खुला विश्वविद्यालय निश्चित दिन हाजिरी गरेर पढ्न नसक्ने, नभ्याउने मान्छेलाई पनि शिक्षाको पहुँचमा ल्याउनु हो । सन् १९६९ मा बेलायतमा संसारकै पहिलो खुला विश्वविद्यालय सुरु भएको थियो । विश्वविद्यालय स्थापनाको समय बेलायतमा नारा नै थियो– कुनै पनि समय, कहीँ पनि, जसलाई पनि शिक्षा । संसारमा स्थापना भएको आधा शताब्दीपछि मात्र यही मर्म बोकेर नेपालमा खुला विश्वविद्यालय स्थापना भएको हो ।
‘हामीले परम्परागत विश्वविद्यालयबाट घोकेर सम्झिएको ज्ञानले चल्ने मान्छेहरू जन्मायौँ, अबको दुनियाँमा यस्तो ज्ञान काम लाग्दैन,’ लगभग डेढ घन्टाको कुराकानीको अन्तिममा खुला विश्वविद्यालयका उपकुलपति लेखनाथ शर्माले ज्ञानप्रतिको आफ्नो धारणा सुनाए । अबको विश्वविद्यालयले उत्पादन गर्ने मान्छे कस्तो हुनुपर्छ भनेर उनले थप व्याख्या गरे, ‘यो समयका समस्या समाधान गर्न भएको सूचना लिने, चाहिने सूचना खोज्ने र समस्या समाधान गर्न चिन्तन गर्न सक्ने आलोचनात्मक चेत भएको मान्छे विश्वविद्यालयले उत्पादन गर्नुपर्छ । त्यसका लागि हामीले शिक्षालाई जसरी लियौँ त्यसको न्यारेटिभ बदल्नुपर्छ र नयाँ ढंगले उच्च शिक्षाको संरचना तयार गर्नुपर्छ ।’
खुला विश्वविद्यालयमा पठनपाठन सुरु भएको अढाइ महिना मात्रै भयो । ‘फ्याकल्टी अफ म्यानेजमेन्ट एन्ड ल’, ‘सोसल साइन्स एन्ड एजुकेसन’ र ‘फ्याकल्टी अफ साइन्स, हेल्थ एन्ड टेक्नोलोजी’ गरी तीनवटा संकायमा स्नातकदेखि पिएचडीसम्म ४०६ विद्यार्थीले अध्ययन गरिरहेका छन् ।
इन्टरनेटमा आधारित पठनपाठन
खुला विश्वविद्यालयको सम्पूर्ण पठनपाठन ई–लर्निङमार्फत हुन्छ । भर्नापछि विद्यार्थीलाई प्राविधिक विषयमा ‘ओरियन्टेसन’ गरिन्छ । ओरियन्टेसनपछि विद्यार्थीलाई युजरनेम र पासवर्ड उपलब्ध गराइन्छ । त्यसपछि विद्यार्थी भर्चुअल क्लासमा जान पाउँछन् । विश्वविद्यालयले ‘स्काइप फर बिजनेस’ प्रोगाम चलाउँछ, विद्यार्थी त्यसैमा दैनिक रूपमा उपस्थित हुन्छन् । विद्यार्थी जुन ठाउँमा छ त्यहीँ अनलाइन बस्छन्,, शिक्षकले आफ्नो अनुकूल पर्ने ठाउँमा बसेर इन्टरनेटमार्फत पढाउँछन् ।
कक्षामा बस्न नपाएका विद्यार्थीका लागि कोर्सको ‘रेकर्डेड फम्र्याट’ उपलब्ध गराइन्छ । ‘विद्यार्थीहरू छिटो सिक्ने, मध्यम रूपले सिक्ने र ढिला सिक्ने हुन्छन्, कसैले छिट्टै बुझ्छ, कतिलाई बुझ्न समय लाग्छ, नबुझ्ने विद्यार्थीले पठन सामग्री जतिपल्ट चाह्यो, त्यतिपल्ट सुन्ने व्यवस्था भएकाले यसले पठनलाई अझ सहज बनाउँछ,’ शर्मा भन्छन् ।
विद्यार्थीको होमवर्क, असाइन र क्लास अनलाइनबाटै हुन्छ । विद्यार्थीले नेटमा आफूलाई आवश्यक पर्ने कोर्स मात्र देख्छन् । विद्यार्थी कति बजे अनलाइन आए ? होमवर्क बुझाए कि बुझाएनन् ? कति बजेदेखि कति बजेसम्म कक्षामा बसे ? शिक्षक कति बजे अनलाइन आए ? यी सबै जानकारी विश्वविद्यालयले नेटबाटै प्राप्त गर्छ । विद्यार्थीले उपस्थित हुनुपर्ने समय र कक्षाका बारेमा नेटबाटै उनीहरूलाई ‘अलर्ट’ गराइन्छ । नेटबाट प्राप्त जानकारीकै आधारमा कक्षामा आउन ढिला गर्ने, लामो समयदेखि कक्षामा नभएका विद्यार्थीलाई विश्वविद्यालयले फोन सम्पर्क गर्छ । विद्यार्थी कक्षामा आउन नसक्नुको कारण बुझ्छ ।
‘प्रत्येक विद्यार्थीको गोपनीयता कायम गरिन्छ, उसको उपस्थिति, होमवर्क, असाइनमेन्टलाई विश्वविद्यालयका सीमित सम्बन्धित व्यक्तिबाहेक अरूले देख्न पाउँदैनन्,’ विश्वविद्यालयका ई–लर्निङ तथा सूचना प्रविधिविज्ञ पदमराज पन्त भन्छन् ।
विद्यार्थीले अनलाइनमै प्रश्न सोध्छन्, शिक्षकले अनलाइनबाटै जवाफ फर्काउँछन् । विद्यार्थीलाई उसको विषयको अडियो, भिडियो, पिडिएफ फाइल, टेक्स्ट, नोट र जर्नल अनलाइनमै राखिदिएको हुन्छ । त्यहीँबाट आवश्यक सामग्री डाउनलोड गरेर विद्यार्थीले पढ्न सक्छन् ।
एक–डेढ महिनामा कन्ट्याक्ट सेसन चल्छ । शिक्षकहरू नै धेरै विद्यार्थी भएको ठाउँमा पुगेर कन्ट्याक्ट सेसन चलाउँछन् । काठमाडौँ र पोखरामा कन्ट्याक्ट सेसन भइसक्यो, यही महिना इटहरीमा चलाउने विश्वविद्यालयको तयारी छ । त्यसपछि काठमाडौँ र फेरि पोखरामा कन्ट्याक्ट सेसन चल्नेछ ।
‘हामीले विद्यार्थीलाई अरू विश्वविद्यालयले नपढाएका कोर्सहरू पनि पढाइरहेका छौँ, प्रविधिमा आधारित भएर पढाउँछौँ, संसारभर नै प्रतिष्ठित विश्वविद्यालयले विद्यार्थीलाई प्रविधिको सहायतामा पढाउने क्रम बढिरहेको छ,’ शर्मा भन्छन्, ‘हामी परम्परागत विश्वविद्यालयको दायरामा बस्दैनौँ, विभिन्न पेसा र व्यवसायसँग जोडिएका कोर्स बनाउँछौँ र पढाउँछौँ, अहिले हामी त्यसैको तयारीमा छौँ ।’
खुला विश्वविद्यालयको पठनपाठन सुरु भएको पछिल्ला दुई महिनामा विश्वविद्यालयका उपकुलपति लेखनाथ शर्माले सबैभन्दा बढी सामना गरेको प्रश्न हो– लोकसेवा र त्रिविले यो विश्वविद्यालयलाई मान्यता दिन्छ त ?
यी हुन् पढाइ हुने र चाँडै थपिने विषय
अहिले विश्वविद्यालयले ई–गभर्नेन्स, डिस्ट्यान्स एन्ड ई–लर्निङ, इन्फर्मेसन कम्युनिकेसन एन्ड टेक्नोलोजी, लाइब्रेरी इन इन्फर्मेसन म्यानेजमेन्टजस्ता नयाँ विषय पढाइरहेको छ । जियो पोलिटिक्स र ह्युमन सेक्युरिटीजस्ता नयाँ विषय थप्ने शर्माले जानकारी दिए ।
विश्वविद्यालयले कर्मकाण्ड, योग, ज्योतिष र आयुर्वेदका कोर्ससमेत बनाइरहेको छ । चाँडै लोकल गभर्नेन्स एन्ड डेभलपमेन्ट प्लानिङको पढाइसमेत सुरु गर्ने तयारीमा छ विश्वविद्यालय । ‘अहिले स्थानीय तहले विभिन्न समस्या झेलिरहेका छन्, स्थानीय तहमा गइसकेपछि त्यसको पढाइ कुनै पनि विश्वविद्यालयमा भएको छैन,’ शर्मा भन्छन्, ‘हामी स्थानीय तह सञ्चालनको ज्ञान र संसारका अनुभवमा आधारित भएर कोर्स बनाउँदै छौँ, चाँडै यो विषयको पनि अध्यापन हुन्छ ।’
विश्वविद्यालयप्रति जिज्ञासा
खुला विश्वविद्यालयको पठनपाठन सुरु भएको यो दुई महिनामा विश्वविद्यालयका उपकुलपति लेखनाथ शर्माले सबैभन्दा बढी सामना गरेको प्रश्न हो– लोकसेवा र त्रिविले यो विश्वविद्यालयलाई मान्यता दिन्छ त ? एउटै प्रश्नको लगातार सामना गर्नुपर्दा शर्मा अचम्मित र दिक्दार छन् । बारम्बार एउटै जवाफ फर्काउनुपर्दा आफूलाई असजिलो लाग्ने अनुभव सुनाउँछन् शर्मा ।
धेरैले विश्वविद्यालयले इन्टरनेटबाट प्रदान गर्ने शिक्षाको गुणस्तरका बारे पनि प्रश्न गर्छन् । ‘गुणस्तरको मापन केले गर्ने ? पाठ्यक्रम राम्रो हुनुप-यो, पढाउने शिक्षक आफ्नो विषयमा दक्ष हुनुप-यो, विश्वविद्यालयसँग स्रोतसाधन हुनुप-यो, राम्रो लाइब्रेरी हुनुप-यो,’ उनी भन्छन्, ‘यही आधारमा विश्वविद्यालयले प्रदान गर्ने गुणस्तर मापन गर्ने हो, त्यसैले हामीले गुणस्तरीय शिक्षा दिइरहेका छौँ ।’
विश्वविद्यालयका विषयमा जिज्ञासा हुनु अस्वाभाविक भने होइन । नेपालमा पहिलोपटक यस्तो विश्वविद्यालय सुरु भएको छ । निश्चित ढाँचामा नेपालको पठन अनुभव सँगालेका मान्छेहरूलाई खुला विश्वविद्यालयले पढाउने तरिकालाई अनौठो मान्नु पनि नौलो होइन ।
अरू विश्वविद्यालयका निश्चित नियम र दायराका कारण शिक्षाको अवसरबाट वञ्चित भएकालाई खुला विश्वविद्यालयले शिक्षाको अवसर दिन्छ । पहिलो वर्ष भर्ना भएका ४०६ विद्यार्थीमध्ये अधिकांश कामकाजी छन् । सरकारी कर्मचारी, सेना, प्रहरी, गृहिणी, एनजिओ, आइएनजिओमा काम गर्ने र समय भएर पनि पढ्ने चाहना पूरा गर्न नपाएका विश्वविद्यालयमा भर्ना भएका छन् । ‘फ्याकल्टी अफ म्यानेजमेन्ट एन्ड ल’ की डिन प्रोफेसर शिलु मानन्धर बज्राचार्य खुला विश्वविद्यालयलाई ‘वर्किङ क्लास’लाई ठूलो मौका दिएको बताउँछिन् ।
‘हामी सकेसम्म बढीभन्दा बढी मान्छेहरू जो विश्वविद्यालयका निश्चित दायराका कारण दैनिक भर्ना भएर पढ्न सक्दैनन्, उनीहरूलाई समेट्न चाहन्छौँ, यो वर्किङ क्लासका लागि नेपालमा ठूलो मौका हो,’ उनले भनिन् । अहिलेसम्म विश्वविद्यालयले विदेशमा बस्ने नेपालीको ‘प्राविधिक कारण’ ले भर्ना लिनसकेको छैन । चाँडै सम्बन्धित देशका दूतावाससँग सहकार्य गरेर विदेशमा बस्ने नेपालीलाई पनि विश्वविद्यालयको दायरामा ल्याउने सोच रहेको बताउँछन् शर्मा ।
स्थापना निकै ढिला भए पनि नेपालमा खुला विश्वविद्यालयको बहस भने ०३५–०३६ सालदेखि नै चलेको थियो । प्रथम त्रिवर्षीय अन्तरिम योजनामा खुला शिक्षासमेत सबै नेपालीको पहुँच शिक्षामा पु-याउने लक्ष्य थियो । पञ्चवर्षीय योजनामा खुला विश्वविद्यालयको सपनाले लामो समयसम्म ठाउँ ओगट्यो । बहस सुरु भएको तीन दशकपछि बल्ल विश्वविद्यालय स्थापना भयो ।
चुनौती पनि त्यत्तिकै
खुला विश्वविद्यालयको आगामी यात्रा चुनौतीरहित भने छैन । प्रविधिमा आधारित पठनका समस्याबारे विश्वविद्यालय बेखबर छैन । मानवीय सम्बन्धका ठाउँमा प्रविधि हाबी हुने खतरा छ । त्यसले शिक्षक–विद्यार्थी र विद्यार्थी–विद्यार्थीबीच भावनात्मक सम्बन्ध नहुने अवस्था आउन सक्छ । ‘शिक्षक र विद्यार्थी वा विद्यार्थी–विद्यार्थीबीच इमोस्नल अट्याचमेन्ट नहुने खतरा रहन्छ भन्नेमा हामी सचेत छौँ,’ शर्मा भन्छन् ।
यही चुनौतीलाई मध्यनजर गर्दै विश्वविद्यालयले पूर्णरूपमा अनलाइनबाट मात्रै अध्यापन गराउँदैन । १५ प्रतिशत अध्यापन विद्यार्थी र शिक्षकको प्रत्यक्ष भेटघाटबाट हुन्छ ।विश्वविद्यालयले वेलावेला कन्ट्याक्ट सेसन गरिरहन्छ । विद्यार्थी बढी भएका ठाउँ शिक्षकलाई नै पठाइन्छ । शर्मा अध्यापन इन्टरनेट र प्रत्यक्ष भेटघाट दुवैको विधि प्रयोग गरिएको बताउँछन् ।
केही विषय प्राविधिक रूपमै पनि इन्टरनेटबाट पढाउन सहज हुँदैन । म्याथम्याटिक्स इन्टरनेटबाट मात्र पढाउँदा सम्भव हुँदैन । त्यसैले यस्ता विषयको सहजताका लागि कन्ट्याक्ट सेसन एक, डेढ महिनाको फरकमा चलिरहन्छ ।
प्राविधिक रूपमा पनि केही चुनौती छन् । अध्यापनमा इन्टरनेटकै भर पर्नुपर्छ । इन्टरनेटको पहुँच र गुणस्तर दुवै चाहिन्छ । कहिलेकाहीँ प्राविधिक कारणले नेटको स्पिड स्लो हुँदा शिक्षक र विद्यार्थी दुवै पक्ष समस्यामा पर्छन् । राम्रो नेट सबै ठाउँमा उपलब्ध छैन । दैनिक रूपमा नेटमा आउनुपर्ने कारण नेट नभएको ठाउँमा पुग्दा विद्यार्थीको क्लास छुट्छ, सबै ठाउँमा नेट उपलब्ध हुँदैन । प्राविधिक रूपमा दक्ष शिक्षकको कमी छ । कतिपय शिक्षक–प्राध्यापकले प्राविधिक विषयमा छोराछोरीको सहारा लिनुपर्ने अवस्था छ । पन्त अहिले प्राविधिक विषयमा शिक्षक र विद्यार्थी दुवै पूर्णरूपमा अभ्यस्त भइनसकेको बताउँछन् ।
अर्को, भाषा, प्रविधि र संस्कृतिका कारण एकै खालको पढाइ सबैका लागि उपयुक्त नहुन सक्छ । प्रविधिमा अभ्यस्त नभएका लागि पनि यो माध्यम उपयुक्त नहुन सक्छ । यसकारण सबैलाई समेट्न नसकिने अवस्था आउँछ ।
अर्को चुनौती, विश्वविद्यालयले लिने शुल्क पनि हो । तुलनात्मक रूपमा विश्वविद्यालयको शुल्क महँगो छ । तीनवर्षे एलएलबीको वार्षिक ६० हजार रुपैयाँ शुल्क तोकिएको छ । सबैका लागि विश्वविद्यालयले तोकेको शुल्क बुझाउन सहज छैन ।
शर्मा विश्वविद्यालयको खर्च धान्न पढाइ केही महँगो भएको र यसलाई सर्वसुलभ र सबैको पहुँचमा पु-याउन हरसम्भव कोसिस गर्ने बताउँछन् । सबैलाई सहज रूपमा शिक्षाको अवसर प्रदान गर्ने भने पनि खर्च अभावकै कारण विद्यार्थीले पढ्न नपाउने अवस्था आए त्यसले खुला विश्वविद्यालयको मर्मलाई पूरा गर्न सक्दैन । ‘भर्खर विश्वविद्यालय स्थापना भएका कारण खर्च धान्नका लागि हामीले त्यति शुल्क उठाएका हौँ, चाँडै शुल्कलाई पनि सर्वसुलभ बनाउँछौँ,’ शर्माले भने ।
नेदरल्यान्ड र नर्वेका विश्वविद्यालयसँग सहकार्य
अहिले खुला विश्वविद्यालयले नेदरल्यान्ड र नर्वेका विश्वविद्यालयसँग सहकार्य गरेको छ । संसारका अरू विश्वविद्यालयसँग सहकार्य गर्ने तयारी चलिरहेको छ । नेपाली ‘डायस्पोरा’सँग सहकार्य गरी उनीहरूले प्रवासमा आर्जन गरेको ज्ञानलाई नेपालमा प्रयोग गर्न सकिने सोचमा छन् विश्वविद्यालयका उपकुलपति शर्मा ।
‘नेपालमै जन्मिएका र विदेशमा ठूलो नाम कमाएका प्रोफेसरहरू हुनुहुन्छ, हामी उहाँहरूको ज्ञानलाई पनि यहाँ उपयोग गर्ने सोचमा छौँ,’ उनले भने । विश्वविद्यालय कोर्स र कार्यक्रममा विविधता ल्याउने सोचमा छ । दुई, तीन र चार वर्षका कोर्स बनाउने, प्राविधिक कोर्स बनाउने र आजको समाजमा आवश्यक विद्यार्थी उत्पादन गर्ने शर्माले बताए ।
विश्वविद्यालयले परीक्षा भने इन्टरनेटबाट लिँदैन । केन्द्र तोकेरै परीक्षा लिइन्छ । ‘हामीकहाँ गार्ड बसेर जाँच नलिएसम्म ज्ञानी भइँदैन भन्ने चेतना छ, यो चेतनाले ठूलो प्रभाव पारेको छ, एक समयसम्म गार्ड राखेरै परीक्षा लिए पनि हामी परीक्षाको तौरतरिका बदल्नेबारे पनि सोचिरहेका छौँ,’ शर्मा भन्छन् ।
परम्परागत विश्वविद्यालयको
दायरामा बस्दैनौँ
लेखनाथ शर्मा
उपकुलपति
हामीले विद्यार्थीलाई अरू विश्वविद्यालयले नपढाएका कोर्सहरू पनि पढाइरहेका छौँ, प्रविधिमा आधारित भएर पढाउँछौँ, संसारभर नै प्रतिष्ठित विश्वविद्यालयले विद्यार्थीलाई प्रविधिको सहायतामा पढाउने क्रम बढिरहेको छ । हामी परम्परागत विश्वविद्यालयको दायरामा बस्दैनौँ, विभिन्न पेसा र व्यवसायसँग जोडिएका कोर्स बनाउँछौँ र पढाउँछौँ, अहिले हामी त्यसैको तयारीमा छौँ ।