पढाइभन्दा हरेक दिन कसरी विद्यालय पुग्ने र फर्किने चिन्तामा हुन्छिन्, कैलालीको कैलारी गाउँपालिका–३ मोहनपुरकी सुमित्रा चौधरी । ‘बिहान उठ्दा स्कुल पुगिन्छ कि पुगिँदैन भन्ने सोचिन्छ । स्कुल पुगेपछि आज घर फर्किन सकिन्छ कि सकिँदैन भन्ने चिन्ता हुन्छ,’ कक्षा १० मा अध्ययनरत सुमित्राले भनिन् ।
यसको एउटै कारण हो, मोहना नदी । भारतसँग जोडिएको मोहनपुर गाउँबाट मोहना नदीपारि जनता मावि छ । नदीवारि कक्षा ५ सम्म मात्रै पढाइ हुन्छ । त्यसपछि नदीपारि जाने विद्यार्थीले ढुंगामा वारपार गर्नुपर्छ । ‘एउटै ढुंगा छ, त्यो पनि बाढी आएको वेला चल्दैन,’ सुमित्राले भनिन् ।
यहाँबाट ४० बालबालिका दैनिक ढुंगा तरेरै विद्यालय आवतजावत गर्छन् । यीमध्ये धेरैजसो कक्षा ६ र ७ मा पढ्ने विद्यार्थी छन् । डुंगा चढेर वारपार गर्दा पनि डर लाग्ने गरेको उनीहरूको भनाइ छ । ‘ठूलो नदी छ । डुंगामा बसेका वेला केही भइहाल्छ कि भन्ने डर लाग्छ,’ कक्षा ६ मा अध्ययनरत दिलराज चौधरीले भने, ‘डराइडराई विद्यालय जानुपर्छ ।’
बाढी आएको दिन डुंगा चल्न सक्दैन । र, उनीहरू विद्यालय जान पाउँदैनन् । विद्यालयमा पढ्दै गर्दा पानी प-यो भने पनि चिन्तै हुन्छ, डुंगा चल्दैन कि भन्ने । ‘बाढी धेरै भएको दिन स्कुल छुट्छ । नदी छेउबाटै घर फर्किन्छौँ,’ कक्षा १० मा अध्ययनरत निर्मला चौधरीले भनिन्, ‘नदीमा बाढी बढेपछि कहिलेकाहीँ विद्यालयबाट घर फर्किनै सकिन्न ।’
विद्यालयमै छँदा बाढी आएपछि घर फर्किन नपाउने गरेको कक्षा ८ मा अध्ययनरत लक्ष्मी चौधरीले बताइन् । ‘गाउँमा आफन्त र अर्काको घरमा बस्ने गर्छौँ ,’ उनले भनिन् ।
तीनतिरै नदी
मोहनपुरको तीनैतिर मोहना नदीले घेरिएको छ । दक्षिणतिर मात्रै भारत भूमिसँग जोडिएको छ । मोहना नदी तर्ने ठाउँमै अर्को नदी घुराहा मिसिन्छ । नेपालतर्फ ओहोरदोहोरका लागि कुनै पनि स्थानमा पुल छैन । अरू वेला हिँडेर पनि तर्न सकिने मोहना वर्षायाम भने उर्लिन्छ ।
चुरे क्षेत्र भएर बग्ने भएकाले घाम लागेको वेला पनि बाढी आएको पत्तै हुन्न । चुरे क्षेत्रमा पानी पर्दा मोहनामा बाढी आइहाल्छ । वर्षायामका तीन–चार महिना डुंगा चढेरै विद्यालय आवतजावत गर्नुपर्छ ।
घर नफर्किँदासम्म चिन्ता
ढुंगामा नदी वारपार गर्नुपर्ने भएकाले बालबालिका घर नफर्किंदासम्म चिन्ता हुने गरेको अभिभावक बताउँछन् । पानी परेको दिन अभिभावक आधा घन्टा हिँडेर नदी छेउमै बालबालिकालाई पर्खिने गरेका छन् । ‘स–साना बालबालिका छन् । डुंगामा नदी तर्दा के पो हुने हो भन्ने चिन्ता लाग्छ,’ स्थानीय माघुराम चौधरीले भने ।
विद्यालय गएका छोराछोरी घर नफर्किंदासम्म हरेक दिन चिन्ता लाग्ने गरेको स्थानीय सबिना चौधरीले सुनाइन् । जोखिम मोलेरैै छोराछोरीलाई विद्यालय पठाउनुपर्ने बाध्यता रहेको उनले बताइन् ।
मोहनपुरमा थारू समुदायका ८३ परिवार छन् । केहीले नदीकै कारण करिब २२ किलोमिटर टाढाको धनगढी र हसुलियाका विद्यालयमा बालबालिका पठाउने गरेका छन् । त्यहाँ डेरामा राखेर पढाउने गरेको मोहनपुरका भल्मन्सा भागीराम चौधरीले बताए ।
विद्यालय आधा घन्टा ढिलो
मोहनपुरका विद्यार्थीलाई समय लाग्ने गरेकै कारण जनता मावि अन्य विद्यालयभन्दा आधा घन्टा ढिलो सञ्चालन हुने गरेको छ । उनीहरूकै लागि बिहान ६ः४४ बजे सुरु हुने गरेको प्रधानाध्यापक हनुमान चौधरीले बताए । यस स्रोत केन्द्रअन्तर्गतका अन्य विद्यालय बिहान ६ः१५ बजे सुरु हुन्छन् ।