काठमाडौँ — औषधि पसलेले चिकित्सकको प्रेस्क्रिप्सन (पुर्जा) मा उल्लेख भएअनुसारको नभई अर्कै औषधि दिएर बिरामीलाई हानि पुगे के हुन्छ ? ‘औषधि ऐनअनुसार यस्ता पसलेलाई जन्मकैद वा १० वर्षसम्म कैद र जरिवाना हुन सक्छ,’ औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाल भन्छन् ।
नेपाल मेडिकल काउन्सिलले पनि मान्यताप्राप्त बिक्रेताले मात्र स्पष्ट बुझिने प्रेस्क्रिप्सनका आधारमा औषधि बिक्रीवितरण गर्नुपर्ने जनाउँदै आएको छ । औषधि प्रस्तावित गर्ने अर्थात् पुर्जा लेख्ने डाक्टर, चिकित्साकर्मीको पहिचान आवश्यक भएझैं औषधि बिक्रीवितरण गर्ने पसलको समेत पहिचान उल्लेख हुनुपर्ने जनाउँदै काउन्सिलका प्रवक्ता डा. कृष्ण अधिकारी भन्छन्, ‘यसका लागि औषधि बेच्ने पसलेले आफ्नो छापलगायतका पहिचान बिरामीको पुर्जामा उल्लेख गर्नुपर्छ ।’
औषधिको नाम, सेवन गर्ने समय र अवधि आदि विस्तृत जानकारी स्पष्ट नभई अनुमानका भरमा र चिकित्सक वा स्वास्थ्यकर्मीको सहमति वा सिफारिसबिना पसलेले औषधि बिक्रीवितरण गर्न नहुने उल्लेख गर्दै डा. अधिकारी भन्छन्, ‘यसविपरीत काम गर्ने औषधि बिक्रेतालाई औषधि ऐनअनुसार कारबाही हुन्छ ।’
औषधि ऐनमा औषधिको अनुचित प्रयोग वा दुरुपयोग गरे, म्याद नाघेको औषधि बिक्रीवितरण गरे, औषधिमा मिसावट गरे र मिसावट भएको औषधि बिक्री गरे, कुनै अरू थोकलाई औषधि भनी बिक्री गरे, लागू र विषालु औषधि सुरक्षित राख्नुपर्नेमा बर्खिलाफ हुने गरी कुनै कामकारबाही गरेसमेत कडा दण्डजरिवाना हुने व्यवस्था छ ।
‘यसअन्तर्गत ज्यानलाई खतरा पुग्ने सम्भावना भए जन्मकैद वा १० वर्षसम्म कैद र जरिवाना दुवै हुन सक्छ,’ ढकाल भन्छन्, ‘यसरी शरीरको कुनै अंगको शक्ति क्षीण वा हरण हुन सक्ने भए १० वर्षसम्म कैद र जरिवाना एवं अन्य अवस्थामा ५ वर्षसम्म कैद वा जरिवाना वा दुवै सजाय हुन सक्छ ।’
औषधि पसल खोल्दा सबै प्रकारका साधन र जनशक्ति हुनैपर्ने कानुनी व्यवस्था छ । आवश्यक जनशक्ति र साधन नजुटाई औषधिको उत्पादन, बिक्रीवितरण, डिस्पेन्सिङ वा सञ्चय गर्नु हुँदैन । यसो गरेको पाइए ३ वर्ष कैद, २५ हजार जरिवानासमेत हुन सक्छ । अझ यसले गर्दा ज्यानको खतरा या अंगभंग भए औषधि बिक्रेतालाई जन्मकैदसम्म हुन सक्ने ढकाल बताउँछन् ।
चिकित्सकका अनुसार अहिले पनि मुलुकमा औषधि विज्ञान नपढेका व्यक्तिले औषधि पसल सञ्चालन गर्दै आएका छन् । यो ठूलो समस्या हो । डा. अधिकारीका अनुसार केही औषधि पसलमा प्रमाणपत्र एक व्यक्तिको झुन्डिएको हुन्छ भने औषधि दिने अर्कै व्यक्तिसमेत रहने गरेको देखिएको छ ।
मुलुकमा करिब २१ हजार औषधि पसल दर्ता भई सञ्चालनमा छन् । विभाग स्रोतका अनुसार करिब ७ हजार औषधि पसल बिनादर्ता सञ्चालनमा रहेको अनुमान छ ।