काठमाडाैं । १८ बैशाख –
आइतबार राति परेको असिना पानी र हावाहुरीले दाङ जिल्लाका विभिन्न भागमा लाखौँको बालीनालीमा क्षति भएको छ ।
असिना पानीले देउखुरी लमहीको कोलही क्षेत्रदेखि गढवा क्षेत्र तथा अन्य क्षेत्रमा लगाइएका तरकारी बालीमा व्यापक क्षति पुर्याएको त्यहाँका किसानले बताएका हुन् । देउखुरीमा बेमौसमी खेतीका रुपमा प्रख्यात बगर खेतीमा फल्न थालेका बोडी, भिन्डी, करेला र लौका खेतीमा व्यापक क्षति पुर्याएपछि त्यहाँका किसान निराश भएका छन् ।
‘‘आइतबारको असिना पानीले खेतबारीको सबै तरकारी खेती नष्ट गरिदिएको छ, अब हातमुख जोर्ने विकल्पसमेत रहेन”, तरकारी किसान कुन्ती चौधरीले भन्नुभयो । उहाँ जस्तै देउखुरीमा व्यावसायिक तरकारी खेती गर्ने करीब १०० भन्दा बढी परिवार यसबाट प्रभावित भएका छन् । त्यसैगरी रामपुरको बुका क्षेत्रमा पनि बेमौसमी तरकारी खेती हावाहुरी र असिनाले सखाप बनाएको त्यहाँका किसानले बताएका छन् ।
बेमौसमी तरकारी बालीमा क्षति पुर्याएसँगै सोमबारदेखि देउखुरीमा तरकारीको भाउ अत्यन्तै बढेको उपभोक्ताले बताएका छन् । तरकारीको मूल्य पनि करीब दोब्बर महँगो भएको लमहीकी उपभोक्ता यमुना केसीले बताउनुभयो ।
हावाहुरीले जिल्लाको जनजीवनमा समेत प्रभावित परेको छ । असिना, हावाहुरी र चट्याङले जिल्लाका विभिन्न क्षेत्रमा विद्युतका पोलमा क्षति पुर्याउँदा आइतबार रातिदेखि विद्युत् सेवा कहीँ ठप्प तथा कहीँ अनियमित रुपमा प्रसारण भइरहेको छ ।
विद्युत् सेवा अवरुद्ध हुँदा जिल्लाका सञ्चारमाध्यम सबैभन्दा प्रभावित भएका छन् । कहाँ विग्रिएको छ छ भन्ने पत्ता लगाउन विद्युत्का प्राविधिकलाई समेत हम्मेहम्मे परेको जिल्ला विद्युत् कार्यालयले जनाएको छ ।
यसैबीच असिना पानी परेपछि पहाडी क्षेत्र तथा पश्चिम दाङका किसान भने खुशी भएका छन् । मकैबालीका लागि वैशाख १५ पछि उत्तम मानिने भन्दै यही वर्षात्को अवसर छोपी मकैबाली लगाउन थालिएको त्यहाँका स्थानीयवासीले बताएका छन् ।
वैशाख पहिलो सातादेखि नै त्यहाँका किसानले मल बीउ र बर्खे तरकारीलगायतको जोहो गरिसकेका हुन्छन् । त्यसैगरी पहाडी क्षेत्रमा समेत मकैबाली लगाउन शुरु गरिएको त्यहाँका किसानले जनाएका छन् । मध्य दाङको समथर भागमा भने जेठ पहिलो सातालाई मात्रै मकैबालीका लागि उपयुक्त मौसमका रुपमा लिइँदै आएको छ ।