भैरहवा, असोज ८ गते । रूपन्देहीको टिकुलिगढीस्थित लुम्बिनी एग्रो प्रोडक्टस् एण्ड रिसर्च सेन्टर प्रालिले ५० करोडभन्दा बढी लगानी थप गर्ने भएको छ । मुलुककै ठूलो मानिएको गाईफार्मले लगानी थप गरेर डेरी उद्योग र खाद्य उद्योग ग्राम सञ्चालनमा ल्याउने तयारी गरेको हो ।
पाँच सय गाई पालेर दैनिक सरदर दुई हजार लिटर दूध बिक्री गर्दै आएको कम्पनीले इजरायली कम्पनीसँग मिलेर अन्तर्राष्ट्रिय मापदण्डका डेरीबाट बन्ने सामग्रीहरू उत्पादन गर्ने तयारी गरेको हो । इजरायल कृषि र डेरी उत्पादनमा विश्वमै अग्रणी मुलुक मानिन्छ । इजरायलको एबीईएल कम्पनीसँगको साझेदारीमा ३५ करोड लगानीमा गाईफार्मसँगै डेरी प्लान्ट राख्न थालिएको हो । डेरी प्लान्टमा इजरायलकै मेसिन, प्रविधि र व्यवस्थापन हुनेछ ।
अमेरिकन ब्रिडका जर्सी र होलस्टोन फ्रिजन जातका दुई सय ५० गाईबाट सुरु भएको फार्ममा तीनै गाईका बाच्छीहरूसमेत गरी हाल पाँच सयको हाराहारीमा गाई छन् । जसमध्ये एक सय ७० जति गाई दुहुना छन् । फार्ममा एकैपटकमा २० देखि २५ वटासम्म गाई दुहुन मिल्ने गरी मेसिन जडान गरिएको छ । gaipalan
तीन बिघा क्षेत्रफलमा स्थापना हुने डेरी प्लान्टबाट युरोपियन र अमेरिकन मापदण्डमा प्रशोधित दूध, दही, घिउ, मही, मिल्कसेक (बोतल दूध) र आइसक्रिमलगायतका परिकार उत्पादन हुनेछन् । डेरी प्लान्ट ६ महिनाभित्र सञ्चालनमा आउने प्रालिका सञ्चालक शशिधर शर्मा पौडेलले बताउनुभयो । “डेरी प्लान्टका लागि इजरायली टिमसँग लगानीको हिस्सा र व्यवस्थापनबारे समझदारी भई आवश्यक कानुनी प्रक्रिया पनि पूरा गरिसक्यौं” उहाँले भन्नुभयो– “जग्गाको व्यवस्था पनि भइसक्यो, मेसिन ल्याउन एक÷दुई दिनमै एल्सी (प्रतिपत्र) खुल्दैछ । ” डेरी उद्योगमा दैनिक २० हजार लिटर दूधबाट डेरीजन्य वस्तु उत्पादन गर्ने लक्ष्य प्रालिको छ । स्वचालित प्लान्ट भएकाले यसमा करिब २० जनाले प्रत्यक्ष रोजगारी पाउने प्रालिले जनाएको छ । डेरी उद्योगमा इजरायली कम्पनी र प्रा.लि.ले बराबर लगानी गर्ने सहमति भइसकेको छ ।
निकट भविष्यमै उत्पादन सुरु हुने डेरी प्रोडक्टमध्ये प्रा.लि.ले बोतल दूधलाई पहिलो प्राथमिकता दिने सञ्चालक पौडेलले जानकारी दिनुभयो । बहुराष्ट्रिय कम्पनीले उत्पादन गर्ने हल्का पेय पदार्थहरू (कोक, फेन्टा आदि) को सट्टा मिल्कसेक (बोतल दूध) को सेवन बढाउने रणनीति लिइएको पौडेलले बताउनुभयो । “अरू पेय पदार्थको तुलनामा स्वास्थ्यका लागि पनि दूध हितकर हुने र मूल्य पनि उस्तै उस्तै पर्ने भएकाले मिल्कसेकको उत्पादन धेरै गर्छौं”– पौडेलले भन्नुभयो ।
नेपालस्थित कम्पनीले डेरी प्लान्टसँगै खाद्यान्न परिकारहरू उत्पादनको तयारी पनि गरिरहेको छ । पास्ता, कर्नफ्लेक्स, कुकिज र मसलालगायतका खाद्य वस्तु उत्पादन गर्ने गरी एकैथलोमा खाद्य उद्योग ग्राम सञ्चालनमा आउन लागेको हो । ६ महिनाभित्र सञ्चालनमा आउने खाद्य उद्योग ग्राममा १५ देखि २० करोड रुपियाँ लगानी हुने अनुमान छ ।
खाद्य उद्योग ग्रामका लागि भौतिक संरचना निर्माण र मेसिनहरू ल्याउने काम भइसकेको पौडेलले बताउनुभयो । खाद्य उद्योग ग्राममा प्रा.लि. अन्तर्गत एक सय जनाभन्दा बढीले प्रत्यक्ष रोजगारी पाउने छन् । डेरी र खाद्य प्रोडक्टहरूको बजार देशव्यापी बनाउने प्रालिको लक्ष्य छ ।
कम्पनीले फार्ममा उत्पादन हुने गाईको गोवरबाट विद्युत् उत्पादन समेत गर्दैछ । पहिलो चरणमा ५ सय घनमिटर गोवर ग्यासबाट ३ सय किलोवाट बिजुली निकाल्ने र त्यसपछि ११ सय घनमिटरको प्लान्ट बनाएर ७ सय ५० किलोवाट बिजुली उत्पादन गर्ने तयारी प्रा.लि.को छ । गोवरबाट विद्युत् उत्पादन भएपछि प्रालि अन्तर्गका उद्योगहरू र गाई फार्ममा खपत हुने विद्युत्का लागि खर्च हुने रकमसमेत जोगिने छ ।
नेपालकै ठूलो गाई फार्मको रूपमा स्थापित भएपछि यो फार्म हेर्न देशका सबैजसो जिल्लाबाट मानिस दैनिक आउने गरेका छन् । सबैभन्दा धेरै सङ्ख्यामा गाई, मेसिनबाटै दूध दुहुने प्रविधि, आफ्नै दूध चिस्यान मेसिन र सरकारबाट उत्कृष्ट किसानका रूपमा विकास रत्न पदक र हालै मात्र जनसेवा श्री पदकबाट सम्मानित जस्ता कारणले पौडेलको फार्म देशभर चर्चित भएकाले हेर्न आउनेहरूको सङ्ख्या पनि ठूलो रहेको छ ।