काठमाडाैं । ९ जेठ
म आफ्नो बाटो जाँदैछु, हाम्रा छोराछोरीको ख्याल गर्नुहोला,’ केरलाकी ३१ वर्षीया नर्स लिनि पुथुसेरीले अस्पतालको आइसोलेसन युनिटबाट आफ्नो पतिलाई लेखिन् । जीवनको अन्तिम समयमा उनले न परिवारलाई देख्न पाइन्, न उनका छोराछोरीले आमा देख्न पाए । उनी बिरामी भएको खबर सुनेपछि उनका पति साजीस दुई दिनअघिमात्रै खाडी मुलुकबाट भारत आएका थिए । संक्रमण अरुलाई फैलन नपाओस् भनेर निधनलगत्तै उनको अन्त्येष्टि गरियो ।
केरलाको कोझिकोदे अस्पतालमा निपा भाइरसका बिरामीको उपचारमा खटिएकी नर्स लिनिको त्यही भाइरसले नै ज्यान लियो ।
नर्स लिनिले छोराछोरीको राम्रो हेरचाह गर्न आग्रह गर्दै पतिलाई लेखेको पत्रमा भनेकी छन्, ‘साजिस, म आफ्नो बाटो जाँदैछु, सायद अब मैले तिमीलाई देख्न पाउँदिन । मलाई माफ गर । छोराछोरीको राम्रो हेरचाह गर । उनीहरुले एक्लो महसुस गर्न नपरोस् । धेरै–धेरै माया ।’
अहिले उनको यो पत्र सामाजिक सन्जालमा भाइरल भैरहेको छ, जसका कारण धेरैको आँखामा आँशु झरेको छ ।
‘नर्स लिनिले निपा भाइरसविरुद्धको लडाईंको क्रममा मृत्युवरण गरिन्, संक्रमित बिरामीलाई बचाउने प्रयास गर्दागर्दै उनको मृत्यु भयो । ३१ वर्षकी उनका २ बच्चा छन्,’ चिकित्सकको नेटवर्क डेलीराउण्डका प्रमुख कार्यकारी डा. दीपु सेविनले ट्वीट गर्दै भनेका छन् ।
केरलाको मुख्यमन्त्री पिनारायी विजयनले पनि नर्स लिनि पुथुसेरीको स्वार्थरहित सेवालाई सदा सम्झिइने उल्लेख गरेका छन् ।
पिराम्बरा अस्पतालले नर्सको निधनलगत्तै अन्त्येष्टि गरिएको पुष्टि गरेको छ । केरलाको स्वास्थ्य विभागले निपा भाइरसबाट अहिलेसम्म ५ जनाको मृत्यु भएको जनाएको छ । तीमध्ये एकै परिवारका तीनजना छन् । केरलाको कोझीकोदे नजिकैको मालाप्पुरममा उच्च ज्वरोका कारण करिब एक दर्जन मानिसको मृत्यु भैसकेको छ । यस्तै कोझीकोदे मेडिकल कलेज अस्पतालमा उच्च ज्वरोका कारण थप दुई नर्स भर्ना भएका छन् ।
कस्तो हो निपा भाइरस ?
निपा भाइरस चमेरोबाट सर्छ । यसका संक्रमितमा श्वासप्रश्वासमा कठिनाई, मष्तिष्क सुन्निने, उच्च ज्वरो, टाउको दुख्ने, रिङगटा लाग्नेजस्ता लक्षण देखिन्छन् । संक्रमित भएको ४८ घण्टामै बिरामी कोमामा जान सक्छन् । बिरामीसँग प्रत्यक्ष सम्पर्कबाट यो रोग सर्छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार निपा भाइरसको भ्याक्सिन अहिलेसम्म छैन । यसको मुख्य उपचार भनेकै ‘इन्टेन्सिभ सर्पोटिभ केयर’ मा राख्नु हो । निपा भाइरसको संक्रमण फैलन थालेपछि केरलामा उच्च सतर्कता अपनाइएको छ । प्रभावित कोझीकोदोमा दुई नियन्त्रण कक्ष स्थापना गरिएको छ । राज्य सरकालाई सहयोगका लागि केन्द्रबाट टोली स्वास्थ्य टोली पनि पठाइएको छ ।
.