खाद्य वैज्ञानिक उत्पादन गर्ने हाम्रो लक्ष्य
शिक्षाखबर डेस्क
१ आश्विन २०७५, सोमबार
no immg

पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेज अफ अप्लाइड फुड एन्ड डेरी टेक्नोलोजी डेरीसम्बन्धी अध्यापन गराउने नेपालको एक मात्र संस्था हो । यस कलेजले स्नातक तहमा डेरी टेक्नोलोजी उपयोग गरेर खाद्यान्न उत्पादन, प्रशोधन र प्रशोधित खाद्यान्नलाई पकाउने कलाका विषयमा अध्यापन गराउँछ । डेरीमा स्पेसलाइज नेपालको एक मात्र यो कलेजले डेरीसम्बन्धी स्नातक तहका कार्यक्रम सँगसँगै प्रवीणता प्रमाणपत्र तहको तीनवर्षे डिप्लोमा इन फुड एन्ड डेरी टेक्नोलोजी भन्ने प्रोग्राम पनि चलाइरहेको छ ।

भक्तप्रह्लाद पाण्डे अध्यक्ष/सञ्चालक समिति कलेज अफ अप्लाइड फुड एन्ड डेरी टेक्नोलोजी
कलेजले डेरीसम्बन्धी र अन्य खाद्यान्न खानका लागि तयार हुने अवस्थासम्म पार गर्नुपर्ने तीन चरणका बारेमा अध्यापन गराएर फुड प्रोसेसिङका लागि आवश्यक पर्ने जनशक्ति उत्पादन गर्छ । ती जनशक्तिलाई खाद्य वैज्ञानिक पनि भन्न सकिन्छ ।

खाद्यान्न पहिलो चरणमा उत्पादन हुन्छ । त्यसपछि उत्पादित खाद्यान्नलाई भण्डारण गर्ने र प्रशोधन गर्ने काम गरिन्छ । र, त्यो प्रशोधित खाद्यान्नलाई मानिसले रुचाउने गरी पकाउने कला आवश्यक पर्छ । ती तीनै काम गर्न सक्ने जनशक्ति उत्पादन गर्ने मुख्य उद्देश्य कलेजको हो । खाद्यान्न उत्पादन गर्नेलाई कृषि विज्ञान र उत्पादित खाद्यान्नलाई भण्डारण, प्रशोधन र पक्वान कलालाई खाद्य विधान भनिन्छ ।

नेपालमा खाद्यसम्बन्धी जानकार व्यक्तिहरूको कमी छ । विभिन्न समयमा गुणस्तर तथा नापतौल विभागले अनुगमन गर्दा कुन खाद्य वस्तु खानका लागि योग्य र कुन अयोग्य भन्ने छुट्याउन सक्ने विज्ञ थोरै मात्रामा छन् । खाद्यान्नमा आधारित उद्योग पर्याप्त मात्रामा भए पनि ती उद्योगले उत्पादन गरेका खाद्य सामग्री खानयोग्य छ कि छैन भनेर परीक्षण गर्ने जनशक्ति न्यून मात्रामा मात्रै छन् । त्यो न्यून मात्रामा भएको जनशक्ति पनि पूर्ण दक्ष नभई अर्धदक्ष मात्रै छ ।

कलेजले पूर्ण दक्ष जनशक्ति उत्पादन गर्ने प्रयास गरिरहेको छ । नेपाल सरकारले नेपाली जनताले खाने वस्तु खानका लागि योग्य छ कि छैन भनेर परीक्षण गर्नुपर्छ । त्यसका लागि विज्ञ जनशक्ति आवश्यक पर्छ, त्यसको परिपूर्ति गर्ने प्रयास हामीले गरिरहेका छौँ ।

प्रतिक्रिया