काठमाडौं १९ साउन /शिक्षा, स्वास्थ्य, फोहोर व्यवस्थापन, पुनर्निर्माण, सांस्कृतिक सम्पदाको संरक्षण, व्यवस्थित सहर निर्माणलगायतका क्षेत्रमा गरेका नमुना कामहरू हेर्न देशभरका जनप्रतिनिधि अहिले भक्तपुर नगरपालिकाको अवलोकनमा आउन थालेका छन् ।
शिक्षा : नगरकै सात कलेज, इन्जिनियरिङ पढ्नेलाई ५०% छुट
भक्तपुर नगरपालिकाले सरकारी विद्यालयलाई सामुदायिक बनाउने सरकारी नीतिको विरोध ग-यो । विद्यालय व्यवस्थापन आफैँले जिम्मा लियो । सरकारी विद्यालय समुदायलाई जिम्मा लगाएर दायित्वबाट पन्छिने सरकारी प्रवृत्ति रोक्यो । जसको नतिजा गतिलो निस्कियो ।
नगरभित्र रहेका ९२ मध्ये ३५ स्कुल सामुदायिक छन् । केही सरकारी विद्यालयमा शिशुकक्षादेखि स्नातकोत्तरसम्मको पढाइ हुन्छ । कुनै सरकारी विद्यालयमा चार हजारभन्दा बढी विद्यार्थी छन् । बागेश्वरी मावि, वासु मावि, आदर्श मावि भक्तपुरका चर्चित सरकारी विद्यालय हुन् । यी विद्यालयले एसइई परीक्षामा शतप्रतिशत नतिजा निकाल्दै आएका छन् ।
एसइई परीक्षाको नतिजामा सरकारी विद्यालयतर्फ यिनै तीन विद्यालय नेपालकै पहिलो, दोस्रो र तेस्रो हुँदै आएका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगरपालिकाका मेयरदेखि अन्य पदाधिकारी छन् । सामुदायिक विद्यालयको शैक्षिकस्तर उठाउन यस वर्षदेखि मन्टेस्वरी सिकाइ प्रविधिको तालिम सञ्चालन गर्दै आएको छ ।
नगरपालिकाले सातवटा कलेज आफैँ सञ्चालन गर्दै आएको छ । दुईवटा इन्जिनियरिङ कलेज छन् । यी कलेजबाट हरेक वर्ष ४३२ इन्जिनियर जन्मिन्छन् । यी दुवै कलेज इन्जिनियरिङमा देशकै उत्कृष्ट मानिन्छन् । देशका ७६ जिल्लाका विद्यार्थी यहाँ पढ्ने गरेको मेयर प्रजापतिले बताए । भक्तपुर नगरपालिकाले सञ्चालन गरेको इन्जिनियरिङ कलेज विद्यार्थीको पहिलो रोजाइमा पर्छ । किनभने यहाँ पढ्ने हरेक विद्यार्थीले सुरुमै ५० प्रतिशत छात्रवृत्ति पाउँछन् । इन्जिनियरिङका विद्यार्थीलाई स्थानीय सम्पदाको बनोटबारे पनि पढाइन्छ ।
नगरपालिकाले नर्सिङ कलेज पनि सञ्चालन गर्दै आएको छ । हरेक वर्ष ४० जना नर्स उत्पादन हुन्छन् । यीबाहेक, ओभरसियर, व्यवस्थापन, शिक्षा, मानविकी र विज्ञान विषयमा स्नातकोत्तरसम्मको पढाइ हुन्छ ।
भक्तपुर नगरपालिकाले शिक्षक, अभिभावक र विज्ञसँग सल्लाह गरी कक्षा १ देखि ६ सम्मका लागि स्थानीय पाठ्यक्रम लागू गरेको छ । नयाँ पाठ्यक्रममा भक्तपुरको इतिहास, भूगोल, कला–संस्कृति, सम्पदा, खेलकुदलगायत समेटिएको छ । ख्वपः विश्वविद्यालय बनाउने प्रयास भइरहेको छ । तर, नगरपालिकाले सम्पूर्ण तयारी सकेको विधेयक संसद्मै वर्षौँदेखि अल्झिएको मेयर प्रजापतिले बताए । ‘हाम्रोभन्दा पछि प्रयास गरेका राजश्री जनक विश्वविद्यालय, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय स्थापना भए,’ उनले भने, ‘हाम्रो भने स्वीकार गरिएन ।’
स्वास्थ्य : घरघरमा निःशुल्क नर्सिङ सेवा, ५० रुपैयाँमा विशेषज्ञ सेवा
भक्तपुर नगरपालिकाका नागरिकले घरमै निःशुल्क नर्सिङ सेवा पाउँछन् । घर–घरमा नर्सिङ सेवा प्रदान गर्ने भक्तपुर एक मात्र नगरपालिका हो । नगरका १० वटै वडाका लागि एक–एक जना नर्स नियुक्त गरेको र उनीहरू हरेक घरमा दिनहुँ पुगेर नर्सिङसेवा प्रदान गर्ने गरेको प्रजापति बताउँछन् । नर्ससँगै स्वास्थ्य स्वयंसेविका पनि सेवामा खटिन्छन् । घरघरमा पुगेर रक्तचाप र सुगर परीक्षण, गर्भवती र सुत्केरी जाँचलगायत गर्छन् ।
नगरपालिकाले नै एउटै जनस्वास्थ्य क्लिनिकको तीनवटा शाखासमेत सञ्चालन गर्दै आएको छ । नौजना विशेषज्ञ डाक्टर र २३ जना एमबिबिएस डाक्टर नियुक्त गरेको छ । बालरोग, स्त्रीरोग, नाक, कान, घाँटीरोग, छालारोग, नसा तथा हाडजोर्नी विशेषज्ञबाट नगरवासीले स्वास्थ्य सेवा लिँदै आएका छन् । उनीहरूले केबल ५० रुपैयाँको टिकट काटेर विशेषज्ञ सेवा लिन सक्छन् । दोस्रोपटक ३० रुपैयाँमै उक्त सेवा लिन सकिने नगरपालिकाले जनाएको छ ।
आगामी वर्ष २५ शय्याको ख्वपः अस्पताल सञ्चालन गर्ने लक्ष्य भक्तपुर नगरपालिकाको छ । त्यसका लागि भौतिक पूर्वाधार निर्माण तीव्र रुपमा भइरहेको छ । नगरपालिकामा विशेषज्ञ डाक्टर कम भए भनेर यस वर्षबाट नगरपालिकाले आफ्नै खर्र्चमा दुईजना डाक्टरलाई एमडी, एमसिएच गर्न पूर्ण छात्रवृत्ति दिने निर्णय गरेको छ ।
बालबालिका : मासिक पाँच सय रुपैयाँमा शिशु स्याहार
नगरपालिकाले ६ वटा वडामा शिशु स्याहार केन्द्र सञ्चालन गरेको छ । नगरवासीले मासिक पाँच सय रुपैयाँ तिरेपछि दिनभर बालबच्चा यहाँ राख्न सक्छन् । कामकाजी महिलाले आफ्ना बालबच्चा यहाँ राखेर काममा निस्किने गरेका छन् । बच्चाको सम्पूर्ण स्याहारसहित दिनमा दुईपटक खाना खुवाइन्छ । प्रत्येक वडामा कम्तीमा एउटा शिशु स्याहार केन्द्र सञ्चालन गर्ने उद्देश्यअनुसार काम भइरहेको मेयर सुनील प्रजापतिले बताए ।
सरसफाइ : नगरको फोहोर नगरभित्रै मोहरमा बदल्दै
भक्तपुर नगरपालिकामा फोहोरले कुनै पीडा दिएको छैन । बरु, फोहोरले मोहर दिलाएको छ । दैनिक ३० टन उत्पादन हुने फोहोर नगरभित्रै व्यवस्थापन गरिएको छ । कुहिने र नकुहिने फोहोरलाई घरमै छुट्टाछुट्टै संकलन गर्ने व्यवस्था मिलाइएको छ । हरेक परिवारलाई दुईवटा बाल्टिन नगरपालिकाले निःशुल्क उपलब्ध गराएको छ । फोहोर फालिदिएबापत नगरपालिकाले प्रत्येक घरबाट केबल २५ रुपैयाँ कर लिन्छ ।
नागरिकको घरबाट उठाएको कुहिने फोहोर कम्पोस्ट मल बनाएर किसानलाई सस्तोमा बेच्छ । नगर क्षेत्रकै किसानलाई मल किन्न प्राथमिकता दिन्छ । नकुहिने फोहोर तत्काल बेचिदिन्छ । फोहोर बेचेरै नगरपालिकाले वार्षिक ५–६ लाख रुपैयाँ आम्दानी गर्दै आएको मेयर सुनील प्रजापतिले बताए । फोहोर उत्पादन घटाउन नगरपालिकाले नगरवासीलाई अनुदानमा कम्पोस्ट बिन पनि उपलब्ध गराएको छ ।
दुई हजार पाँच सय पर्ने कम्पोस्ट बिन नगरवासीले एक हजारमा खरिद गर्न सक्छन् । त्यस्तै कौसी खेतीलाई पनि प्रवद्र्धन गर्दै आएको छ । फोहोरबाटै बायोग्यासलगायत वैकल्पिक ऊर्जा निर्माण गर्ने सोच पनि भक्तपुर नगरपालिकाले बनाएको छ ।
नगरभित्र १ सय ४९ जना सफाइ कर्मचारी छन् । कसैले फोहोर फाले सफाइ कर्मचारीले तत्काल टिपेर लैजान्छन् । त्यसैले त भक्तपुर नगरक्षेत्र सफाचट छ । प्रत्येक महिनाको १ र १५ गते सबै जनप्रतिनिधि, कर्मचारी, स्थानीय क्लब, डफा–भजन, संघसंस्थाको सहभागितामा कहिले मठ–मन्दिर त कहिले खोलानाला र घाट सफाइ गर्दै आएको छ । नगरभित्रका ९२ विद्यालयलाई उनीहरूले रोजेको सम्पदा सफा राख्ने जिम्मा दिइएको छ । नगरवासीसँग फोहोर फालेबापत महिनाको २५ रुपैयाँ मात्र कर लिँदै आएको छ ।
यसैगरी नगर क्षेत्रका हनुमन्ते र खसाङखुसुङ खोला सफाइका लागि ढलको पानी सीधै खोलामा मिसिनबाट रोक्न केन्द्रीय सरकारको सहयोगमा खोलाको दुवै किनारमा फोहोर बग्ने ढल राख्ने काम भइरहेको छ ।