संस्कृत विश्वविद्यालयमा बेथिति : सात विद्यार्थीका लागि २२ प्राध्यापक, नपुगेर ६ थप
शिक्षाखबर डेस्क
५ आश्विन २०७५, शुक्रबार
no immg

संस्कृत विश्वविद्यालयका कतिपय कार्यक्रममा विद्यार्थीभन्दा शिक्षकको संख्या दोब्बरभन्दा बढी हुँदा पनि अनियमित ढंगले आंशिक प्राध्यापक थपिएका छन् । आचार्य (स्नातकोत्तर) पढाइ हुने नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय विद्यापीठको पहिलो वर्षमा यो वर्ष सातजना विद्यार्थी अध्ययनरत छन् । गत वर्ष पहिलो र दोस्रो गरी जम्मा १२ विद्यार्थी भर्ना भएका थिए । सो विभागमा स्थायी प्राध्यापकको संख्या २२ छ, तर पनि नपुगेर यो वर्ष सात थपिएका छन् ।

विद्यार्थी संख्या निरन्तर घट्दा पनि प्राध्यापकको संख्या निरन्तर बढिरहेको छ । आफन्तलाई जागिर खुवाउनका लागि आवश्यकता नहुँदा पनि शिक्षक थपिएको आरोप छ । २८ भदौमा देशभर ४६ जना आंशिक प्राध्यापक थपिएकोमा केन्द्रीय विद्यापीठका लागि मात्र ६ जना बढेका छन् । यो वर्ष केन्द्रीय विद्यापीठमा विद्यार्थीभन्दा चार गुणा बढी प्राध्यापक हुने सम्भावना देखिएको छ ।

भागबन्डा मिलाउन प्राध्यापक थप
विद्यार्थीभन्दा बढी प्राध्यापक आवश्यकताका आधारमा भएका होइनन् । विश्विद्यालयमा क्रियाशील राजनीतिक दलका प्राध्यापक संघसंगठनलाई भागबन्डा मिलाउन प्राध्यापक थप गरिएको हो । ‘आवश्यकताभन्दा पनि राजनीतिक भागबन्डा मिलाउन विश्वविद्यालयलाई राजनीतिक दलको भर्ती केन्द्र बनाइएको छ,’ विश्वविद्यालयका एक पदाधिकारीले भने, ‘यस वर्ष पनि नेकपानिकट प्रगतिशील र कांग्रेसनिकट प्रजातान्त्रिक प्राध्यापक संगठनलाई तीन÷तीनजना भाग मिलाउँदा ६ जना प्राध्यापक भर्ती गरिएका हुन् ।’

विद्यापीठका प्राचार्यले वंशीधर आचार्य भने आवश्यकताका आधारमा प्राध्यापक भर्ना गरेको दाबी गरे । ‘एउटा प्राध्यापकले दुईभन्दा बढी विषय पढाउन नसकिने विश्वविद्यालयको नियम छ,’ उनले भने, ‘स्नातकोत्तरमा ७ वटा विषय पढाइ हुन्छन् । एउटै विषयका लागि पनि छुट्टाछुट्टै प्राध्यापक आवश्यक पर्ने भएकाले यस किसिमले प्राध्यापक भर्ना गरिएको हो ।’ केन्द्रीय विद्यापीठ एउटा उदाहरण मात्र हो । संस्कृत विश्वविद्यालयका देशभरका क्याम्पसहरूमा वर्षेनी विद्यार्थीहरूको चाप घट्दै गएको छ । तर, प्राध्यापक एवं कर्मचारी भर्ना गर्ने क्रम भने बढ्दै गएको छ ।

प्राध्यापक नियुक्तिमा अनियमितता
नेपाल संस्कृत विश्वविद्यालयका विभिन्न आंगिक क्याम्पसमा अनियमित ढंगले आंशिक प्राध्यापक नियुक्त गरिएको छ । विश्वविद्यालयका पदाधिकारीको मिलेमतोमा देशका विभिन्न क्याम्पसका प्राचार्यहरूले सार्वजनिक सूचना प्रकाशित नगरी २८ भदौमा ४६ आंशिक प्राध्यापक नियुक्त गरेका हुन् । विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिवको मिलोमतोमा सीधै नियुक्ति दिइएको हो ।

विश्वविद्यालय नियमावलीमा प्राध्यापक वा कर्मचारी नियुक्त गर्दा कार्यकारी परिषद्बाट निर्णय गराएर ७ दिनको सार्वजनिक सूचनामार्फत निवेदन आह्वाहन गरी नियुक्त गर्नुपर्ने व्यवस्था छ । नेपाल संस्कृत विश्वविद्यालय कर्मचारी संघका अध्यक्ष विनय पोखरेलले नियमविपरीत देशका विभिन्न क्याम्पसमा ४६ जना प्राध्यापक नियुक्त गरिएको बताए ।

कुन विद्यापीठमा कति प्राध्यापक थपिए ?
महोत्तरीको याज्ञवल्क लक्ष्मीनारायण, केन्द्रीय विद्यापीठमा, काठमाडौंस्थित वाल्मीकि, कञ्चनपुरको शारदा संस्कृत, सोलुखुम्बुस्थित विश्वेश्वर संस्कृत विद्यापीठलगायतमा आंशिक शिक्षक नियुक्त भएका हुन् । त्यसैगरी वाल्मीकि विद्यापीठका तथा सोलुखुम्बुस्थित विद्यापीठमा १०–१० नयाँ थप्ने तयारी रहेको कर्मचारी संघका अध्यक्ष पोखरेलले बताए । दरबन्दी नै नभएको अवस्थामा पाठ्यभार ख्याल नगरी जबर्जस्ती प्राध्यापक नियुक्त गरिएको उनले बताए ।

नियुक्ति खारेज गरिएको दाबी
विश्वविद्यालयका पदाधिकारीले भने आंशिक प्राध्यापक नियुक्तिका विषयमा आफूलाई थाहा नभएको बताए । प्रक्रिया नपु¥याएर गरिएका नियुक्ति बदर गरी विज्ञापन खोलेर मात्र पदपूर्ति गर्न पत्र लेखिसकेको विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा. रमेश ढकालले बताए । तर, विश्वविद्यालयको केन्द्रीय विद्यापीठका प्राचार्य वंशीधर आचार्यले ६ जना नयाँ प्राध्यापक नियुक्त गरिएको र अब केही दिनमै उनीहरूले अध्यापन गराउने बताए । ‘उपकुलपतिज्यूको निर्देशनअनुसार हामीले आंशिक प्राध्यापक नियुक्त गरेका हौँं,’ प्राचार्य आचार्यले भने । छुट्टाछुट्टै प्राध्यापकले अध्यापन गराउनुपर्ने नियम रहेको निर्देशन आएबमोजिम नै नियुक्ति दिइएको आचार्यको दाबी छ ।

अख्तियारको आदेश अटेरी
प्रतिस्पर्धाविना प्राध्यापक र कर्मचारी नियुक्त भइरहेको कुरामा ध्यानाकर्षण गराउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत २२ चैतमा एक पत्र लेखेको थियो । विश्वविद्यालयमा कुनै शिक्षक, कर्मचारी आवश्यक परे सेवा आयोगलाई स्थायी पदपूर्तिका लागि माग गरी पठाउने र आयोगबाट पदपूर्ति नहुँदासम्मका लागि मात्र नियमअनुसार अस्थायी÷करारमा भर्ना गर्न सकिने प्रावधानलाई कार्यान्वयन गर्न अख्तियारले पत्र लेखेको थियो । तर, त्यसको पदाधिकारीले बेवास्ता गरेका छन् ।

प्रतिक्रिया