सुन्दा अपत्यारिलो लाग्छ, नेपालभन्दा ३७ गुणा ठूलो पनि ‘एप्पल’ होला र ? तर, यो वास्तविकता सिद्ध भएको छ । अमेरिकी बहुर्राष्ट्रिय प्रविधि कम्पनी एप्पल इंकको बजार पुँजीकरण मूल्य नेपालको समग्र अर्थतन्त्रभन्दा ३७ गुणा बढी हुन पुगेको छ ।
गत साता अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका भित्ताहरू एउटा कम्पनीको समाचारले रंगिए । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पल १० खर्ब (एक हजार अर्ब) डलर पुग्ने पहिलो सार्वजनिक कम्पनी बनेकोे समाचार गत साताको बिहीबार सार्वजनिक भयो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम मात्र होइन, फेसबुक, ट्विटर र अन्य सामाजिक सञ्जालमा पनि यो समाचार भाइरलजस्तै बन्यो ।
विभिन्न एजेन्सीहरूले तयार पारेका ती समाचारहरू लाखौँको संख्यामा लाइक, कमेन्ट र सेयर भयो । एप्पलका उत्पादनबाहेक कतिपय उपभोक्ताले कम्पनीको नाफा १० खर्ब डलर पुग्नुमा आफ्नो पनि योगदान भएको स्टाटससमेत अपडेट गर्न पछि परेनन् ।
एप्पल इंक कम्पनीको सेयर पुँजीकरणको तथ्यांकलाई आधार मान्ने हो भने विश्वकै विकसित अर्थतन्त्र भएको राष्ट्र बेलायतको अर्थतन्त्रको करिब एकतिहाइ हो भने स्विट्जरल्यान्ड र टर्कीको अर्थतन्त्रभन्दा बढी हो । एप्पल कम्पनीको बजार पुँजीकरण पूरै नेपालको कुल गार्हस्थ उत्पादनभन्दा करिब ३७ गुणा बढी हो ।
कम्पनीको सेयर मूल्यमा भएको उल्लेख्य वृद्धिका कारण बजार पुँजीकरण १० खर्ब डलरभन्दा माथि पुगेको हो । वाल स्ट्रिटमा एप्पलको प्रतिसेयर मूल्य २ सय ७ दशमलव ३९ डलर पुगेपछि कम्पनीको बजार पुँजीकरणले ऐतिहासिक कीर्तिमानी उचाइ प्राप्त गरेको थियो । कम्पनीले यस वर्षको पहिलो त्रैमासिक अवधिको नाफामा उल्लेख्य वृद्धि भएको वित्तीय विवरण सार्वजनिक गरेलगत्तै सेयर मूल्य वृद्धि भएको थियो ।
करिब ४२ वर्षपहिले स्थापना भएको कम्पनी १८ वर्षपहिले टाट पल्टिने अवस्थामा पुगेको थियो । तर, कम्पनीमा स्टिभ जब्सको आगमन भएसँगै कम्पनीको अवस्थामा युटर्न भयो । त्यसैले प्रमुख कार्यकारी निर्देशकसमेत भइसकेका स्टिभ जब्सको महत्वपूर्ण योगदान रहेको कसैबाट छिपेको छैन । जब्सको पुनरावृत्तिपछि नै एप्पलले सफलताको शिखर चुम्न थालेको हो ।
कम्पनीको सेयर पुँजीकरणको तथ्यांकलाई आधार मान्ने हो भने विश्वकै विकसित अर्थतन्त्र भएको राष्ट्र बेलायतको अर्थतन्त्रको करिब एकतिहाइ हो भने स्विट्जरल्यान्ड र टर्कीको अर्थतन्त्रभन्दा बढी हो । एप्पल कम्पनीको बजार पुँजीकरण पूरै नेपालको कुल गार्हस्थ उत्पादनभन्दा करिब ३७ गुणा बढी हो ।
नेपालको राष्ट्रिय योजना आयोगको सचिवालय केन्द्रीय तथ्यांक विभागले गत वैशाख महिनामा सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालको कुल गार्हस्थ उत्पादन (चालू मूल्यअनुसार उपभोक्ताको मूल्यमा) करिब ३० खर्ब रुपैयाँबराबरको छ ।
३० खर्ब नेपाली रुपैयाँ भनेको करिब २६ अर्ब ७५ करोड अमेरिकी डलर हो । (३१ साउनमा नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी विनिमय दरअनुसार १ अमेरिकी डलरबराबर १ सय १२ रुपैयाँ १४ पैसा रहेको छ ।) यसरी हेर्दा एप्पल कम्पनीको मात्र बजार पुँजीकरण (१ हजार खर्ब अमेरिकी डलर) नेपालको समग्र अर्थतन्त्रसूचक कुल गार्हस्थ उत्पादन (जिडिपी)भन्दा ३७ गुणा बढी हो ।
कस्तो छ कम्पनीको अवस्था ?
अमेरिकाको क्यालिफोर्नियास्थित सिलिकन भ्यालीमा मुख्यालय रहेको कम्पनीले विश्वका विभिन्न स्थानमा सहायक कम्पनी तथा उत्पादन केन्द्र स्थापना गरेको छ । कम्पनीको कार्यालयपरिसरको क्षेत्रफल ७१ हेक्टर रहेको छ भने भवनको क्षेत्रफल मात्र २ लाख ८० हजार वर्गफिट रहेको छ । एकसाथ १२ हजार कर्मचारीले काम गर्न सक्ने चारतले अत्याधुनिक उक्त भवनले जोकोहीलाई पनि आकर्षित गर्छ । विभिन्न सञ्चारमाध्यमले कम्पनीको उक्त भवनलाई ‘स्पेससिप’ नामकरण गरेका छन् । विश्वका विभिन्न स्थानमा रहेका पाँच सयभन्दा बढी बिक्री केन्द्रले सेवा प्रदान गर्दै आएका छन् ।
कम्प्युटर हार्डवेयर, सफ्टवेयर, विद्युतीय उपकरण, सेमिकन्डक्टर आदि कम्पनीका मुख्य उत्पादन हुन् । कम्पनीले उत्पादन गरेका आइफोन, आइप्याड, म्याकबुक, आइपड र हातेघडीजस्ता उत्पादन विश्वभर लोकप्रिय छन् । बजारमा मूल्य केही महँगो पर्ने भए पनि गुणस्तरीय उत्पादनका कारण एप्पलका उत्पादनले धेरै उपभोक्तालाई आकर्षित गरेको छ ।
गत वर्ष (सन् २०१७ मा) २ खर्ब २९ अर्ब डलर आम्दानी गरेको कम्पनीको कुल सम्पत्ति ३ खर्ब ७५ अर्ब डलर रहेको थियो । कम्पनीले संसारका विभिन्न स्थानमा १ लाख २३ हजार मानिसलाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ । सजम, टेक्चर, फाइलमेकर इंक, एनोबिट, ब्रेइबर्न, क्यापिटल, बिट्स इलेक्ट्रोनिक्स र बेडिटलगायत कम्पनी एप्पलका सहायक कम्पनीहरू हुन् ।