मुगुमा औलो प्रकोप : एक महिनापछि विशेषज्ञ टोली रिगागाउँमा
शिक्षाखबर डेस्क
२६ असार २०७५, मंगलवार
no immg

मुगु,२६-असार/औलो रोग फैलिएको एक महिनापछि काठमाडौंबाट विशेषज्ञसहित स्वास्थ्यकर्मीको टोली मुगुको रिगागाउँ पुगेको छ । काठमाडौं र मुगु सदरमुकामबाट गएको टोलीले आइतबारदेखि उपचार सुरु गरेको छ ।

उच्च हिमाली जिल्ला मुगुको खत्याड गाउँपालिका वडा नं. ८ र १० को रिगागाउँमा जेठ अन्तिम सातादेखि औलो रोग फैलिएको हो । गाउँका अधिकांश बासिन्दा बिरामी परेका छन् भने ३० जनामा औलो रोग देखिएको जिल्ला स्वास्थ्य कार्यालय मुगुले जनाएको छ ।

गाउँमा पुगेको स्वास्थ्यकर्मीको टोलीले उपचार र औलो नियन्त्रणका उपाय अपनाउन थालेको क्षेत्रीय स्वास्थ्य निर्देशनालय सुर्खेतका भेक्टर कन्ट्रोल अधिकृत श्यामलाल आचार्यले बताए । विशेषज्ञ टोलीसँगै रिगागाउँमा रहेका उनले केही दिन गाउँमै बसेर उपचार गरिने बताए । ‘अझै एक साता गाउँमै बसेर उपचार गर्छौं,’ उनले भने । रिगागाउँमा औलो सार्ने खालको लामखुट्टे बाच्न सक्ने वातावरण भएकाले समस्या भएको उनको भनाइ छ ।

असार दोस्रो साता स्वास्थ्य चौकीको टोलीले रगत जाँच गर्दा १८ जनामा औलो देखिएको अनमी लीला बुढाले बताइन् । गाउँका एक सय २८ बिरामीको २४ असारमा रगत जाँच गर्दा थप १० जनामा औलो देखिएको जनाइएको छ ।

रिगागाउँमा बिरामी पर्नेमा अधिकांश बालबालिका छन् । औलो देखिएका ३० मध्ये १८ जना १५ वर्षमुनिका छन् । औलो देखिएका धेरैजसो बालबालिकामा दोहोरिएको पाइएको स्वास्थ्यकर्मीले बताए । केहीमा गत वर्ष पनि औलो देखिएको थियो ।

यहाँका बालबालिकाले शरीर छोपिने गरी कपडा नलगाउने गरेको, केही नांगै पनि हिँड्ने गरेको, सुत्दा झुल नलगाउने गरेको तथा तीतो हुने भएकाले औषधि नखाने गरेकाले दोहोरिएर औलो देखिएको स्वास्थ्यकर्मीको भनाइ छ ।

को छन् विशेषज्ञ टोलीमा ?
स्वास्थ्य विभाग, क्षेत्रीय स्वास्थ्य निर्देशनालय, सेभ द चिल्ड्रेन, जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय स्वास्थ्यकर्मीसहित १५ जनाको टोली गाउँमा पुगेको हो । टोलीमा स्वास्थ्य विभागका इन्टोमोलोजिस्ट अरुण चौधरी र भेक्टर कन्ट्रोल अधिकृत उत्तम प्याकुरेल, क्षेत्रीय स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत श्यामलाल आचार्य, सेभ द चिल्ड्रेनका इन्टोमोलोजिस्ट रोहित शाह, जिल्ला स्वास्थ्य कार्यालयका डा. विपिन काफ्ले छन् ।

त्यस्तै, जिल्ला स्वास्थ्य कार्यालय र रातापानी प्राथमिक स्वास्थ्य केन्द्रका तीन–तीन तथा आम स्वास्थ्य चौकीका चार स्वास्थ्यकर्मी छन् । उनीहरू गाउँमै खटिएको जिल्ला मलेरिया फोकल पर्सन बलिराज बुढाले बताए ।

टोलीले रगतको नमुना संकलन गर्ने, लामखुट्टेलाई समात्ने, औषधि वितरण गर्ने, रगत जाँच गर्ने र जनचेतना जगाउने काम गर्ने जनाएको छ ।

कीटनाशक झुल वितरण गरिने
रिगा र आसपासका गाउँमा कीटनाशक झुल वितरण गरिने भएको छ । लामखुट्टे रहेको आम, सुकाढिक, ठाम्लेक र ह्यांलुमा दुई हजार कीटनाशक झुल निःशुल्क वितरण गरिने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । बाजुराको मार्तडी पुगेको र त्यहाँबाट केही दिनमै रिगा गाउँ पुग्ने बुढाले बताए । त्यस्तै, सबैका गाउँका प्रत्येक घरमा कीटनाशक औषधि छर्ने तयारी गरिएको छ ।

गाउँ नै प्रभावित
औलोले रिगागाउँ नै प्रभावित भएको छ । बिरामी नभएको घर प्रायः कमै रहेको स्थानीय बासिन्दाले बताए । उनीहरू उपचार गर्न स्वास्थ्य संस्थामा जाने गरेका पनि छैनन् । उनीहरूलाई ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, हातखुट्टा दुख्नेलगायत समस्या देखिएको छ । ‘तीन दिन हुन लाग्यो, ज्वरो आउँछ, टाउको दुख्छ, बान्ता हुन्छ,’ खत्याड– ८ की मदा नेपालीले भनिन् ।

स्वास्थ्यकर्मीको टोली गाउँमा आएको थाहा पाएपछि उपचार गर्न आएकी नेपालीलाई औलो लागेको देखिएको छ । ‘हिँडडुल गर्न गाह्रो हुन्छ, खुट्टा थरथर काँप्छ,’ उनले भनिन् ।

प्रतिक्रिया