब, लाइब्रेरीको पनि राम्रो व्यवस्था छ । करीब २ हजार विद्यार्थी भएको यस सामूदायिक विद्यालयमा डिजिटल पढाइ पनि हुने गरेको छ । विद्यालयले धेरैपटक राष्ट्रियस्तर र जिल्लास्तरको पुरस्कारहरु प्राप्त गरिसकेको छ । यसका साथै अन्य संस्थाहरुबाट पनि पुरस्कार हासिल गरिसकेको नारायणि माविसँग उपहारको खात छ ।

३) कालिका माध्यमिक 
विद्यालय, बुटवल
अभिभावक, विद्यार्थी र समूदायले रुचाएको सामुदायिक विद्यालय कालिका माविले २०७१÷७२ र ७३ मा लगातार एसईईमा उत्कृष्ट नतीजा ल्याएका कारण नेपाल सरकारबाट पुरस्कार हासिल गरिसकेको छ । विद्यालयको योजनामा हिँडेका विद्यार्थी, शिक्षक र कर्मचारीले विद्यालयलाई उत्कृष्ट बनाउनमा योगदान पु¥याएको प्रधानाध्यापक घनश्याम पाठकको भनाइ छ । रेडक्रस, स्काउट, इन्ट¥याक्ट क्लब, लाइब्रेरी, विज्ञान ल्याब, क्म्प्यूटर ल्याब, साहित्य, नृत्य, गायन र खेलकुदलगायत पर्याप्त सेवा सुविधा प्रदान गरेको यस विद्यालयमा नर्सरी तहका विद्यार्थीले शैक्षिक सामग्री र विद्यालयमा खेल्नका लागि खेलौना निःशुल्क प्राप्त गर्छन् ।
विद्यालयमा प्राविधिक शिक्षा पनि अध्यापन गराइन्छ । कालिकामा कक्षा ८ देखि १२ सम्म प्राविधिक शिक्षा अध्ययन गराइन्छ । विद्यालयमा करिब ४ हजार ४ सय विद्यार्थी अध्ययनरत छन् भने १ सय ८७ शिक्षक कर्मचारी छन् । विद्यालयले राष्ट्रिय तथा जिल्लास्तरका थुप्रै पुरस्कारहरु आफ्नो पोल्टामा पारिसकेको छ । गुणस्तरिय शिक्षा, उच्च स्तरिय सुविधा, भौतिक संरचना र कुशल नेतृत्वका कारण विद्यालयले उच्च स्थान हासिल गरेको प्रधानाध्यापक पाठकले जानकारी दिए ।

४) रत्नराज्य माध्यमिक विद्यालय, मध्यबानेश्वर
काठमाडौंको नाम चलेको सामूदायिक विद्यालयमध्ये एक हो रत्नराज्य मावि । शिक्षकको काम र राम्रो व्यवस्थापनका कारण विद्यालय उत्कृष्ट बन्न पुगेको बताउँछिन् प्रधानाध्यापक डा. गिता खरेल सिवाकोटी । भन्छिन्,“समूदायले शिक्षामा गुणस्तर नै रोज्ने रहेछन् । हामीले शिक्षामा गुणस्तर कायम गरेकाले नै हामी धेरैको रुचिमध्ये एक पर्दछौं ।” रत्नराज्य विद्यालयमा हरेक वर्ष विद्यार्थीको घुँइचो लाग्ने गरेको छ । विद्यालय व्यवस्थापन समितिले बनाएको योजनामा विद्यालयका शिक्षक कर्मचारी चल्ने भएकाले विद्यालय यहाँसम्म पुगेको हो । विद्यालयमा भर्ना हुनका लागि प्रवेश परीक्षा पास गर्नु अनिवार्य छ । यो वर्षपनि भर्नाका लागि धेरै फारमहरु आएको सिवाकोटीले बताइन् । विद्यालयको नतीजा पनि उत्कृष्टमध्ये एक मानिन्छ । गतवर्ष एसईईमा करीब ३० जना विद्यार्थीले ए प्लस ल्याएका थिए । विद्यालयमा रेडक्रस, स्काउट लगायतको अतिरिक्त क्रियाकलापहरु विद्यालयमा हुनेगरेको छ । वि.सं. २०१८ मा स्थापित यस विद्यालयले हालसम्म विभिन्न राष्ट्रिय तथा क्षेत्रिय पुरस्कारहरु प्राप्त गरेको छ । हालै सम्पन्न राष्ट्रियपति रनिङ शिल्डमा यस विद्यालयका विद्यार्थी दोस्रो भएका प्रधानाध्यापक सिवाकोटिले बताइन् । यस विद्यालयमा कक्षा १ देखि ७ सम्म ३ वटा अतिरिक्त कक्षा र कक्षा ८ देखि १० सम्म ४ वटा अतिरिक्त कक्षा सञ्चालन हुन्छ । विद्यालयमा हाल २ हजार १ सय विद्यार्थी छन् । सामुदायिक विद्यालयमा पनि निजी विद्यालयमा जस्तै शिक्षा प्रदान गर्न सकिन्छ भन्ने हेतुले कक्षा ३ वाट नै कम्प्यूटर शिक्षा भएकोले धेरै अभिभावकले रुचाएका छन् । विद्यालयमा भर्ना हुन आउने विद्यार्थीहरु प्रायः निजीबाट नै आउने गरेका छन् ।

५) ज्ञानोदय माध्यमिक 
विद्यालय, कलंकीे
भर्नाका लागि विद्यार्थीको भीड लाग्ने गरेको सामूदायिक विद्यालय हो कलंकीस्थित ज्ञानोदय मावि । विद्यालयमा अत्याधिक चाप हुने यस विद्यालयमा पनि भर्नाका लागि प्रवेश परीक्षा दिनुपर्छ । यो विद्यालयमा कक्षा एकदेखि १० सम्म अंग्रेजी माधयममा अध्यापन हुन्छ । शिक्षाको गुणस्तर राम्रो भएकाले अभिभावक तथा विद्यार्थीको रोजाइको विद्यालय हुन पुगेको छ ज्ञानोदय । हरेक वर्ष विद्यालयको नतीजा उत्कृष्ट आउने गरेको छ । विद्यालयमा निजी विद्यालयमा अध्ययन गरेर आउने विद्यार्थीको संख्या पनि उच्च मात्रामा रहेको छ । कम्प्यूटर शिक्षा अनिवार्य शिक्षाका रुपमा सञ्चालन गरिरहेको विद्यालयमा पाठ्यक्रम बाहेक थप किताब र कक्षा सञ्चालन गरिरहेको छ । विद्यालयमा कक्षा ९ देखि १२ सम्म सिभिल इन्जिनियरिङ विषय पढाई हुने गरेको छ । विद्यार्थीको जग नर्सरी र केजी कक्षादेखि नै बस्ने भएकाले यो तहमा अलि बढि लगानी गरिएको विद्यालयका प्रधानाध्यापक नातिकाजी महर्जनले बताए ।
विद्यालयमा हाल करीब १०० जना शिक्षक कर्मचारी छन् भने २ हजार ३ सय विद्यार्थी अध्ययनरत छन् । विद्यालयका शिक्षक कर्मचारी र प्रधानाध्यापकका छोराछोरी पनि उक्त विद्यालयमा अध्ययन गर्छन् । विद्यालयले ब्रिटिस काउन्सिलको इन्टरनेशनल स्कुल अवार्ड प्राप्त गरेको छ भने सिनियर डिभिजनको एनसीसी प्रतियोगितामा भाग लिएर ३ जना विद्यार्थी विदेश भ्रमणका लागि छनौट पनि भएका प्रधानाध्यापक महर्जनले बताए । विद्यालयमा इसीए इन्चार्जको संयोजकत्वमा बालअधिकार, सरसफाइ, बृक्ष संरक्षण लगायत सम्पूणर्न खेलकुद गतिविधि पनि गर्ने गरिएको छ । २०२० सालमा स्थापना भएको यस सामुदायिक विद्यालयले शिक्षा दिवसको अवसरमा राष्ट्रिय शिक्षा पुरस्कार पनि प्राप्त गरेको छ भने ३ पटक जिल्लास्तरिय पुरस्कार पनि प्राप्त गरेको छ । कम्प्यूटर शिक्षाका लागि, स्मार्ट क्लासरुम र आईसीटी पाइलट क्लासरुम गरी विद्यालयमा हाल ३ वटा कम्प्यूटर ल्याब छन् । विद्यालयमा लाइब्रेरी र ल्याबको पनि राम्रो व्यवस्था छ ।

६) हिमालय माध्यमिक 
विद्यालय, दमक
वि.स. २०१२ सालमा प्राथमिक तहबाट स्थापना भएको यस विद्यालयमा हालसम्म आएर उच्च माध्यमिक तहसम्मको पढाइ हुन्छ । पहिला भर्नाका लागि विज्ञापन दिनुपर्ने विद्यालयमा हाल कुनै कुनै कक्षामा मात्र चयन गरेर विद्यार्थी भर्ना लिनुपर्ने अवस्था छ । झापा कै उत्कृष्टमध्येको एक हिमावीमा हाल अंग्रेजी माध्यममा पढाइ हुन्छ । विद्यालयका प्रधानाध्यापक विष्णुकान्त झाले २०६६ सालदेखि विद्यालयमा कक्षा ८ सम्म अंग्रेजी माध्यममा अध्यापन सुरु गरेको बताए । “कक्षा ८ का विद्यार्थी ९ मा पुगेपछि फेरि ९ देखि अंग्रेजी माध्यममा पढाउन सुरु गरेका हौं । अंग्रेजी भाषा आजको युगमा आवश्यक महसुस भएर हामीले सुरु गरेका छौं ।” उनले भने,“अन्य विद्यालयबाट नेपाली माध्यमबाट आधारभूत तह अध्ययन गरेर आएका विद्यार्थीलाई सहज होस् भनेर हामीले कक्षा ९ देखि १२ सम्म केही नेपाली माध्यमका कक्षाहरु पनि सञ्चालन गरेका छौं ।”
विद्यालयका शिक्षक कर्मचारीका छोराछोरी पनि उक्त विद्यालयमा नै अध्ययन गर्ने उनले बताए । विद्यालयमा हाल ७२ जना शिक्षक छन् भने तीमध्ये ५४ जना दरबन्दीका शिक्षक छन् । विद्यालयमा २ हजार ६ सय ४७ जना विद्यार्थी छन् । विद्यालय शिक्षा अझ प्रभावकारी बनाउनका लागि विद्यालयमा प्रोजेक्ट बेस्ड लर्निङमा लैजाने क्रम जारी छ । विद्यालयलाई शिक्षा मन्त्रालयले जिल्ला कै उत्कृष्ट विद्यालय घोषणा गरेको छ भने देशकै नमूना विद्यालयका रुपमा स्थापना हुने विद्यालयको प्रयास जारी छ । कक्षा ९ देखि १२ कक्षासम्म कम्प्यूटर इन्जिनियरिङ पढाइ हुन्छ । स्काउट, इको—फ्रेन्डली क्लब, रेडक्रस, खेलकुद जस्ता विभिन्न सुविधा भएको विद्यालयमा २ वटा कम्प्यूटर ल्याबमा ८७ वटा कम्प्यूटर छ भने करीब ७ हजार पुस्तक भएको लाइब्रेरी छ । उक्त लाइब्रेरीलाई ई—लाइब्रेरी बनाउने प्रयास भईरहेको प्रधानाध्यापक झाले बताए । विद्यालयमा बिहान ५ देखि ६ बजेसम्म मार्सलआर्ट पनि सिकाइन्छ । आउँदो शैक्षिक सत्रदेखि विद्यालयमा इलेक्ट्रोनिक लाइबेरी, संगीत ग्यालरीलगायतको सुविधा प्रदान गर्ने प्रधानाध्यापक झाले बताए ।

प्रतिक्रिया