५ वर्ष अघिसम्म अलैँचीको विरुवा कमी हुने लमजुङमा यो वर्ष विक्रि नहुने अवस्था बनेको छ । कृषकले उत्पादन गरेको अलैँचीको विरुवा विक्री नहुँदा किसान चिन्तित बनेका छन् । केहि वर्ष अघिसम्म अलैँचीको मूल्य सवैभन्दा माथि भएसंँगै किसानहरुले खेतवारी नै मासेर अलैँची खेती थालेका थिए । तर यसको व्यवस्थापन, प्रविधि र राम्रो बजारीकरणको ज्ञान नभएकै कारण मूल्यमा गिरावट आएपछि खेति बिस्तारमा कमि आएको छ ।
मस्र्याङ्दी गाउँपालिका– ७ भुलभुलेको शेरा अलैंची नर्सरी फर्मले धान खेत मासेर अलैंचीका बिरुवा जमाएको छ । करिब ५० रोपनी क्षेत्रफलमा बनाइएको ग्रिन हाउसमा करिब ८ लाख बिरुवा हुर्किएका छन् । ४५ लाख बढी लगानी गरेर उत्पादन गरिएको बिरुवा बिक्री नहुँदा किसान निराश बनेको शेरा अलैंची नर्सरी फर्मका किसान केशलाल तामाङले बताए । ‘धान खेत मासेर बिरुवा जमाएका हौँ’, अलैंची किसान तामाङले भने, ‘बिरुवा हुर्किएर नर्सरीमा फूल फुलेर दाना लागिसक्यो, बिक्री नहुँदा निराश छौं ।’ उनीसँगै गाउँका ९ जना किसान मिलेर नर्सरी स्थापना गरेका हुन् ।
ग्रिन हाउस नर्सरीमा ३१ किलो बिउ उम्रिएकोे किसान इन्द्रप्रसाद तामाङले बताए । ‘एक केजी बिउबाट ८० हजार बिरुवा उम्रन्छ , ३१ किलो बिउबाट २० देखि २४ लाखसम्म बिरुवा उम्रिएको छ ’, तामाङले भने । ग्रिन हाउसमा रामशाही, गोलशाही, भर्लांङगे, डम्बरशाही, जिर्मले, साउन्ने जातका बिरुवा उत्पादन गरिएको छ ।
क्होलासोथर गाउँपालिका ८ घाम्राङका किसान मखन बहादुर गुरुङले बिरुवा बिक्री नहुँदा किसानहरु निराश भएको बताए । गुरुङका अनुसार गाउँका कसैको पनि बिरुवा बिक्री भएको छैन् । उनीमात्र होइन स्थानीय ईश्वर गुरुङले पनि १५ रोपनी क्षेत्रफलमा अलैंचीको नर्सरी जमाएका छन् । तर खेतबारी मासेर अलैंची नर्सरी जमाएका गुरुङलाई अहिले आफ्नो अलैचींको नर्सरी टाउको दुखाइको विषय बनेको छ कारण उनले उत्पादन गरेको अलैंची नर्सरी विक्री भएको छैन । गतवर्ष २ लाख विरुवा विक्री गरेका गुरुङको यसवर्ष भने अहिलेसम्म विक्री भएको छैन ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अलैंची जोन इकाई लमजुङका वरिष्ठ कृषि अधिकृत गोविन्दराज कोइरालाले जिल्लामा अलैंचीको विरुवा उत्पादन बढेतापनी किसानको मागमा कमी आएकाले किसानले उत्पादन गरेका अलैचीका विरुवा विक्री नभएको बताए । धेरै कृषकसँग थुप्रै नर्सरीमा विरुवा मौजात रहेको आफूले जानकारी पाएको उनले बताए । जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना सञ्चालन भएसँगै ५ लाख रुपैयाँ बरारबरको अलैचीका विरुवा ५० प्रतिशत अनुदानमा वितरण गरिएको छ । परियोजना सञ्चालन भएका ४ वटा गाउँपालिका र एउटा नगरपालिकाका अलैची किसानलाई विरुवा वितरण गरिएको हो ।
प्रधानमन्त्री कृषि परियोजना अन्तर्गत अलैँचीखेतीको सुधार र विस्तारमा सरकारी निकायबाट पनि सहयोग प्रदान गर्न थालिए पनि नेपालको मुख्य नगदे बालीका रुपमा रहेको अलैँचीका बिरुवा रोपेका धेरै कृषक विरुवा बिक्री नहुँदा समस्यामा परेको कोइरालाले बताए ।
नेपाल अलैची व्यवसायी महासंघ लमजुङका अध्यक्ष एवम् प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अलैंची जोन सञ्चालक समितीका जिल्ला संयोजक अजय तामाङले माग कम तर, बिरुवा उत्पादन धेरै भएकाले बिक्रीमा समस्या भएको बताए । उनका अनुसार जिल्लामा २० लाख अलैंचीका विरुवा उत्पादन भएपनि हालसम्म ५ लाख मात्र विरुवा विक्री भएको छ । उनले भने अलैंची नर्सरी विक्री नहुनु मुख्य कारण मुल्यमा ४ गुणा गिरावट आएसँगै किसानको अलैंची खेतीप्रति मनोबल घट्नु हो ।
तामाङका अनुसार किसानले उत्पादन गरेको अलैंचीले उचीत मुल्य नपाउँदा किसानको अलैंची खेतीतर्फको आर्कषण समेत घटेको छ । गतवर्ष लमजुङमा अलैंची नर्सरीबाट यहाँका किसानले २५ लाख विरुवा विक्री गरी २ करोड २५ लाख रुपैया आम्दानी गरेका थिए ।
नेपाल अलैँची व्यवसायी महासंघ लमजुङ, जिल्ला कृषि विकास कार्यालयको प्रतिनिधी, अलैंची नर्सरी धनी, अलैंची व्यावसायी र अलैंची कृषकहरुले संयुक्त रुपमा अलैँचीको विरुवाको नयाँ मूल्य निर्धारण गरेका थिए ।
जिल्लामा सबै जातको अलैँचीको प्रति विरुवा ८ रुपैयाँ निर्धारण गरिएको छ । नेपाल अलैंची व्यवसायी महासंघ लमजुङका अध्यक्ष तामाङका अनुुसार रामसाई ,गोलसाई, डम्वरसाई, साउने ,जिर्मले र भरलाङ्गे जातको अलैँची विरुवाको मुल्यमा एकरुपता कायम गरिएको छ । अलैँची व्यवसायी महासंघका अनुसार पुराना गाँजबाट निकालिएको (पान्ना) बाट छुटाएको विरुवाको भने प्रति विरुवा ५ रुपैँया निर्धारण गरिएको छ । तामाङका अनुसार ३२ महिना पुरा भएको नर्सरी विरुवाको मुल्य ८ रुपैया निर्धारण गरिएको छ ।
गतवर्ष प्रति विरुवा ७ रुपैया देखि ९ रुपैया निर्धारण गरिएको भएपनि यस वर्ष अलैँची किसानको संख्यामा वृद्धि हुनुका साथै अलैँची विरुवाका नर्सरी बनाउने किसानको संख्या उल्लेख्य भएका कारण विरुवाको मूल्य घटाइएको हो । लमजुङको भुलभुले ,बाँझाखेत, घनपोखरा, खुदी, गांैडा, इलमपोखरी, दुधपोखरी, बन्सार, ढोडेनी, फलेनी, ताघ्रिङ, कोल्की, पसगाउँका किसानहरुले व्यावसायीक रुपमा अलैंची खेती गदै आएका छन् । जिल्लामा ९ सय ५० हेक्टर क्षेत्रफलमा अलैंची खेती विस्तार गरिएको छ ।