कानून विषय पढ्नेकाे लर्काे
शिक्षाखबर डेस्क
७ जेष्ठ २०७५, सोमबार
no immg

काठमाडाैं । ७ जेठ  

पछिल्लो पटक कानून विषय पढ्न विद्यार्थी आकर्षित भएका छन् ।

संघीय संरचनामा मुलुकलाई कानून विषय पढेको जनशक्ति चाहिने र कानून विषय सबै क्षेत्रमा काम लाग्ने भएकाले यस विषयप्रति आकर्षण बढेको हो । पछिल्ला तीन वर्षमा कानून विषय पढ्नका लागि कर्मचारी, सुरक्षाकर्मी, राजनीतिक दलका नेता, पत्रकार सबैको रोजाइ बनेको छ ।

त्रिभुवन विश्वविद्यालय तथा यस अन्तर्गत छवटा आंगिक र दुईवटा निजी क्याम्पसका साथै पूर्वाञ्चल विश्वविद्यालयमा मात्र कानून विषयको पढाइ हुने गर्छ ।

त्रिविका कानून संकाय डिन प्रा डा ताराप्रसाद सापकोटाले कानून नजानी नहुने विषय भएकाले पछिल्लो समय यसको आकर्षण बढेको बताउनुभयो ।

संघीयता लागू भएसँगै स्थानीय तहमा कानून विषय पढेको जनशक्ति चाहिने भएकाले पनि आकर्षण भएको उहाँले जानकारी दिनुभयो ।
सरकारी कार्यालयमा प्रमुख हुनका लागि कर्मचारीले अनिवार्य कानून विषय पढेको हुनुपर्ने र बढुवाका लागि पनि कानून विषय सहज हुने भएकाले यो विषय पढ्नेको संख्यामा वृद्धि भएको उहाँको भनाइ थियो ।

स्नातक तहमा कानून विषय पढ्ने विद्यार्थीलाई क्याम्पसले धान्न नसकेर यस वर्षदेखि निश्चित कोटा प्रणाली लागू गरेको छ । कोटा प्रणाली शुरु गरे पनि अध्ययन गर्नका लागि फाराम भर्नेको संख्या अधिक छ ।

अहिले देशभरिका छवटा क्याम्पसमा प्रवेश परीक्षाका लागि फाराम वितरण भइरहेको छ । वैशाख २१ देखि जेठ ११ गतेसम्म फाराम वितरण भइरहेको र अहिलेसम्म करीब दुई हजार पाँचजनाले फाराम भरिसकेको नेपाल ल क्याम्पसका प्रमुख दीननाथ पराजुलीले जानकारी दिनुभयो । उहाँले फाराम भर्ने समय अझै रहेकाले चार हजारसम्म पुग्ने बताउनुभयो । गतवर्ष ल क्याम्पसमा चार हजार २०० विद्यार्थीले पहिलो वर्षमा अध्ययन गरेका थिए ।

डिन कार्यालयले यसपटक उक्त क्याम्पसमा ८०० र उपत्यका बाहिरका पाँच क्याम्पसमा १५० जनाको कोटा निर्धारण गरी प्रवेश परीक्षा लिदैछ ।

एउटा स्थानीय तहमा कम्तीमा पनि तीनजनासम्म कानून अधिकृत चाहिने भएकाले पनि कानून विषय पढेको संख्या वृद्धि भएको हो ।

क्याम्पस प्रमुख पराजुलीले कानून विषय पढेर जागिरे नभई आफैँ कार्यालय खोलेर काम गर्न सक्ने भएकाले पनि विद्यार्थीको आकर्षण बढेको बताउनुभयो । उहाँले अन्य विषयभन्दा कानून विषय व्यावहारिक भएकाले पनि विद्यार्थीको आकर्षण बढेको हो भन्नुभयो ।

“अन्य विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरे पनि तुरुन्तै जागिर पाउन गाह्रो हुन्छ”, उहाँले भन्नुभयो, “तर कानून विषय पढेपछि जागिरे नभई आफैँ पनि ल फार्म खोलेर काम गर्न सकिने भएकाले बेरोजगार बस्नु पर्दैन ।”

त्रिविले स्नातक तहमा तीन वर्षे एलएलवी र पाँच वर्षे बिएएलएलबी कक्षा सञ्चालन गरेको छ भने स्नातकोत्तर तहमा चार सेमेष्टर र छ सेमेष्टर कक्षा सञ्चालन गरेको छ ।

ल क्याम्पसका निवर्तमान स्ववियु सभापति गुणराज आचार्यले कानून विषय पढेर बेरोजगार बस्नु नपर्ने भएकाले आकर्षण बढेको बताउनुभयो ।

डिन कार्यालयका प्रमुख प्रा डा सापकोटाका अनुसार देशभरि वर्षेनी १४ हजार विद्यार्थीले कानून विषय पढ्ने गरेका छन् ।

प्रतिक्रिया