बन्दीपुर गाउँपालिका–५ भुजेल गाउँका अधिकांश बालबालिका नियमित विद्यालय जाँदैनन् । भर्ना भएका बालबालिकासमेत नियमित विद्यालय नगएपछि बालबालिकालाई विद्यालय ल्याउने अभियान नै सञ्चालन गरिएको छ । शिक्षकहरू बालबालिका खोज्दै दिनहुँ घर–घरमा जाने गरेका छन् । ६१ घर परिवारको बसोवास रहेको भुजेल गाउँका ६५ जना बालबालिका आँधिवाराही विद्यालयमा भर्ना भएका छन् । तर, नियमित विद्यालय जानेको संख्या भने न्यून छ ।
विद्यार्थी नियमित विद्यालय नआउने समस्याले हैरान भएपछि नयाँ जुक्ति निकालिएको आँधिवाराही आधारभूत विद्यालयका प्रधानाध्यापक रामेश्वर लामिछानेले बताए । ‘कतिपय विद्यार्थी घरबाट आफ्नै सुरमा विद्यालय आए भने ११–१२ बजेसम्म पनि आइपुग्दैनन्,’ उनले भने, ‘विद्यार्थीलाई नियमित र समयमै विद्यालय ल्याउन हामी आफैँ घर–घरमा जाने गरेका छौँ । शिक्षकहरू विद्यार्थी लिन साढे नौ बजे नै भुजेल गाउँमा पुग्ने गरेका छन् ।
कुनै विद्यार्थी विद्यालय नआएको जानकारी हुनासाथ उनीहरूको घरमै गएर ल्याउने गरेको शिक्षिका रेसुना ढकालले बताइन् । ‘प्रायःजसो शिशु, एक र दुई कक्षाका विद्यार्थी भर्ना भएपनि नियमित विद्यालय आउँदैनन,’ उनले भनिन्, ‘आफैँ विद्यालय नआउने विद्यार्थीलाई हामी घरमै लिन जान्छौँ । यसले पनि विद्यालयमा विद्यार्थीको संख्या बढेको छ ।’
विद्यालयमा खाजाको व्यवस्था
भुजेल गाउँका बालबालिकालाई विद्यालयमा आकर्षित गर्न विद्यालयमा खाजाको समेत व्यवस्था गरिएको छ । कतिपय बालबालिका खाजा खाने समयसम्म विद्यालयमा बस्छन् । तर, खाजा खाइसकेपछि भने बाँकी घन्टी नपढी भाग्ने गरेका शिक्षक देवकुमार श्रेष्ठले बताए ।
‘देशका अन्य ठाउँमा शैक्षिक सत्रको सुरुमा विद्यार्थी भर्ना अभियान सञ्चालन हुने गरे पनि हामीले बाह्रै महिना बालबालिका भर्ना अभियान सञ्चाल गर्ने गरेका छौँ,’ उनले भने, ‘कतिपय बालबालिका आर्थिक अभावका कारण काम गर्न जान बाध्य छन्,’ उनले भने, ‘हामीले अभिभावकलाई पनि बालबालिकालाई काममा लगाउनुभन्दा अध्ययनका लागि विद्यालयमा पठाउन जोड दिँदै आएका छौँ ।’
गाउँमा एसइई उत्तीर्ण गर्ने एकजना
बन्दीपुर–५ का वडाध्यक्ष ध्रुवप्रसाद लामिछानेले भुजेल गाउँका बालबालिकालाई नियमित विद्यालय जाने वातारण मिलाउन गाउँपालिका र वडा कार्यालयले धेरै मिहिनेत गरे पनि सुधार हुन नसकेको बताए ।
आँधिवाराही आधारभूत विद्यालयमा कक्षा पाँचसम्म मात्र पढाइ हुन्छ । कतिपय बालबालिकाले कक्षा पाँच पास गरेपछि अलि टाढाको विद्यालयमा पढ्न जानुभन्दा बीचमै पढाइ छाड्ने गरेका छन् । भुजेल गाउँकी एकजना छात्राले मात्र एसइई उत्तीर्ण गरेकी छिन् । रक्षा भुजेलले मात्र एसइई उत्तीर्ण गरेकी वडाध्यक्ष लामिछानेले बताए । हाल उनी उच्च शिक्षा अध्ययन गरिरहेकी छिन् ।
अभिभावक नै पठाउँदैनन् विद्यालय
गरिबी र चेतनाको अभावका कारण भुजेल गाउँका अभिभावकले आफ्ना बालबालिकाको पढाइमा ध्यान दिने गरेका छैनन् । अधिकांश अभिभावक आफ्ना बालबालिका विद्यालय गए–नगएको चासोसमेत राख्दैनन् । विद्यालय जान भनेर घरबाट हिँडेका बालबालिका पनि दिनभरि बाटैमा खेलेर फर्किने गरेका छन् । यहाँका भुजेल समुदायको मुख्य पुख्र्यौली पेसा नाङ्लो बुन्ने हो । पढ्ने उमेरका बालबालिकाले पनि आफ्ना अभिभावकलाई नाङ्लो बुन्ने काममा सघाउने गरेका छन् । गाउँका ससाना बालबालिका पनि नाङ्लो बुन्दै गरेका भेटिन्छन् । पढ्न विद्यालय जानुभन्दा उनीहरू अभिभावकसँगै नाङ्लो बुन्नमै रमाउने गरेका छन् ।
आँधिमूलका ज्ञानबहादुर भुजेलले आफ्ना छोराछोरी पढ्न जानभन्दा नाङ्लो बुन्न पाउँदा नै खुसी हुने गरेको बताए । उनले बालबालिकालाई विद्यालय जाओ भनेर नियमित पठाउने गरेको बताए । ‘आफूले नपढेर दुःख पाएँ । मैलेजस्तै दुःख नपाऊन् भनेर सधैँ स्कुल जाओ भन्छु, तर उनीहरू जान मन नै गर्दैनन्,’ ज्ञानबहादुरले भने ।