लमजुङ/लमजुङको राइनास नगरपालिका ३ टिमुरेका स्थानीय आँपको बगैचा संरक्षणमा जुटेका छन् । करिव २ सय वर्ष पहिले गाउँको सार्वजनिक स्थानमा लगाइएको आँपको बगैचा संरक्षणमा स्थानीय जुटेका हुन् ।
स्थानीय जातका आँपको बीउ लोपोन्मुख अवस्थामा पुगेको, बाजे बराजुले लगाएका आँपको बगैचा मासिँदै गएको भन्दै स्थानीय गाउँले कार्यसमिति बनाएरै आँपको बगैचा संरक्षणमा जुटेका हुन् ।
सामुदायिक फिल्ड जिन बैंक टिमुरे आँप बगैचा संरक्षण समितिका अध्यक्ष विष्णु पन्थीका अनुसार ५० रोपनी जग्गामा २ सय वर्ष पहिले बाजे बराजुले लगाएका आँपको बगैचामा स्थानीय १८ जातका आँप छन् ।
जसमा कटरे, जुरेली, कर्कले, सिंदुरे, ठूलो लहरे, सानो लहरे, जगते, काली, बम्बै, गनाउने, उपल्लो मिठाइ, तल्लो मिठाइ, सेतो, सुपारे, रातो टाउके, कर्तविडे, मोइ, र हाडे गरि १८ जातका आँपका बोट रहेका छन् ।
‘हामीले एक त स्थानीय जातका आँपका बीउ लोप हुनबाट बचाउन अभियान चलाएका हौ र अर्को सयौ वर्ष पहिले बाजे बराजुले लगाएको आँपको बगैचा संरक्षण गरि नयाँ पुस्तालाई जस्ताको तस्तै हस्तान्तरण गर्न लागी परेका हौ’ अध्यक्ष पन्थीले भने, ‘त्यो बेलामा एउटै बगैचामा स्थानीय १८ जातका आँप कसरी लगाए होलान् ?’
आँपका वगैचा संरक्षण गर्दै स्थानीय जातका आँप अन्य क्षेत्रमा विस्तार गर्ने उनले बताए । उन्नत जातको आँपको आयु थोरै हुने र रोग किरा लाग्ने भए पनि स्थानीय जातको आँपमा रोग किरा कम लाग्ने, आयु धेरै लामो हुने, फलमा समेत स्वादीलो हुने उनको भनाई छ ।
कापाडेस लमजुङका अध्यक्ष डिकेन्द्रराज कँडेलले भने कोपाडेसद्वारा सञ्चालित जिविकोपार्जन सुधार कार्यक्रम (एलआरएसपि) अन्तर्गत ‘सामुदायिक बीउ बैक’ जगेर्ना गर्ने कार्यक्रम अनुसार स्थानीय जातको आँपको बीउ संरक्षणमा आफुहरुले स्थानीयलाई सहयोग गरेको बताए ।
पुराना आँपका बगैचा संरक्षण गर्न अभियान सुरु गरिएको उनको भनाई छ । सयौं वर्ष पहिलेका स्थानीय जातका आँपका बगैचा नासिदै गएको र बगैचा नासिएसँगै बिभिन्न स्थानीय जातका आँप समेत नासिने अवस्थामा पुगेकाले पुराना बगैचा संरक्षण गर्देै स्थानीय जातका आँप संरक्षणमा लागेको कँडेलले बताए ।
स्थानीय जातका बीउ बिजन संरक्षणका लागी कोपाडेसको समन्वयमा लुथेरन वल्र्ड रिलिफ र नेपाल सरकार जिन बैक र बीउ बिजन सम्भार कार्यक्रमको सहयोग रहेको छ । कोपाडेसले सामुदायिक बीउ बैक अन्र्तगत लमजुङका ४५ जातकोे बालीको ३ सय ७५ बीउ संकलन गरेको छ । सामुदायिक बीउ बैक अन्तर्गत आफुहरुले बिभिन्न बालीको बीउ जसरी स्थानीय जातको बीउ समेत संरक्षण गर्ने उनले बताए ।
बीउ बिजन संरक्षण तथा अनुसन्धान केन्द्र नार्कका डा.टेक प्रसाद गोतामेका अनुसार नेपाल सरकारले स्थानीय जातका बाली तथा फलफूलका बीउ बिजन संरक्षणमा लागेको बताए । उनले लमजुङको राइनास नगरपालिका टिमुरेको आँपको बगैचा संरक्षण पहिलो भएको बताए ।
साविकको जिल्ला कृषि विकास कार्यालय एवंम् कृषि ज्ञान केन्द्रका वागवानी विकास अधिकृत जीत बहादुर नेपालीले स्थानीय जातका बीउविजन संरक्षणमा लाग्नु पर्ने बताए । भावी नयाँ पुस्ताले स्थानीय जातका फलफूल होस या स्थानीय जातका बालीनालीका बीउविजन देख्न नपाउने अवस्था नहोस भनेर बैलैमा सचेत हुनु पर्ने अवस्था आएको उनको भनाई छ ।